८ वैशाख २०८१ शनिबार
अर्थ

१५ मध्ये तीनको नाफा अर्ब नाघ्यो

काठमाडौं –  बैंकहरुले चालु आर्थिक वर्षको पुस महिनासम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । आइतबारसम्ममा २८ वाणिज्य बैंकमध्ये १५ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

तीमध्ये तीन वाणिज्य बैंकले चालु आर्थिक वर्षको ६ महिनामा अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । अन्य दुई बैंक अर्ब क्लबमा पुग्न नसके पनि अर्ब क्लबको डिलमा पुगेका छन् ।
लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुकोे नाफा भने बढेको पाइएको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ ।पुस महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुको नाफा बढेको हो । उनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक र एनएमबी बैंकले अर्बभन्दा बढी नाफा गरेका छन् । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये इन्भेस्टमेन्ट बैंक धेरै नाफा कमाउने सूचीको पहिलो नम्बरमा परेको छ । उसले एक अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले एक अर्ब ५८ करोड नाफा गरेको थियो ।

चालु आर्थिक वर्ष २०७४-०७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार दोस्रो बढी नाफा गर्नेमा एभरेस्ट बैंक छ । चालु आवको दोस्रो त्रैमाससम्ममा एभरेस्टले एक अर्ब १४ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष सोही अवधिमा उक्त बैंकले ९७ करोड १५ लाख नाफा गरेको थियो । एभरेस्ट बैंक पहिलोपटक ६ महिनामै एक अर्बभन्दा बढी नाफा कमाएर अर्ब क्लबमा उक्लिएको हो ।

यसैगरी, एनएमबी बैंकको कमाइ पनि अर्बभन्दा माथि पुगेको छ । उक्त बैंकले चालु आवको पुस महिनासम्ममा एक अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले ७० करोड १० लाख रुपैयाँ नाफा गरेको थियो । पहिलोपटक ६ महिनामै यति धेरै रकम कमाएर एनएमबी बैंक अर्ब क्लबमा पुगेको हो ।

हालसम्म सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार अर्बभन्दा बढी नाफा कमाउनेमा तीनवटै निजी बैंक हुन् । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ५–६ बैंकले मात्र नाफा अर्ब पुर्याएका थिए । तर, चालु आर्थिक वर्षको सोही अवधिमा ८–९ बैंकले अर्ब रुपैयाँ कमाउने अनुमान गरिएको छ ।अन्य दुई बैंक ग्लोबल आइएमई र एसबिआई पनि अर्ब क्लबमा नपुगे पनि अर्ब क्लबको डिलमा पुगेका छन् । चालु आवको पुससम्ममा ग्लोबल आइएमई बैंकले ९५ करोड ४२ लाख रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ८४ करोड रुपैयाँ नाफा गरेको थियो ।यसैगरी, एसबिआई बैंकले पनि दोस्रो त्रैमाससम्ममा ९१ करोड ३० लाख    रुपैयाँ कमाएको छ । गत वर्षको सोही अवधिमा उक्त बैंकले ७५ करोड ८७ लाख रुपैयाँ कमाएको थियो ।

अन्य बैंक अर्ब क्लबमा पुग्न नसके पनि उच्च नाफा कमाउन सफल छन् । नियमित रुपमा गर्ने कमाइ र रकम फिर्ता (राइट ब्याक) गरेका कारण बैंकको नाफा उल्लेखनीय रुपमा बढेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको स्प्रेड दर कायम गर्नुपर्ने बाध्यता र लगानीयोग्य पुँजी कमीका कारण बैंकको नाफामा ठूलो वृद्धि गर्न नसकिएको बैंकरको भनाइ छ ।बिग्रेको ऋण उठेका कारण नाफा बढाउन सकिएको एक बैंकरले बताए । ‘खुद नाफा पनि अघिल्लो वर्षभन्दा बढेको छ,’ उनले भने, ‘सम्भावित जोखिम व्यवस्थाका लागि छुट्ट्याइएको रकम फिर्ता (राइटब्याक) गरेपछि बैंकको नाफा बढेको हो ।’

नियमित कमाइका कारण पनि बैंकको नाफा बढेको छ । बैंकहरुको व्यवसायको आकार बढेकोले नाफा पनि बढेको बैंकरको भनाइ छ । खराब कर्जा उठेपछि बैंकको नाफामा उच्च सुधार भएको उनीहरुले बताए ।
अघिल्लो असारमा सार्वजनिक नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा वाणिज्य बैंकको चुक्ता पुँजी चार गुणासम्म पु¥याउनुपर्ने प्रावधान ल्याइएको थियो । यस अनुसार धेरैजसो वाणिज्य बैंकहरुले पुुुस महिनाभित्रमै आठ अर्ब पुँजी पुर्याइसकेका छन् ।

पुँजी वृद्धि र त्यही अनुसार लगानी गर्दा बैंकहरुको नाफा पनि बढ्दै गएको छ । नाफा बढाउन बैंकहरुले आक्रामक रुपमा लगानी गर्दैछन्, जसका कारण लगानीयोग्य पुँजी अभाव उनीहरुले खेपिरहेका छन् ।

 

प्रकाशित: १५ माघ २०७४ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App