६ वैशाख २०८१ बिहीबार
अर्थ

सुख्खा बन्दरगाहबाट आयात बढ्यो

वीरगन्ज सुक्खा बन्दरगाहमा रेलमार्ग भएर भारतीय बन्दरगाहबाट आइपुगेका कन्टेनर । तस्बिर : रितेश/नागरिक

वीरगन्ज – वर्षको तुलनामा यो वर्ष वीरगन्ज सुक्खा बन्दरगाह भएर विदेशी मालवस्तु आयात निकै बढेको छ । नेपालका लागि तेस्रो मुलुकबाट माल समान आउने प्रमुख नाका वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा आँकलनभन्दा बढी संख्यामा मालवाहक कन्टेनर आउन थालेका छन् । कोलकतास्थित भारतीय बन्दरगाहबाट रेलमार्ग भएर वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा विदेशबाट आयातित मालवस्तुका कन्टेनरको संख्या पछिल्लो समयमा बढ्दो छ ।

गत वर्ष प्रतिमहिना करिब ३० रेकको औसतले आएका कन्टेनरमा बढीमा २० प्रतिशत वृद्धि हुँदा महिनामा ३६ रेकसम्म कन्टेनर आउने भनी गरिएको आँकलनभन्दा बढी कन्टेनर आउन थालेका छन् । एउटा रेकमा २० फिट एकाइको ९० कन्टेनर आउने गरेका छन् । अंग्रेजी सम्बत अनुसारको आर्थिक वर्ष २०१७÷०१८ को जनवरी महिनामा ४४ वटा रेक विदेशी मालवस्तु बोकेर भारतीय बन्दरगाहबाट सिर्सिया सुक्खा बन्दरगाहमा आएका छन् । यो भनेको तीन हजार नौ सय ६० कन्टेनर हो । डिसेम्बरमा ४२ रेकमा तीन हजार सात सय ८० र नोभेम्बरमा ४० रेकमा तीन हजार ६ सय कन्टेनर रेलमार्ग भएर सुक्खा बन्दरगाह भित्रिएको छ । अक्टोबरसम्म सामान्य संख्यामा ३१ वटा रेकमा दुई हजार सात सय ९० कन्टेनर आएका थिए ।

‘नोभेम्बरदेखि कन्टेनरको संख्या बढेको छ,’ सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालयन टर्मिनल्सका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले नागरिकलाई भने, ‘पछिल्लो एक महिनाको अवधिमा रेलमार्गबाट अहिलेसम्मकै सर्वाधिक कन्टेनर आएको छ ।’ अहिले नेपाली कार्गोका लागि यसका सबै सरोकारवालाबीच राम्ररी समन्वय भएपछि ‘रेकर्ड ब्रेकिङ’ किसिमले ढुवानी हुन पाएको चौधरीले बताए । यस अवस्थालाई दिगो बनाउन सबैले आफ्नो भूमिका दुरुस्त गरिराख्नु पर्ने उनको भनाइ छ । कन्टेनर लिएर आएका रेक यताबाट पनि खाली वा भर्ती कन्टेनर लोड गरेर हिँडेमात्र यसको ओसारपसारको शृंखला सुचारु रहने भएकाले आयातकर्ता व्यापारीलाई खाली कन्टेनर बेलैमा फर्काउन आफूहरुले आग्रह दोहर्याइरहेको उनले बताए ।

यो वर्ष वर्षातको मौसममा उतर भारतको बिहार प्रान्तमा रेल लाइन र सडकमार्ग क्षतिग्रस्त भएपछि करिब महिनासम्म नेपाली कार्गो आवागमन अवरुद्ध भएको थियो । त्यसपछि दसैंतिहारको बिदाताका सुरु भएको कोलकतास्थित बन्दरगाहको जाम (कन्जेसन) दुई महिना चलेको थियो । यसरी यो वर्ष प्रभावित भएको तेस्रो मुलुकसँगको व्यापार भने अब गति लिन थालेको व्यापारीको बुझाइ छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले पछिल्लो समयमा विदेशी सामान आयातमा देखिएका समस्यामा सुधार भएको बताउँछन् ।

अंग्रेजी वर्ष अनुसारको १० महिनामा यसपालि दुई सय ८३ रेक आएका छन् । जसमध्ये दुई सय ५८ वटा कोलकताबाट र २५ रेक आन्ध्र प्रदेशको बिशाखापट्नमबाट आएका हुन् । भारतीय बन्दरगाहदेखि यता नेपाली कार्गो रेलमार्गले ढुवानी गर्ने सेवाप्रदायक भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया (कन्कोर)ले नेपाली कार्गोलाई प्राथमिकतामा राखेर ढुवानी गरिरहेको त्यसका अधिकारीको दावी छ । नेपाली कार्गो ओसार्न १६ वटा ट्रेन ‘डेडिकेटेड’ गरिएको कन्कोरका पूर्वी क्षेत्रीय कार्यालयले जनाएको छ ।


 

प्रकाशित: १९ माघ २०७४ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App