८ वैशाख २०८१ शनिबार
अर्थ

वाइवाइको यात्रा कहाँसम्म ?

बिहार (पूर्णिया) – नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले पछिल्लो समय प्रत्येक वर्ष कम्तीमा एउटा वाइवाइको नयाँ उद्योग सञ्चालनमा ल्याएका छन् । वाइवाइको बजार विस्तारमा आक्रामक देखिएका चौधरीको यात्रा कहाँसम्म पुग्ने हो यसै भन्न सकिने अवस्था छैन ।  

चौधरी ग्रुपले अहिलेसम्म नेपालबाहेक भारतमा ६ वटा प्लान्ट सञ्चालनमा ल्याएको छ भने युरोपको सर्बियामा एउटा प्लान्ट खोलेको छ । नेपालको बर्दिया, बंगलादेशसहित केही प्लान्ट एक–दुई महिनामै सञ्चालनमा आउँदैछन् । यस्तै, कतिपय मुलुकमा प्लान्ट लगाउने प्रारम्भिक चरणका काम भइरहेका छन्।

 ‘वाइवाइसँगै हुर्किएको नेपाली पुस्ता विश्वमा जहाँजहाँ पुग्छन् त्यहाँत्यहाँ वाइवाइ पुर्याउने मेरो योजना हो,’ गत साता भारतको बिहारमा रहेको वाइवाइ प्लान्टमा नेपाली पत्रकारहरुसँग कुरा गर्दै चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘अहिले हामी विश्वका धेरैजसो स्थानमा कहाँ प्लान्ट राख्न सकिन्छ भनेर हेर्दैछौं ।’ उनले वाइवाइको माग बढ्दै गएकाले पछिल्ला वर्षमा प्रत्येक वर्ष कम्तीमा एउटा प्लान्ट स्थापना भइरहेको बताए ।  

अध्यक्ष चौधरीले अमेरिका र क्यानडामा वाइवाइ सहज रुपमा पुर्याउन  मेक्सिकोमा प्लान्ट लगाउन उपयुक्त हुने देखिएको बताउँदै त्यहाँ जग्गाको खोजी भइरहेको जानकारी दिए । ‘अहिले भारतमा उत्पादन भएको वाइवाइ अमेरिका पुगेको छ,’ चौधरीले भने  मेक्सिकोमा प्लान्ट लगाउँदा अमेरिका, क्यानडा लगायत देशमा पनि निकासी गर्न सकिन्छ ।’अध्यक्ष चौधरीले वाइवाइको बजार विस्तार दुई किसिमबाट भइरहेको बताए । उनका अनुसार एउटा कम्पनी आफैंले बजार खोज्दै हिँडेको छ । अर्को उपभोक्तालाई पछ्याउँदै नभएर उपभोक्ताको चाहनाका कारण बजार बढेको छ ।

वाइवाइका ग्लोबल सिइओ जिपी शाहले वाइवाइ भारतमा मात्र नभएर विश्व बजारमा पनि फैलने योजनामा रहेको जानकारी दिए । उनका अनुसार भारतभन्दा बाहिर अहिले बंगलादेशमा प्लान्ट बन्दैछ । आगामी दुई–तीन महिनाभित्रमा त्यहाँ उत्पादन सुरु हुनेछ । यस्तै केन्यामा पनि प्लान्ट बनिरहेको छ । इजिप्ट, घाना, भियतनाममा उद्योग लगाउन सबै तयारी थालिसकेको छ भने किर्गिजस्तान र मलेसियामा प्लान्टका लागि छलफल अघि बढिरहेको छ ।वाइवाइको विदेश यात्रा भारतको सिक्किमबाट सुरु भएको हो । अहिले यो यात्रा युरोपसम्म पुगिसकेको छ । अन्य मुलुकमा पनि प्लान्ट राख्ने तयारीमा चौधरी ग्रुप छ । केही महिनाअघि युरोपको सर्बियामा प्लान्ट सञ्चालनमा आइसकेको छ ।

