४ वैशाख २०८१ मंगलबार
कला

लोककथाको नाट्य प्रस्तुति ‘सातुको कथा’

काठमाडौं – एकादेशमा एउटा गाउँमा सेते जोगी बस्ने गथ्र्यो ... ... ...खुम केसीले सांरगीको र्याँइ र्याँइ अनि कमल ओलीको मादलको घिन्ताङसँगै गायत्री त्रिपाठीले गीत गाउन थालिन् । पाश्र्वमा देखा परे आफ्नै कुटीमा सेते जोगी ।

गाउँबाट सातु मागरे भर्खरै फर्केका उनी आराम गर्न बस्दा नबस्दै दृश्यमा लाहुरेको प्रवेश हुन्छ । उनीहरूबीच संवाद चल्छ । ‘विदेशमा के गथ्र्यौ त नि ?’ सेतेले सोध्छन् ।

‘भेडा चराउँथे’, ठट्यौलो पारामा जवाफ दिन्छन् लाहुरे । ‘भेडा चराउने भए किन जानुपथ्र्यो विदेश ?’ व्यंग कस्छन् सेते । ‘त्यो पहिले । अहिले त मुनेजर छु, काउन्टरमा बसेर पैसा गन्छु’ सेतेको व्यंग्यमा लाहुरे बोल्छन्।

लाहुरे गएपछि गाउँकै मुखियाको वंैशालु छोरी चञ्चला सेतेकोमा आउँछे । धेरैको हात हेर्ने सेतेलाई चञ्चलाले आफ्नो बिहे कहिले हुन्छ सोध्छे । उमेर घर्किंदै गए पनि सेतेभित्र पनि बिहे गर्ने धोको लुकेर बसेको हुन्छ।

तर मुखियाले छोरीसँगको हिमचिम मन नपरेर उसलाई मन दुख्ने गरी गाली गर्छ । ‘सक्छस् भने आफ्नै हात हेर, आफ्नै भाग्य चम्का,’ मुखिया चर्किन्छ।

त्यही पीडा बिर्साउन सेते सातु बेचेर धनी बन्ने कल्पनामा रमाउन थाल्छ । उसले साँच्चैको धन कमाउँछ वा कमाउँदैन ? अनि मुखियाकी छोरीसँग बिहे गर्छ कि गर्दैन ? यो थाहा पाउन भने शिल्पी थिएटरमा मञ्चन भइरहेको ‘सातुको कथा’ नाटक हेर्न जानुपर्छ।

सातुको कथा एउटा जोगीको कथामात्र हैन नेपाली गाउँ समाजमा चलेको मनछुने लोककथा हो । अधिकांश मानिसले आफूले सानामा गरेका, पढेका देखेका धेरै कुरा उमेर बढ्दै गएपछि भुल्छन् । अप्रत्यासित रूपमा त्यस्ता कुराहरू फेरि हेर्न, पढ्न र देख्न पाउँदा मानिसको मन कता बग्ला ?

अहिलेको नयाँ पुस्ताको लागि नयाँ कथा भए पनि पूराना पुस्ताका लागि सातुको कथा एउटा किताबमा सिमित लोककथा हो। टेलिभिजन, पत्रपत्रिका, नाटकघर नखुलेका बेला समाज बुझ्ने माध्यम यस्तै लोककथा बन्ने गर्दथ्यो। त्यही लोककथा टपक्क टिपेर नाटक बनाइएको छ । एउटा जोगीको सपनाको कथा भए पनि त्यो भित्र नेपाली समाजको दृश्य लुकेको छ।

लोकदृष्टि थिएटर काठमाडौंको प्रस्तुतिमा प्रेम पौडेलले परिकल्पना तथा निर्देशन गरेका छन् । उनले नेपाली समाजमै कुनै बेला निकै चलेको लोककथालाई नाट्य रूपान्तर गरेका हुन् । किताबमा पढिएको ‘सातुको कथा’लाई नाटकमा रूपान्तरण गर्दा उनले हाँस्यरस र सामाजिक परिवेश झल्काउने प्रयास गरेका छन् । लाहुरे पात्रको हाँस्य हाउभाउ होस् वा संवाद कला त्यसले दर्शकलाई दिक्क हुन दिँदैन । पुरानै कथा भए पनि अब के हुन्छ भन्ने नाटकीय स्वरूप हेर्न दर्शकमा कौतूहलता जागेकै हुन्छ । चञ्चलाको अल्लारेपन, मुखियाको सामन्तीपनले पनि गाउँले जनजीवनको झल्को दिन्छ।

खारिएका कलाकार प्रभाकर न्यौपानेले सेते जोगीको भूमिका निर्वाह गरेका छन् । बासुदेव खनाल मुखिया, पुष्प अवस्थी पित्तले लाहुरे र साक्षी लम्साल चञ्चलाको भूमिकामा छन्। गाउँको चौतारोमा बुढा हजुरबाझैं कथा सुनाउन बसेको संगीत टोलीले बेलाबेलामा भन्ने कथाशैलीले उतिबेलाको गाउँघर सम्झाउँछ । मञ्च व्यवस्थापन तथा सेट निर्माणले कथालाई वास्तविक देखाउन सघाएको छ।

प्रकाशित: १५ माघ २०७४ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App