५ वैशाख २०८१ बुधबार
समाज

३२ इन्चकी मालती, नेपालकै ‘होची’ महिला

नेपालकै होची दाबी गरिएकी मालतीको उचाइ नाप्दै मोरङ, सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल । तस्बिर:अजित

विराटनगर – मोरङ, सुन्दरहरैंचा नगरपालिका–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले नागरिकताको सिफारिस लिएर कार्यकक्षमै पुगेकी मालती ऋषिदेवलाई देख्दा छक्क परे । हातमा कागजपत्र बोकेर टेबुलमुनि आइपुगेकी मालतीलाई श्रेष्ठले कुनै ‘बच्चा’ भनी ठानेका थिए ।

‘कसको नागरिकताको सिफारिस हो नानी ?’ वडाध्यक्ष श्रेष्ठले उनलाई सोधे । उनी केही बोलिनन् । सँगै आएकी आमा मीनादेवीले ‘यिनैको नागरिकता बनाउन सिफारिस लिन आएको’ भन्दा श्रेष्ठ दुविधामा परे । ‘बच्चाजस्तो देखिन्छ, नागरिकता लिने उमेर पुग्यो र,’ उनले शंकालु हुँदै प्रश्न गरे । मीनादेवीले छोरीको जन्मदर्ताको प्रमाणपत्र दिएपछि वडाध्यक्ष श्रेष्ठले मालतीसँग सेल्फी खिचेर ‘नेपालकै होची महिला हुनसक्ने’ भन्दै फेसबुकमा स्टाट्स लेखे ।

सुन्दरहरैंचाका मेयर शिवप्रसाद ढकालले वडाध्यक्ष श्रेष्ठको स्टाट्स सेयर गरे। ‘मालतीको तस्बिरसहितको स्टाट्स सेयर गरेपछि धेरै ठाउँबाट यिनी नेपालकै होची महिला हुन सक्ने प्रतिक्रिया आयो,’ मेयर ढकालले भने, ‘मालती देशकै होची महिला रहेको हाम्रो दाबी छ ।’

३२ इन्च अग्ली मालती ऋषिदेवलाई नेपालकी सबैभन्दा होची महिला घोषणा गर्न मोरङको सुन्दरहरैंचा नगरपालिकाले सरकारसँग माग गरेको छ।

मोरङको सुन्दरहरैंचा–४ की १९ वर्षीया मालती ऋषिदेव (मुरर) को उचाइ जम्मा ३२ इन्च छ । उनलाई नेपालकै सबैभन्दा होची महिला घोषणा गर्न सुन्दरहरैंचा नगरपालिकाले माग गरेको छ । विपन्न मुसहर परिवारमा जन्मिएकी मालतीको तौल १४ किलोग्राम छ । २०५६ भदौ १८ गते जन्मिएकी मालती चार भाइबहिनीमा जेठी हुन् । उनका दुई बहिनीको विवाह पनि भइसकेको छ । मालतीको कद जन्मिएको एक वर्षपछि नै बढ्न रोकिएको थियो । नेपालका चन्द्रबहादुर डाँगी र खगेन्द्र थापामगरलाई विश्वकै होचो भनेर गिनिज बुक अफ बल्र्ड रेकर्डमा नाम लेखिइसकेको छ । डाँगी र थापा दुवैको निधन भइसकेको छ।

भूमिहीन परिवारमा जन्मिएकी मालतीका बुवा–आमा गिट्टी–बालुवा चालेर परिवारको पालनपोषण गरिरहेका छन् । विराटचोकको सुकुमबासी बस्तीमा पुस्तौंदेखि बसोवास गरिरहेका मालतीका बुवा रमेशले भने, ‘मालतीको होचो कदले सधैं हामीलाई चिन्तित बनाइरहेको थियो, कदले नै मालती चर्चामा आएपछि अहिले खुसी भएका छौं ।’ घरका सदस्यसँग अलिअलि बोले पनि मालती अरुसित खासै बोल्दिनन् । ‘खाना पनि थोरै खान्छे, घरमै बसिरहन्छे,’ मालतीकी आमा मीनादेवीले भनिन्, ‘उसलाई खेल्न पनि मन पर्दैन।’

‘सरकारले चासो देखायो भने मालती मुलुकको मात्र हैन, संसारकै होची महिला हुन सक्छिन,’ सुन्दरहरैंचा नगरपालिकाका मेयर ढकालले भने । सुन्दरहरैंचा नगरपालिकाले मालतीलाई प्रोत्साहनस्वरुप आन्तरिक स्रोतबाट मासिक दुई हजार रुपैयाँ भत्ता प्रदान गर्ने निर्णय गरेको मेयर ढकालले जानकारी दिए । ‘मालतीको घरको अवस्था राम्रो छैन,’ उनले भने, ‘उनको परिवारको बसोवासका लागि घर निर्माणमा पनि हामी पहल गर्नेछौं।’

मालतीको विराटनगरस्थित नोबेल मेडिकल कलेजले एक वर्षसम्म निःशुल्क उपचार गरिदिने सहमति भएको पनि सुन्दरहरैंचा नगरपालिकाले जनाएको छ ।


 

प्रकाशित: १५ माघ २०७४ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App