८ वैशाख २०८१ शनिबार
अर्थ

पाँच महिनामा चुहिएरै सकियो डेढ अर्बको बिजुली

काठमाडौं – पाँच महिनामा एक अर्ब ४९ करोड २० लाख रुपैयाँको बिजुली चुहिएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुली चुहावट भएका कारण बर्सेनि ठूलो नोक्सानी बेहोर्दै आएको छ ।
चालु आर्थिक वर्षको मंसिरसम्ममा एक सय ५१ गिगावाट आवर बिजुली चोरी भएको नेपाल विद्युत् प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बिहीबार नागरिकलाई बताए । यसको अर्थ प्राधिकरणले पाँच महिनामै डेढ अर्ब गुमाएको उनको भनाइ छ ।

प्राधिकरणले चालु आवको पाँच महिनामै प्राधिकरणले ६ सय ३०.३० गिगावाट आवर बिजुली खरिद गरेको थियो । त्यसमध्ये ४७९.२६ गिगावाट आवर बिजुली बिक्री गरेको थियो । बाँकी १५०.७५ गिगावाट चुहिएर सकिएको अधिकारीले जानकारी दिए ।प्राधिकरणका अनुसार पाँच महिनामा साढे तीन प्रतिशतले चुहावट घटेको छ । गत आर्थिक वर्ष २०७३- ०७४ को अत्यसम्ममा २३.९३ प्रतिशत बिजुली चुहावट भएको थियो । तर, चालु आर्थिक वर्षको मंसिरसम्ममा चुहावट घटेर २०ं.४९ बिन्दुमा आइपुगेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

एकातिर चुहावटका कारण प्रधिकारणले नोक्सानी बेहोरिरहेको छ भने अर्कोतिर उद्योगधन्दामा दिनहुँ चार घन्टा लोडसेडिङ गर्नुपरेको छ । लोडसेडिङ भएका कारण उद्योगीहरु उत्पादन कटौती गर्न बाध्य छन् ।  
अत्यधिक बिजुली चुहावट भएर, प्राविधिक गडबडी लगायत कारणले प्राधिकरणले नोक्सानी बेहोर्नु परेको छ । चुहावट कम गर्दै गएपछि प्राधिकरणको नोक्सानी पनि कम हुँदै गएको अधिकारीको भनाइ छ ।  प्राधिकरणका अनुसार, हुकिङ गरेर, मिटर बिगारेर, कर्मचारीको मिलेमतो एवं प्राविधिक गडबडीले ठूलो परिणामको बिजुली चुहिएरै खेर गइरहेको छ । त्यसमा पनि करिब १२–१५ प्रतिशत प्राविधिक रुपमै चुहावट हुने गरेको छ ।

देशैभर अप्राविधिक चुहावट नियन्त्रण गर्ने क्रम जारी रहेको अधिकारीले बताए । ‘चुहावट नियन्त्रण गर्न अभियान चलाएका कारण करिब साढे तीन प्रतिशत बिजुली चुहिनबाट रोक्न सफल भएका हौं,’ उनले भने, ‘लोडसेडिङ नभएका कारण पनि चुहावट कम भएको हो ।’हुकिङबाट बिजुली चुहावट हुने गरेकोमा त्यसलाई केही हदसम्म नियन्त्रण गर्न सफल भएको उनको दाबी छ । ‘अप्राविधिक रुपमा हुने चुहावटलाई कर्मचारी खटाएर नियन्त्रण गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक रुपमा हुने चुहावटलाई पनि क्षमता बढाएर कम गरिरहेका छौं ।’

‘चुहावट नियन्त्रण गर्ने काम विगतदेखि नै जारी छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘अहिले विशेष ‘फोकस’ गरेरै सबै वितरण केन्द्रमा कार्यक्रम अघि बढाएका छौं ।’प्राविधिक रूपमा चुहावट पूर्ण रूपमा अन्त्य असम्भव भए पनि लुकी–चोरी गरिएको चुहावट घटाउन सकिने विज्ञहरुको भनाइ छ । प्राधिकरणले चुहावट नियन्त्रणका लागि विशेष अभियान सुरु गरेको छ ।

