६ वैशाख २०८१ बिहीबार
समाज

संरक्षण सहिद घोषणा भएन

शेषचन्द्र चौधरी

चितवन – सशस्त्र संघर्षका समयमा माडी बाँदरमुढे खोलामा माओवादीले थापेको विद्युतीय धरापमा परेर निधन भएका ३८ जनालाई सरकारले गत साता सहिद घोषणा गरेको छ । चितवनबाट २०७० सालमा चुनाव जितेर अहिलेको कामचलाउ सरकारका वनमन्त्री विक्रम पाण्डेको पहलमा सहिद घोषणा भएको भनिएको छ। 

तर, पाण्डे वनमन्त्री भएका बेलामा माडीनजिकै गोली हानेर मारिएका वन कर्मचारीलाई ‘संरक्षण सहिद’ घोषणा हुनुपर्ने मागलाई सरकारले बेवास्ता गर्दै आएको छ । विस २०७१ साल असोज ९ गते माडी बगई जंगलमा चितवन राष्ट्रिय निकुञ्जका सिनियर गेमस्काउट शेषचन्द्र चौधरीको गोली प्रहारबाट हत्या भएको थियो।

माडीबाट मोटरसाइकल चढेर आफू कार्यरत निकुञ्जको ठोरी दिपानगर पोष्टमा जाँदै गरेका चौधरीलाई बाटैमा गोली हानिएको थियो । चोरीसिकारीको आशंकामा माडी बाँदरझुला गाउँका व्यक्तिहरूलाई समाएर कारबाही गरेको प्रतिशोध साँध्न चौधरीको हत्या भएको निकुञ्जका अधिकारीहरूले बताउँदै आएका छन्। 

‘निकुञ्ज इतिहासमा कर्मचारीको निकुञ्जभित्रै हत्या भएको यो पहिलो घटना हो। कामको सिलसिलामा संरक्षण विरोधीबाट हत्या भएका कारण उनलाई सहिद घोषणा गर्नुपर्छ,’ चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भनेका थिए । निकुञ्जले यसबारेमा त्यो बेलामा नै विभागमा पत्र पठाइसकेको र विभागले पनि मन्त्रालयमा फाइल पठाइसकेको थियो। 

विस २०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो निकुञ्ज हो । यसअघि बर्दिया राष्ट्रिय निकुञ्जमा पक्राउ गरेर ल्याउँदै गरेका १२ जना आरोपीले दुईजना सुरक्षाकर्मीको ज्यान लिएका थिए । बदलास्वरूप गोली नै हानेर  हत्या गरेको यो घटना पहिलो भएको कुँवरले जानकारी दिए।

‘यो घटना भएपछि पूर्वमा भएको यस्तै एउटा घटनामा निधन भएका व्यक्तिलाई संरक्षण सहिद घोषणा गरिएको जानकारी आएको थियो । शेषचन्द्रका विषयमा भने सुनुवाइ भएन,’ हाल शिवपुरी राष्ट्रिय निकुञ्जमा कार्यरत कुँवरले भने । 

विस २०२२ सालमा पूर्वी चितवनको रत्ननगरमा जन्मेका शेषचन्द्र ४३ सालमा निकुञ्जको जागिरमा प्रवेश गरेका थिए । उनी ६६ सालमा सिनियर गेमस्काउटमा बढुवा भएका थिए । गोली प्रहारबाट उनको घटना स्थलमै निधन भएको थियो । बाँदरमुढे घटनास्थल र शेषचन्द्रलाई गोली हानेको घटनास्थल करिब १५ किलोमिटरको दुरीमा माडी ठोरी हुलाकी मार्गमा नै पर्छ । 

प्रकाशित: १७ माघ २०७४ ०३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App