७ वैशाख २०८१ शुक्रबार
अन्य

सुन्दर हेम्जाकोट

परम्परागत रुपमा मकै थन्क्याउने प्रविधि । यसलाई मकैको सुली भनिन्छ । तस्बिर:नागरिक

ढुंगै ढुुंगाले बनेका घर । बाटोमा पनि ढुंगै छापिएको । घरधुरी जम्मा ८५ । कास्कीको उत्तरी भेग साविकको धिताल गाविस वडा नं. ७ हाल अन्नपूर्ण गाउँपालिकामा रहेको हेम्जाकोट गाउँको चिनारी हो यो । जम्मा घरधुरीमध्ये ३५ घर गुरुङका छन् भने बाँकी कामी, दमाई, ब्राह्मणका छन् । पोखरादेखि नजिकै रहेको यो गाउँमा पाँच वर्षअघिदेखि होम स्टे सुरु भएको छ । पर्यटनको निकै सम्भावना बोकेको यो गाउँलाई थकाई मार्ने स्थान बनाउन गाउँलेहरू कस्सिएर लागेका छन् ।  

उमेरले नेटो काटिसकेका बुढाबुढी र भर्खरका केटाकेटी पनि थालीमा अबिर, हातहातमा माला र खादा ल्याएर गाउँको पुछारमा आईपुग्छन् स्वागत गर्न । त्यति मात्र होइन उनीहरू जसरी स्वागत गर्छन् त्यसरी नै बाजागाजा बजाउँदै पाहुनलाई बिदाइ गर्न पनि त्यही गाउँको पुछारसम्म पुग्छन् ।

समुद्री सतहदेखि १ हजार २ सय मिटर उचाइमा रहेको यो गाउँमा पर्यटकलाई स्वागत गर्न त्यहाँका युवा क्लब, आमा समूह, बाबा समूह मात्र हैन धिताल पर्यटन विकास समितिका सदस्य संधै तम्तयार रहेका हुन्छन् । उमेरले नेटो काटिसकेका बुढाबुढी र भर्खरका केटाकेटी पनि थालीमा अबिर, हातहातमा माला र खादा ल्याएर गाउँको पुछारमा आईपुग्छन् स्वागत गर्न । त्यति मात्र होइन उनीहरू जसरी स्वागत गर्छन् त्यसरी नै बाजागाजा बजाउँदै पाहुनलाई बिदाइ गर्न पनि त्यही गाउँको पुछारसम्म पुग्छन् । उनीहरू हेम्जाकोट घुम्न जाने जो कोहीलाई पनि होम स्टेको अवधारणा पारिवारिक माया दिएर बसाउने गरेका छन् । ‘हेम्जाकोटको अतिथि सत्कार देखेर म दंग परेको छु,’ पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापा भन्छन्, ‘पारिवारिक माया र सद्भावका साथ बसाउनुका साथै गाउँमै उब्जेका खाने कुरा खान पाउँदा म निकै खुसी भएको छु ।’

करिब ७ वर्ष वैदेशिक रोजगारीमा समय बिताएका धितालका ईश्वर गुरुङ कुशल ट्रेकिङ्ग गाइड पनि हुन् । ट्रेकिङ्गका बेला विभिन्न स्थानमा पुग्दा होम स्टेको बारेमा जानकारी पाएका ईश्वरले त्यही अवधारणालाई पहिलोपटक हेम्जाकोटमा एकल रूपमा वि.सं. २०६५ सालमा भिœयाएका थिए । ‘पाहुना आउने बित्तिकै यहाँका युवा र आमा समूहका सदस्य स्वागत गर्न सधैँ तयार हुन्छन्,’ हेम्जाकोटमा सबैभन्दा पहिले होम स्टेको अवधारणाअनुसार पर्यटक राख्न सुरु गरेका स्थानीय ईश्वर गुरुङ भन्छन्, ‘यो हेम्जाकोट गाउँको विशेषता हो, हामी यसैमा रमाउँछौं ।’

गाउँमा पुगेका पाहुनालाई स्थानीय बासिन्दाले होम स्टेको अवधारणाअनुसार भागबण्डा गरेर आ–आफ्नो घरमा लैजाने गरेका छन् । त्यहाँ पुग्ने पाहुनाले सेलरोटी, भटमास, लोकल कुखुरा, गुन्द्रुक, हरियो सागसब्जीलगायतका परिकार मज्जाले खान पाउँछन् । सोमरसमा रमाउनेहरूका लागि पनि नारे पा (गुरुङ भाषामा कोदाको रक्सी) खान पाइन्छ । साँझको समयमा गाउँमा पुगेका पाहुनालाई विभिन्न साँस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन प्रदान गर्ने उनीहरूको विशेषता बनेको छ । 

