७ वैशाख २०८१ शुक्रबार
राजनीति

संविधान संशोधनमा वाम र मधेसी गठबन्धन नजिकिँदै

काठमाडौं – ताजा जनादेशपछि वाम गठबन्धन र मधेसी गठबन्धनबीच संविधान संशोधनका विषयमा समान धारणा बनाउने प्रयास भइरहेको छ।

एमाले–माओवादी नेतृत्वको वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल आबद्ध मधेसी गठबन्धनबीच संविधान संशोधनबारे सहमति खोज्ने प्रयास भएको हो।

त्यसका लागि दुवै पक्षबाट अनौपचारिक छलफल जारी राखिएको छ । यसबीचमा पटकपटक शीर्ष नेतृत्व तहमा नै छलफल भइसकेको छ । ‘संविधान संशोधनका लागि वाम गठबन्धनका पक्षबाट मधेसी गठबन्धनसँग प्रतिबद्धता जाहेर भइसकेको छ,’ एमाले नेता सुवासचन्द्र नेम्बाङले नागरिकसँग भने, ‘हाम्रो प्रतिबद्धतापछि उहाँहरूको समान धारणा आएको छैन ।’ उनका अनुसार संविधान संशोधन नै नगर्ने भन्नेमा वाम गठबन्धन नरहेको र मधेसी गठबन्धनले प्राप्त गरेको जनमतलाई स्वीकार गर्दै आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुनेछ।

संविधान संशोधनको अजेन्डामा मुख्यतः प्रदेश नम्बर २ बाट मधेसी गठबन्धनलेरराजनीतिक स्थिरता र विकासका अजेन्डामा वाम गठबन्धनले भारी जनमत प्राप्त गरेको अवस्थामा दुई गठबन्धनबीच संविधान संशोधनलाई टुंग्याउने पहल भएको हो । ‘हालै सम्पन्न निर्वाचनले मधेसी गठबन्धन र वाम गठबन्धनलाई जनमत प्राप्त भएको छ, अरुलाई दिएको अवस्था छैन,’ राजपा महामन्त्री रामनरेश रायले भने, ‘यही कुरा हामीले वाम गठबन्धनलाई भनिसकेका छौं । त्यसमा भरपर्दो प्रतिबद्धता आएलगत्तै सहमति हुन सक्छ ।’ उनका अनुसार संविधान संशोधन गरेर राजनीतिक स्थायित्व दिने र आर्थिक समृद्धिमा जाने विषयमा दुवै गठबन्धन गम्भीर हुनुपर्ने राजपाले सर्त राखेको छ।

एमाले–माओवादीको साझा घोषणापत्रमा ‘आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गरिने’ भन्ने वाक्यांशलाई अझ स्पष्ट गनुपर्ने राजपाको भनाइ छ । वाम गठबन्धनबाट एमालेले भने संविधान संशोधनको प्रस्ट प्रस्ताव ल्याउन आग्रह गरेको छ।
त्यसो त प्रतिनिधिसभामा प्राप्त अंकगणितअनुसार दुवैले जनतासमक्ष गरेको प्रतिबद्धता पूरा गर्न एकअर्कालाई ‘बाइपास’ गरेर बढ्नुभन्दा ‘कन्भिन्स’ गर्नुपर्ने बाध्यता भएकाले पनि दुवै गठबन्धनबीच सहमति हुनुको विकल्प देखिँदैन । दुवै गठबन्धन मिलेमा मात्रै संविधान संसोधन तथा राजनीतिक स्थिरता र विकास सम्भव हुने भएकाले त्यसका लागि दुवै पक्षले प्रयास गरिरहेका हुन्।
संविधान संशोधनका विषयमा दुवै दलबीचमा समान धारणा बनाउने प्रयासनिरन्तर जारी रहने राजपा अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी बताउँछन् । ‘संविधान संशोधनका विषयमा राष्ट्रियसभामा उम्मेदवारी दिने बेलामा पनि वाम गठबन्धनसँग छलफल भएको थियो, त्यो निष्कर्षमा पुग्न सकेन,’ भण्डारीले नागरिकसँग भने, ‘संविधान संशोधनमा वाम गठबन्धन सकारात्मक देखिएको छ, त्यसलाई टुंगोमा पुर्याउनुपर्छ भनेर लागिरहेका छौं ।’ संविधान संशोधन भएमा मात्रै वाम  गठबन्धनले प्रतिबद्धता जनाएको जस्तो राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुनेबारेमा गम्भीर हुनुपर्ने अध्यक्ष भण्डारीको भनाइ छ ।

 

प्रकाशित: १६ माघ २०७४ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App