८ वैशाख २०८१ शनिबार
अर्थ

भारतीय अवरोधपछि नेपाली अदुवा बंगलादेश

झापाको मेचीनगरमा रहेको प्रशोधन केन्द्रमा बंगलादेश पठाउन अदुवा प्याकेजिङ गरिँदै । तस्बिर : राजु- नागरिक

झापा – निरन्तरको भारतीय अवरोधले कारोबार नै चौपट बन्न थालेपछि व्यवसायीले नेपालको अदुवा बंगलादेश पठाउन थालेका छन् । निर्यातकर्ता व्यापारीको पहलमा झन्डै एक दशकपछि पहिलोपटक नेपालको अदुवा तेस्रो मुलुक पुगेको हो ।

भारतीय अवरोध छल्न बंगलादेश पठाउन थालेको अदुवाले भारतीय बजारमा भन्दा राम्रो मूल्यसमेत पाएको छ । व्यवसायीका अनुसार फूलबारी बंगलाबन्द मार्ग हुँदै जान थालेको अदुवाले भारतमा भन्दा प्रतिकेजी दुई रुपैयाँ बढी मूल्य पाएको हो । यो मार्ग भारतले नेपाललाई तेस्रो देशसँग पारवहन सुविधा निश्चित गर्न उपलब्ध गराएको मार्ग हो । यही मार्ग भएर २०५४ देखि बंगलादेशसँग व्यापार कारोबार भइरहेको छ ।

यसअघि नौ वर्षअघि पहिलोपटक नेपालको अदुवा बंगलादेश पुगेको थियो । तर, केही समयमै अदुवा जान बन्द भएको थियो । तर, यसपटकदेखि बंगालदेशी आयातकर्ताकै चासोमा अदुवा बंगलादेश पुग्न थालेको हो । नेपालबाट इलाम जिन्जर एक्सपोर्ट प्रालिले बंगालदेशको ढाकास्थित एमआर ट्रेडर्सलाई अदुवा पठाउन थालेको हो । ‘डेढ महिनायता हामीले अदुवा बंगलादेश पठाइरहेका छौं,’ इलाम जिन्जर एक्स्पोर्टका प्रमुख हेमन्तराज बोहराले भने, ‘यो अवधिमा हामीले ३५ ट्रकभन्दा बढी अदुवा ढाका पठाइसकेका छौं ।’ यसबाहेक थप १५ ट्रक अदुवा बंगलादेश लैजान तयारी अवस्थामा रहेको छ ।

अहिलेसम्म नेपालमा उत्पादित अदुवाको एकमात्र अन्तर्राष्ट्रिय बजार भारत थियो । सरकारी तथ्यांकमा वार्षिक रुपमा अढाई लाख मेट्रिक टन उत्पादन हुने देखिए पनि त्यसको दोब्बर अनुपातमा नेपालमा अदुवा उत्पादन हुँदै आएको छ । त्यसको ८० प्रतिशतभन्दा बढी हिस्सा भारतीय बजार पुग्दै आएको छ । तर, सन् २०१२ यता नेपाल–भारतबीचको कृषिजन्य वस्तुको कारोबारमा नेपाली पक्षले सधैं अनेकौं अवरोध भोग्दै आएको छ । यसक्रममा सबैभन्दा धेरै मार अदुवा उत्पादकले खेप्दै आएका छन् । भारतीय अवरोधले अदुवाको व्यापार चौपट हुँदा विज्ञहरुले बजारको विकल्प खोज्न दबाब दिइरहेका थिए । बारम्बारको अवरोधले दिक्क बनेका अदुवा व्यवसायीले बजारको विकल्पको रुपमा बंगलादेश रोजेका हुन् । यद्यपि सरकारी तहबाट बजारको विकल्प खोज्नमा सहयोग नभएको व्यवसायीको गुनासो छ ।

‘अहिलेसम्म भारत मात्रै पठाइरहेको अदुवा बाध्य भएर हामीले बंगलादेश पनि पठाउन थालेका हौं,’ नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष  नरेन्द्रकुमार खड्काले भने, ‘बंगलादेशमा हाम्रो अदुवाको राम्रो सम्भावना देखिएको छ ।’ उनका अनुसार बंगलादेशी व्यापारीहरुले अन्यत्रबाट आयात भएको भन्दा नेपालको अदुवा गुणस्तरीय रहेको भन्दै प्रशंसा गरेका छन् । बंगलादेशमा भारत, चीन, श्रीलंका, म्यानमार लगायत देशबाट अदुवा पुग्ने गरेको छ । सबैतिरबाट अदुवा पुग्दै आएको बंगलादेशी बजारमा नेपालको अदुवाको प्रारम्भिक उपस्थिति उत्साहप्रद देखिएको व्यवसायीले बताएका छन् । तर, प्रशस्त सरकारी सुविधामा हुने अदुवा खेतीबाट उत्पादित उत्पादनसँग प्रतिष्पर्धा गर्न भने कठिन भइरहेको उनीहरुको भनाइ छ ।