अध्यक्ष चौधरीले अहिलेसम्म भारतमा ६ वटा वाइवाइका उद्योग सञ्चालनमा ल्याइसकेको जानकारी दिए । ६ वटा उद्योगमा नौवटा लाइनबाट वाइवाइ उत्पादन भइरहको छ । भारतका सिक्किम, उत्तराखण्ड, आन्ध्र प्रदेश, बिहार र आसामका दुई स्थानमा गरी ६ ठाउँमा उद्योग खोलिएको छ । यी सबै स्थानमा ब्राउन र ह्वाइट गरी दुई किसिमका चाउचाउ उत्पादन गरिएका छन् । चाउचाउका साथै यी उद्योगहरुले अन्य किसिमका भुजिया पनि उत्पादन गर्दै आएको छ ।‘अब हामी भारतभर वाइवाइ पुर्याउन सक्षम भएका छौं,’ चौधरीले भारतीय नक्सा देखाउँदै भने, ‘उत्तरपूर्वी क्षेत्रबाट सुरु भएको वाइवाई यात्रा अहिले सबै राज्यहरुमा पुगेको छ ।’ चौधरीले भुटानमा समेत भारतमा उत्पादित वाइवाइ पुगेको जानकारी दिए ।

उनका अनुसार भारतका विभिन्न राज्यहरुले वाइवाइ प्लान्ट लगाउन उनलाई विभिन्न सुविधा दिएर बोलाउने गरेका छन् । ‘भारतीय राज्यबीच लगानी भित्र्याउन प्रतिस्पर्धा छ,’ अध्यक्ष चौधरीले भने, ‘उद्योगी व्यवसायीलाई अनेकौं सुविधा दिएर बोलाउने गरिन्छ ।’

चौधरीका अनुसार अहिले भारतीय बजारको २७ प्रतिशत हिस्सा वाइवाइले लिइसकेको छ । भारतमा सबैभन्दा बढी बिक्री हुने म्यागी चाउचाउ हो । उनले आगामी केही वर्षमा वाइवाइको बजार हिस्सा पहिलो हुने गरी कम्पनीले काम गरिरहेको बताए । ‘म्यागीको प्लान्ट दुई ठाउँमा मात्र छ ।

हामी ६ स्थानमा पुगिसक्यौं र अझै विस्तारका क्रममा छौं,’ चौधरीले भने, ‘अहिले हाम्रो भारतमा वार्षिक वृद्धिदर पाँच प्रतिशतभन्दा माथि छ । उत्तरपूर्वी राज्यहरुमा भने अहिले नै वाइवाइको बजार पहिलो भइसकेको छ ।’भारतीय सरकारले उद्योगी व्यवसायीलाई लगानीका लागि गर्ने प्रोत्साहनले पनि आफूलाई हौसला मिलेको उनले बताए । बिहारमा उद्योग स्थापना गर्दा पनि तत्कालिन सरकारले आफ्नो कम्पनीलाई विभिन्न सुविधा दिएको उनले जानकारी दिए ।‘नेपाल पनि संघीयतामा प्रवेश गरेकाले लगानी भिœयाएर विकास गर्न सातै प्रदेशबीच प्रतिस्पर्धा हुनुपर्छ,’ चौधरीले पत्रकारसँग भने, ‘जुन राज्यले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्छ त्यही राज्यमा विकास हुनेछ ।’

चौधरीले बिहारको पूर्णियामा खोलेको उद्योग नेपालको विराटनगरबाट करिब एक सय किलोमिटरमा पर्छ । दुई वर्षअगाडि खोलिएको उद्योग चार एकड जमिनमा फैलिएको छ । अध्यक्ष चौधरीका अनुसार यहाँ दैनिक पाँच सय कर्मचारी कार्यरत छन् । उद्योगको उपल्ला पदहरुमा भने नेपाली कर्मचारी छन् ।  चौधरी ग्रुपले समय अनुकूल प्रविधि र उपकरण प्रयोग गरेकाले चाउचाउ उत्पादनमा पिठो मुछ्नेदेखि चाउचाउ प्याकिङ गर्ने सबै काम मेसिनले नै गर्छ । कर्मचारीले त्यसको रेखदेख मात्र गर्छन् ।

चौधरी ग्रुपले सन् १९८५ मा नेपालमा वाइवाइ उत्पादन सुरु गरेको थियो । नेपालमा अहिले सात लाइनबाट वाइवाइ उत्पादन भइहरेको छ । अहिले वाइवाइको वार्षिक उत्पादन दुई अर्ब २० करोड प्याकेट पुगेको छ । विश्वको चाउचाउ बजारको वार्षिक वृद्धिदर १२ प्रतिशत रहेकाले पनि वाइवाइको यात्रा प्रत्येक वर्ष फराकिलो बन्दै जानेछ । सायद यसैले होला कम्पनीले प्रत्येक वर्ष प्लान्ट थपिरहेको छ ।

प्रकाशित: १९ माघ २०७४ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App