७ वैशाख २०८१ शुक्रबार
समाज

एकान्तमा महिला देख्नै नहुने

सिआइबीद्वारा आइतबार पक्राउ परेका मानबहादुर बुढाथोकी। तस्बिर सौजन्य : सिआइबी

काठमाडा– मानबहादुर बुढाथोकीको उमेर ३० वर्ष थियो। महोत्तरी, बर्दिबासमा रहेको एउटा होटलमा कामदार रहेका मानबहादुर होटलको काममा अल्छी लागे घुमफिर गर्ने भन्दै नजिकैको जंगलमा जान्थे। फर्कंदा उनमा केही फरकपन त देखिन्थ्यो तर कारण कसैलाई थाहा थिएन।

केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले घटनाको २० वर्ष पुग्न चार दिन बाँकी रहँदा पक्राउ गरेका मानबहादुरको 'जंगल घुम्ने' राजको खुलासा भएको छ। सिआइबीले भारतीय प्रहरीको सहयोगमा दिल्लीसँग जोडिएको नोयडा क्षेत्रबाट नियन्त्रणमा लिएका प्रेम भन्ने मानबहादुर बुढाथोकी नेपालमा ३२ हत्या र बलात्कार घटनाका आरोपी र विभिन्न समयमा भएका ६ घटनाका दोषी रहेको पत्ता लागेको हो। बाराको डुमरवाना स्थायी ठेगाना भएका प्रेमको नाम मात्र थियो, उनले गरेका घटनाले आङै सिरिंग गराउँछन्। 

सिआइबी प्रमुख डिआइजी नवराज सिलवालले एकान्तमा अशक्त, अपांग र एक्लो महिला देख्नासाथ बलात्कार गर्ने र पहिचान हुने सम्भावना भए हत्या गर्ने सिरियल किलरलाई पक्राउ गरिएको बताए। उनका अनुसार हाल खुलेका ६ घटनाबाहेक स्वयं मानबहादुरले अन्य ३२ घटनामा आफ्नो संलग्नता रहेको प्रारम्भिक बयान दिएका छन्।

'हामीले देशभरका पुराना घटनाका दोषी खोज्ने क्रममा बुढाथोकी पक्राउ परेका हुन्, केही घटना खुलेका छन्, थप अनुसन्धानका लागि महोत्तरी प्रहरीमा बुझाएका छांै,' डिआइजी सिलवालले भने। पूर्वी तराईका जिल्लामा २०५२ र २०५३ मा विभिन्न मितिमा भएका एकै प्रकृति र अपराध गर्ने शैलीका आधारमा अनुसन्धान गर्दा मानबहादुरको नाम आएको थियो।

ब्युरोले अनुसन्धानको सुरुआतमा २०५३ असार ९ गते महोत्तरीको सागरनाथ वन विकास परियोजनाको जंगलमा बलात्कारपछि हत्या गरिएको अशक्त महिलाको घटना लिएको थियो। गाईबस्तु चराउन जंगल गएकी ती महिलालाई उनैको सलले घाँटी बाँधेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको हो।

'एउटा घटनाबाट हामीले संदिग्धको खोजी तीव्र पारेका थियौं, पुराना फाइल पल्टाउँदै जाँदा विभिन्न समयमा भएका मिल्दा घटनामा समेत एउटै व्यक्ति वा समूहको संलग्नता हुने कोणमा अनुसन्धान भएको थियो,' ब्युरोका एसपी दिवेश लोहनीले भने।उनले पुष्टि हुन बाँकी घटनाका सम्बन्धमा ब्युरोले थप अनुसन्धान गरिरहेको बताए।

हत्यापछि सलको दोहोरो फन्को

प्रहरी रेकर्डमा रहेका दर्जन हत्या र बलात्कार घटनाका शवको मुचुल्कामा एउटा समान चिह्न थियो। त्यो हो, हत्यापछि अधिकांशको घाँटीमा दुई पटक सल बेरिएको थियो।प्रहरी मुचुल्कामा हत्याको कारण घाँटी थिचेर भन्ने छ। पूर्वी तराईका धनुषा र महोत्तरीमा २०५२ र २०५३ मा महिनैपिच्छे भएका यस्ता घटनाका दोषीलाई पक्रन प्रहरीले हरसम्भव प्रयास गर्‍यो। तर सफलता हात लागेन।

प्रहरीका अनुसार यसरी हत्या गरिएका महिला विभिन्न उमेर समूहका थिए भने केही अशक्त। सबैको निर्ममतापूर्वक हत्या गरिएको थियो। केही महिलालाई घिसार्दै लगेर हत्या गरिएको संकेत प्रहरीले घटनास्थलमा फेला पारेको थियो।

निसाना १७ देखि ६१ सम्मका महिला

ब्युरोको प्रारम्भिक अनुसन्धानमा मानबहादुरले १७ वर्षकी बालिकादेखि ६१ वर्षकी महिलासम्मलाई आफ्नो बासनाको सिकार बनाएको खुलेको छ। ब्युरोका अनुसार मानबहादुरले २०५२ चैत २३ मा धनुषाको ढल्केवरको दमार जंगलमा १७ वर्षीय एक किशोरीलाई जबर्जस्तीको प्रयास असफल भएपछि घाँटी थिचेर हत्या गरेका थिए। ती युवतीको शव प्रहरीले सोही वर्ष चैत २६ गतेमात्र फेला पारेको थियो। यस्तै, ढल्केबरकै जंगलमा उनले गाईबस्तु चराएर फर्कंदै गरेकी ६१ वर्षकी महिलाको हत्या गरेका थिए। प्रहरीले २०५३ जेठको यस घटनामा मानबहादुरले ती महिलालाई घिसार्दै जंगलको भित्र लगेर हत्या गरेको मुचुल्का बनाएको थियो।

ब्युरोका अनुसार २०५२ फागुन  २४ गते धनुषा बेगाडाबर गाविस बडहरी बजारबाट जमुना गाउँतर्फ जान लाग्दा बाटो बीचको चौरीमा महिलाको बलात्कारपछि हत्या गरेका थिए। ब्युरोमा मानबहादुरले दिएको बयानमा साँझ ७ बजे एउटा हातमा झोला र एउटा हातमा ग्यालेन बोकेकी, सारी र ब्लाउज लगाएकी स्थानीय एक महिलालाई जबर्जस्ती करणीपश्चात घाँटी थिची हत्या गरेको स्वीकार गरेका छन्। २०५३ असारको अन्तमा महोत्तरी जिल्लाको बर्दिबास नजिक रहेको जंगलमा पात टिप्न गएकी महिलालाई जबर्जस्ती गर्दा टाउको ठोकिएर रगत बग्न थालेपछि छाडेर भागेका थिए।

धनुषाको लालगढ बजार नजिक २०५३ साउनमा भएको अर्को घटनामा सयपत्री खोलानजिक बसेकी महिलासँग हसिया माग्ने बहानामा नजिक भएर मानबहादुरले बलात्कारपछि हत्या गरेका थिए। महिलाको हत्यापछि उनले अन्य घटनामा जस्तै ती महिलाको हरियो गम्छाले घाँटीमा दुई फन्को बाँधेर छाडेको अवस्थामा प्रहरीले शव बरामद गरेको थियो।

मानबहादुरले २०५३ असार ९ मा महोत्तरीको बर्दिबासमा २० वर्षकी शारीरिक रुपमा असक्त महिलाको घाँटी थिचेर हत्या जबर्जस्ती गर्न लाग्दा मान्छे आउने डरले हत्या गरेर फरार भएका थिए।

प्रकाशित: ७ असार २०७३ ०३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App