प्राधिकरणले कर्मचारीको मिलेमतो र हुकिङ गरी बिजुली चोर्ने एक–दुईजनालाई दिनहुँजसो पक्राउ गर्छ ।
विशेषगरी, बारा, पर्सा, रौतहट, नेपालगन्ज, जनकपुर, इनरुवा, सिरहा, जलेश्वर, लालबन्दी, मलंगवा, कलैया, भरतपुरलगायत क्षेत्रका व्यक्ति पक्राउ परेको प्रधिकरणको भनाइ छ ।  चुहावट घटाउन २०६८ सालमा पाँचवर्षे रणनीति बनाइएको थियो, जसमा त्यतिबेला रहेको चुहावटलाई २८.३५ बाट २० प्रतिशतमा झार्ने लक्ष्य थियो ।

विद्युत चुहावट नियन्त्रणलाई उत्पादनभन्दा बढी महत्व दिनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन् । चुहावट नियन्त्रण नहुनुमा कर्मचारी, भौतिक साधन र बजेट अभाव प्रमुख कारण मानिएको छ । यसैगरी, प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नुलाई कारणको रुपमा औंल्याउने गरिन्छ ।चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत प्राधिकरणले पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा बिजुली चोरी गर्नेमाथि कारबाही गरेको छ ।

प्राधिकरण प्रमुखमा कुलमान घिसिङ आएपछि चोरी नियन्त्रणमा आक्रामक कारबाही सुरु गरिएको हो । उनले चुहावट नियन्त्रणका लागि अभियान चलाउन निर्देशन नै दिएका छन् । मिटर नभएका ठाउँमा तत्काल जडान गर्नसमेत उनको निर्देशन छ । घिसिङ कार्यकारी निर्देशकमा आउनेबित्तिकै सुकुम्बासीलाई समेत मिटर दिन मिल्ने गरी प्राधिकरणबाट निर्णय गराएका थिए । यो निर्णयसँगै मिटर जडान गर्नेको संख्या बढिरहेको प्राधिकरणको भनाइ छ ।विद्युत् महसुल तिर्न बाँकी भएकाको लाइन काट्ने कार्य जारी राख्दै चुहावट नियन्त्रण गर्ने अभियानमा प्राधिकरण लागेको छ ।

विद्युत चोरी गर्न नछाडे ललितपुरमा ‘ब्ल्याक आउट’
प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा सहयोग नगरे संगठित रुपमा विद्युत् चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् कटौती (ब्ल्याक आउट) गर्ने भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठित रुपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई बिजुली नचोर्न र चोरेको पाइए त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए ।

‘राजधानीकै उपभोक्ता संगठित रुपमा विद्युत् चोरीमा संलग्न हुनु मुलककै लागि दुर्भाग्य र बेइज्ज्यती हो, १५ दिनभित्रमा चोरी नियन्त्रणमा सहयोग नगरेमा हामी ब्ल्याक आउट गर्न बाध्य हुनेछौं,’ घिसिङले भने, ‘त्यसपछि जस्तो जुकै ठूलो दबाब आए पनि हामी निर्णयबाट पछि फर्कने छैनौं, राजधानीलाई विद्युत् चोरीमुक्त बनाउन सबैको सहयोग र साथ चाहिन्छ ।’