गुरुङ संस्कृति अवलोकन एवं अध्ययन । सूर्योदयको दृश्य र हिमाल हेर्नका लागि उपयुक्त ठाउँ हो हेम्जाकोट । त्यहाँ पुगेपछि दन्तलहर जस्तै सेतै हिमाल देखिन्छन् । ययहाँबाट माछापुच्छे«े, अन्नपूर्ण, धौलागिरी, हिमचुली र लमजुङ हिमाल वल्लोछेउबाट पल्लोछेउसम्म मज्जाले दृश्यावलोकन गर्न सकिन्छ । हेम्जाकोट जान पनि सजिलो छ । पोखराको बागलुङ बसपार्कबाट सार्वजनिक बस छुट्छन् । पोखराबाट पोखरा–बागलुङ (भूपि शेरचन राजमार्ग) अन्तर्गत करिब १५ मिनेटको बस अथवा अन्य सवारी साधनबाट यात्रा गरेपछि हेम्जाको फेदी पुगिन्छ । फेदीबाट करिब ३० मिनेटमा मोटरसाइकलमा हेम्जाकोट पुग्न सकिन्छ । यहाँबाट जंगलले घेरा हालेको उकालो बाटोमा पदयात्रा गर्दा मन बहलाउँछ । मोटरसाइल छ भने त गाउँमै पुग्छ । 

छिटो हिँड्नेलाई एक घण्टा, हिँड्न गाह्रो मान्नेले डेढ घण्टा पसिना चुहाउनुपर्छ । त्यसपछि आइआल्छ मनै लोभ्याउने हेम्जाकोट । यहाँ जान कुनै मौसम चाहिँदैन । बाह्रै महिना उपुयुक्त छ । बस्नलाई स्थानीय बासिन्दाको घर प्रयोग गर्नुपर्छ यही हो होम स्टेको मज्जा । सफा र चिरिच्याट्ट परेका सुविधा सम्पन्न छन् घरहरू । जंगलनजिकै भएकोले वर्ड वाचिङ, जंगली जनावर हेर्न पनि उपयुक्त स्थान हो यो । 

हेम्जाकोटमा मुख्य गरी कोदो, आलु, मकै, धान र सागको उब्जनी हुन्छ । गाईभैंसीको मल हालेर उमारेका तरकारी, रातो भाले (लोकल कुखुरा), सुकुटी, झ्वाइँखट्टे खाँदै आँखैमा टाँसिन आउने हिमशृङ्खलाको दृश्यावलोकन गर्न पाउँदा मनै चंगा हुन्छ । नेपालीमा पनि बिस्तारै देश देवार घुम्ने परम्परा विकसित हुँदैछ । त्यही भएर पछिल्लो सयम हेम्जाकोटमा स्वदेशी पर्यटक निकै बढेका छन् । 

स्थानीय आमा समूह, युवा क्लबले पाहुनाको  माग आएमा साँझपख नाचगान र सांस्कृतिक कार्यक्रमले मनोरञ्जन पनि दिन्छन् । ‘होम स्टे’ सुविधा लिन खासै महँगो पनि छैन । एकजनाले रातको १५ सयदेखि दुई हजार रुपैयाँ तिरे बेलुकीको खाना, सुत्ने बेड, बिहानको खाजा खाना पाइन्छ । त्यहाँबाट आँखैअगाडि माछापुच्छे्र, अन्नपूर्ण, हिमचुलीलगायतका हिमशृङ्खला देख्न सकिने हुँदा पर्यटकहरू आनन्दित हुने गरेका छन् । धिताल पर्यटन विकास समितिका अध्यक्ष छविरमण पौडेलले धिताल गाविसका सम्पूर्ण वडाले उत्तिकै पर्यटकीय सम्भावना बोेकेको दाबी गर्दै एकपटक धितालका गाउँमा पुगिदिन आग्रह गरे । विदेशी पर्यटक उल्लेख्य मात्रामा हेम्जाकोटमा पुग्ने गरे पनि आन्तरिक पर्यटक भने खासै जाने गरेका छैनन् ।  

तस्बिरमा हेम्जाकोट पुगेका पर्यटकलाई स्वागत, गाउँको पुछारमा अबिर र खाद लिएर लामबद्ध स्थानीयवासी ।

परम्परागत रुपमा मकै थन्क्याउने प्रविधि । यसलाई मकैको सुली भनिन्छ । तस्बिर:नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App