७ वैशाख २०८१ शुक्रबार
राजनीति

भारतीय विदेशमन्त्री स्वराज भोलि काठमाडौं आउने

काठमाडौं – प्रधानमन्त्री भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतमा गराउने उद्देश्यसहित भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन् । नयाँ जनादेशबाट वाम गठबन्धनले सरकार बनाउने प्रायः निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउन लागेकी हुन् ।  

नेपालको दुईदिने शुद्ध राजनीतिक भ्रमणमा आउन लागेकी स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र मधेसकेन्द्रित दलका नेतासँग भेटवार्ता गर्नेछिन्। 

‘निर्वाचन परिणाम आएपछि भारतका प्रधानमन्त्रीले नेपालका भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीलाई बधाई दिन फोन गर्नुभएको थियो । कुराकानीका सिलसिलामा मोदीले प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाटै सुरु गर्न ओलीलाई आग्रह गरेका थिए,’ उच्च स्रोतले भन्यो, ‘फोनमा ओलीले पनि आफूले भारतबाटै विदेश भ्रमण सुरु गर्ने प्रतिबद्धता जनाएपछि मोदीले विदेशमन्त्री स्वराजलाई थप वातावरण बनाउन काठमाडौं पठाउने निर्णय गरेका हुन्।’ 

प्रधानमन्त्री भएपछि केपी ओलीको पहिलो विदेश भ्रमण भारतमै गराउने वातावरण मिलाउन विदेशमन्त्री सुष्मा स्वराज  काठमाडौं आउन लागेकी हुन्। 

तिनिधिसभा र प्रदेशसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि भारतीय प्रधानमन्त्री मोदीले नेपालका समकक्षी शेरबहादुर देउवासँग एकपटक, एमाले अध्यक्ष ओलीसँग दुई पटक र माओवादी अध्यक्ष दाहालसँग एकपटक टेलिफोनमा कुराकानी गरेका थिए । मोदीले दाहालसँग पनि ओली प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमण भारतबाट हुनुपर्ने प्रतिबद्धता मागेका थिए । दाहालले पनि प्रधानमन्त्रीको रुपमा ओलीले भारतबाटै विदेश भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

‘प्रधानमन्त्री भएपछि ओलीले पहिलो विदेश भ्रमण चीनबाट सुरु गर्नेमा भारत सशंकित थियो । यस्तो नहोस् भन्ने भारतको चाहना थियो । दुवै पार्टी (एमाले र माओवादी) का अध्यक्षबाट प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमण भारतबाट गर्ने प्रतिबद्धता प्राप्त गरेपछि विश्वासको वातावरण बन्यो । र, भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमण मिति तय भएको हो,’ उच्च स्रोतले भन्यो।  

ओली पहिलोपटक २०७२ साल असोज २४ गते  प्रधानमन्त्री भएपछि नेपाल र भारत सम्बन्ध इतिहासमै सबैभन्दा बढी चिसियो । २०७२ असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेपछि असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगायो । ओलीले नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगर्ने अडान लिए । भारतले ५ महिनापछि नाकाबन्दी खोल्यो । लगत्तै ओलीले प्रधानमन्त्रीका रुपमा भारत भ्रमण गरे । त्यसपछि उनले चीन भ्रमण गरी पारवहनलगायत महत्त्वपूर्ण सम्झौता गरे। 

‘प्रधानमन्त्री भएपछि ओलीले चीनसँगको सम्बन्धलाई बढी प्राथमिकता दिन्छन् भन्ने भारतीय बुझाई रहँदै आएको थियो । निर्वाचन परिणामपछि मोदी र ओलीबीच भएका कुराकानीले त्यो भ्रम हटाउन सफल भएको छ,’ स्रोतले भन्यो। 

माओवादी अध्यक्ष दाहाल पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण चीनबाट गरेका थिए । उनी बेइजिङ ओलम्पिक समारोहमा सहभागी हुन चीन गएका थिए । दाहालले प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेपछि भारतले असन्तुष्टि जनायो । त्यसपछि दाहालले चीनबाट स्वदेश फर्कंदा आफ्नो औपचारिक पहिलो विदेश भ्रमण भारतबाटै हुने बताए । २०४६ को राजनीतिक परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमण भारतबाट नगरी चीनबाट गर्ने दाहाल पहिलो प्रधानमन्त्री हुन्। 