ललितपुरको भित्री सहरी क्षेत्रमा पर्ने पाटन स्थानीय फिडरअन्तर्गत लुखुसी, च्यासल, मंगलबजार, इखालखु, धालाछे, सौगल, दुपाट, पिन्छे, पिलाछे लगायत स्थानमा संगठित रुपमा विद्युत चोरी भइरहेको छ । गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरअन्तर्गत हरिसिद्धी, गुहीटोल, ठैव, बाँडेगाउँ, लुभु जाने फिडर अन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभुबजार, लाकुरी भञ्ज्याङ अत्यधिक विद्युत् चोरी हुने क्षेत्र हुन् । यसैगरी, चापागाउँ जाने फिडरअन्तर्गत पर्ने सुनाकोठी, ठेचो, लेले, चापागाउँलगायत क्षेत्रका बासिन्दाले संगठित रुपमा विद्युत् चोरी गरेको फेला परेपछि यसलाई नियन्त्रण गर्न ब्ल्याक आउट गर्न लागिएको घिसिङले बताए ।

ती क्षेत्रमा औसत विद्युत् चोरी ५० प्रतिशत छ । प्राधिकरणले चोरीका कारण यी स्थानबाट मात्रै वार्षिक करिब ५० करोड रुपैयाँ आम्दानी गुमाइरहेको छ । उपभोक्ताले जोखिमपूर्ण रुपमा विद्युत् प्रयोग गरिरहेका छन् । यसरी प्रयोग गरिएको विद्युत् असुरक्षित हुने हुँदा ठूलो दुर्घटनासमेत हुने सम्भावना उत्तिकै रहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारी किला हालेर घुम्न नदिने, कर्मचारीलाई मिटर रिडिङ गर्न नदिने लगायत काम संगठित रुपमै भइरहेको प्राधिकरण लगनखेल वितरण केन्द्रका प्रमुख विरेन्द्र सिंहले बताए । ‘चोरीका यस्ता क्रियाकलाप नियन्त्रण गर्न जाँदा स्थानीयबाट संगठित रुपमै हाम्रा कर्मचारीमाथि आक्रमण हुने गरेको छ,’ उनले भने, ‘यसमा स्थानीय राजनीतिक र प्रशासनिक नेतृत्वको सहयोग पनि उत्तिकै चाहिन्छ ।’प्राधिकरणका अनुसार, चोरी नियन्त्रणका लागि विद्युत् वितरणको नांगो तारको सट्टा इन्सुलेटेड एबिसी केबल फेर्ने, सडक बत्ती मिलाउने, ट्रान्सफर्मर फेर्ने लगायत काम व्यापक रुपमा भइरहेको छ ।

चोरी नियन्त्रणका लागि कार्यकारी निर्देशक घिसिङ आफैं अग्रसर भएर अभियानमा सहयोगको आग्रह गर्दै ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, प्रहरी प्रमुखसँग छलफल गरिरहेका छन् । उनले ललितपुरलाई विद्युत् चोरीमुक्त जिल्ला बनाउन र चोरी नियन्त्रणमा प्राधिकरणले चालेका कदममा पूर्ण रुपमा सहयोग गर्न आग्रह गरिएको बताए । ‘चोरी नियन्त्रणका लागि आवश्यक प्रणाली सुधारका लागि व्यापक कदम चालिएको छ,’ उनले भने, ‘स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र प्रशासनले पनि सहयोग गरिदिनु पर्यो ।’  

प्राधिकरणले उपभोक्तालाई समेत विद्युत् चोरी नगर्न र गरिएको फेला पारेमा कानुनी कारबाही गरिने चेतावनी दिँदै पोस्टर टाँस्ने, माइकिङ लगायत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । ललितपुरमा जस्तै भक्तपुर क्षेत्रमा पनि चोरी व्यापक रहेको र यस क्षेत्रमा पनि क्रमिक रुपमा चोरी नियन्त्रणका आक्रामक कार्यक्रम सञ्चालन गरिने घिसिङले जानकारी दिए । चालु आर्थिक वर्षमा यसलाई घटाएर २० प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । तीन वर्षभित्रमा प्रणालीमा रहेको चुहावटलाई १५ प्रतिशतमा झार्ने लक्ष्य रहेको प्राधिकरणले जनाएको छ ।

 

प्रकाशित: १९ माघ २०७४ ०१:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App