अदुवा उत्पादक तथा व्यवसायी महासंघका अनुसार तत्कालै नेपालमा उत्पादित अदुवा बंगलादेश पुग्न सक्ने अवस्था चाहिँ छैन । किनभने हरेक वर्ष नेपालबाट कम्तीमा तीन हजार ट्रक अदुवा भारत निर्यात हुँदै आएको छ । तर, बंगलादेशी बजारमा भने वर्षमा बढीमा पाँच सय ट्रक अदुवा मात्रै पुग्न सक्ने अवस्था छ । ‘थोरै नै भएपनि पहिलोपटक ठूलो परिमाणमा तेस्रो देशमा अदुवा पठाउन थाल्नुलाई नै उपलब्धि मानेका छौं,’ संघका कार्यवाहक अध्यक्ष  टोम राजवंशीले भने, ‘यसैगरी अन्यत्र पनि विकल्प खोज्न सकियो भने भारतीय अवरोधले दिने झञ्झटबाट मुक्ति पाइने थियो ।’

व्यवसायीले सरकारी तहबाट व्यापार सहजीकरणका लागि केही ठोस काम गरिदिन सरकारसँग माग गरेका छन् । ‘यदि सरकारले केही काम गरिदिए बंगलादेशसँगको अदुवा कारोबार प्रगतिमा जाने निश्चित छ,’ अध्यक्ष खड्काले भने, ‘त्यसका लागि सरकारले ढुवानी सुविधा दिनुपर्छ ।’ उनका अनुसार नेपालबाट अदुवा बोकेर भारत–बंगलादेशको सीमासम्म पुग्ने ढुवानी खर्च अत्यधिक छ । त्यस्तै बंगलादेशबाट नेपाली भूभागसम्म अदुवा लिन आउने ट्रकले व्यहोर्ने खर्च पनि उच्च छ । यसबाहेक तेस्रो देशसँग हुने कृषिजन्य वस्तुको व्यापारलाई भन्सार सुविधा पनि दिनुपर्ने माग व्यवसायीको छ । ‘यदि यति सुविधा दिन सरकारले पहल गरिदिने हो भने बंगलादेशमा हाम्रो उत्पादनले राम्ररी प्रतिष्पर्धा गर्नसक्छ,’ खड्काले भने, ‘सरकारले कि भारतसँगको कारोबारलाई अवरोधरहित तुल्याउन बलियो पहल गर्नुपर्छ कि बंगलादेशसँग गर्ने वातावरण बनाइदिनुपर्छ ।’  

यसअघि सरकारी तथा निजी क्षेत्रबाट बंगलादेशमा नेपाली कृषिवस्तुको व्यापार सम्भावना उच्च रहेको अभिव्यक्ति बारम्बार आइरहेको थियो । यद्यपि बंगलादेशसम्म नेपालका कृषिवस्तु उल्लेख्य रुपमा गएका छैनन् । केही समयअघि झापा आएर द्विपक्षीय व्यापारबारे छलफल गरेका बंगलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले पनि अदुवालगायत कृषिवस्तुको बजार सम्भावना बलियो रहेको बताएका थिए।  
बंगलादेश अदुवा पठाउन थालेका व्यापारीले भारतले नेपालको अदुवामा निर्धारण गर्न लागेको कोटा प्रणाली रोक्न सरकारी पहलको पनि माग गरेका छन् । ‘विश्वका सबै मुलुकमा अदुवा पठाउन सकिने सम्भावना खोज्नुपर्छ,’ महासंघ प्रदेश अध्यक्ष खड्काले भने, ‘तर, पनि मुख्य र सजिलो बजार भारत नै हो । त्यसैले भारतले निर्धारण गर्न लागेको कोटा प्रणाली रोक्न उच्च तहबाट बलियो पहल चाहिएको छ ।’

 

 

 

प्रकाशित: १८ माघ २०७४ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App