भारतीय विदेशमन्त्री स्वराजको राजनीतिक भेटघाट भएकाले भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई पनि सीमित जानकारी मात्र दिइएको छ । भारतीय विदेश मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत स्वराज भ्रमणको औपचारिक घोषणा गरेका थियो । केही समयअघि  काठमाडौंस्थित भारतीय दूतावासले स्वराजको भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई औपचारिक जानकारी गराएको थियो । परराष्ट्रलाई स्वराजले राष्ट्रपति र प्रधानमन्त्री भेट्नेबाहेक अन्य को–कोसँग भेटवार्ता गर्दैछिन् भन्ने मंगलबारसम्म पत्तो छैन। 

‘यो पूर्वनिर्धारित नभई अचानक तय गरिएको भ्रमण हो । सोमबार मात्र हामीले यससम्बन्धी औपचारिक जानकारी प्राप्त गरेका हौं,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । परराष्ट्रको बुझाईमा भारतीय विदेशमन्त्रीले नेपाल भ्रमण गर्ने यो उपयुक्त समय भने होइन । यतिबेला उनका समकक्षीसमेत छैनन् । अहिले प्रधानमन्त्री देउवाले नै परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेका छन् । विदेशमन्त्रीका रुपमा स्वराज यसअघि चारपटक नेपाल आइसकेकी छिन्। 

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराईले भने स्वराजको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालयलाई बाहिर नराखिएको जनाए । ‘परराष्ट्र मन्त्रालयलाई भ्रमणबारे बाहिर राखिएको छैन । जति जानकारी हुनुपर्ने हो भएको छ । उहाँ (स्वराज) संस्थागत रुपमै आउन लाग्नुभएको हो,’ उनले भने । स्वराजले भारतीय प्रधानमन्त्रीको सन्देश बोकेर आउने भएकाले भ्रमणपछि मात्र यस विषयमा विस्तृत बताउन सकिने उनले बताए। 

२०७२ असोज ३ गते संविधान जारी गर्नुभन्दा केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले तत्कालीन विदेशसचिव एस. जयशंकरलाई विशेषदूत बनाई नेपाल पठाएका थिए । जयशंकरले संविधान जारी गर्न केही दिन पर सार्न गरेको आग्रहलाई प्रमुख राजनीतिक दलले नमानेपछि संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नाकाबन्दी लगायो । ‘अहिले निर्वाचन भएको छ तर नयाँ सरकार बनिसकेको छैन । यस्तो बेला भारतीय विदेशमन्त्री विशेष सन्देश लिएर नआउँदा राम्रो हुन्थ्यो । नयाँ सरकार बनेपछि आएको भए राम्रो देखिन्थ्यो,’ परराष्ट्र स्रोतले भन्यो। 

पूर्वपरराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भने भारतीय विदेश मन्त्रीको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । उनले दुई देशको सम्बन्ध थप सुमधुर बनाउन भ्रमणले सघाउने बताए । ‘यो सामान्य सौहार्दपूर्ण भ्रमण हो । यसले दुई देशको सम्बन्ध मजबुत बनाउन सघाउँछ,’ उनले भने। 

अर्का पूर्वपरराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनी पनि स्वराजको भ्रमणलाई सकारात्मक मान्छन् । स्वराजलाई काठमाडौं पठाएर भारतले नेपालसँगको सम्बन्ध निकै महत्त्वपूर्ण छ भन्ने सन्देश दिन खोजेको उनले बताए । ‘भारतका विदेशमन्त्री नेपाल आउनुलाई सकारात्मक रुपमा लिनुपर्छ । भ्रमणले नेपालसँग भारतको सम्बन्ध धेरै महत्त्वपूर्ण छ भन्ने देखाउँछ,’ लोहनीले भने । 

लोहनीका अनुसार नयाँ संविधान जारी भएपछि चिसिएको नेपाल र भारतबीचको सम्बन्ध सुधारको अवस्थामा पुगेको छ । मोदीले स्वराजलाई नेपाल पठाएर बिग्रेको सम्बन्ध सुधार्न खोजेको सन्देश दिएको उनले बताए। 

स्वराजलाई नेपाल पठाएर मोदीले नेपालसँगको सम्बन्ध विशेष र रणनीतिक महत्त्वको रहेको स्पष्ट सन्देश दिन खोजेको पूर्वराजदूत जयराज आचार्य बताउँछन् । विशेषतः मोदीले स्वराजलाई अब बन्ने नयाँ सरकारमा सहभागी हुने नेतालाई भेट्न पठाएको बुझाई आचार्यको छ । ‘नेपाल राजनीतिक रुपान्तरणको प्रक्रियामा छ । मित्रराष्ट्रलाई हाम्राबारे अभिरुचि हुनु राम्रो कुरा हो,’ उनले भने। 

प्रकाशित: १७ माघ २०७४ ०२:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App