४ वैशाख २०८१ मंगलबार
अर्थ

एफपिओको मूल्य निर्धारण गर्ने सूत्र

काठमाडौं- नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीले जारी गर्ने थप निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपिओ) को मूल्य निर्धारणको आधार तयार पारेको छ। बोर्ड सञ्चालक समिति बैठकले विभिन्न चारवटा आधारमा प्राप्त नतिजाको कुल योगफलको औसतलाई एफपिओको मूल्य निर्धारण गर्न सकिने व्यवस्था अघि सारेको शुक्रबार प्रेषित विज्ञप्तिमा जनाएको छ।

पुँजीकृत आम्दानी, प्रतिसेयर खुद सम्पत्तिको मूल्य, एक सय ८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य गरी चारवटा विधि प्रयोग गरी प्राप्त भएको कुल मूल्यको सामान्य औसत गणना गरी एफपिओको मूल्य निर्धारण गर्न सकिने निर्णय बोर्डले गरेको छ। बोर्डले चारवटा विधिबाट प्राप्त मूल्यको समेत औचित्य पुष्टि हुने आधार हुनुपर्ने सर्त पनि अघि सारेको छ।

कम्पनीहरुले आफूखुुसी सेयरको मूल्य निर्धारण गर्दै एफपिओ जारी गर्न थालेपछि नियामक नेपाल धितोपत्र बोर्डले मापदण्ड बनाएको हो।

बोर्डले शुक्रबार सार्वजनिक गरेको नयाँ मापदण्डसँगै थप निष्कासनको प्रतीक्षामा रहेका नेपाल लाइफ इन्स्योरेन्स लगायत कम्पनीलाई एफपिओ जारी गर्ने बाटो खुलेको छ। धेरै सूचीकृत कम्पनीले एफपिओ निष्कासनका लागि निवेदन दिएपछि बोर्डले आधार र विधि तयार गर्न एफपिओ निष्कासन स्वीकृति रोकेको थियो।

नेपाल लाइफ इन्स्योरेन्सले एफपिओ निष्कासनको तयारी गरेपछि बोर्डले यसलाई व्यवस्थित, स्वच्छ, निष्पक्ष र समयसापेक्ष र मूल्यमा एकरुपता ल्याउन भन्दै निष्कासनको मूल्य, आधार र विधि तयार गर्न एक समिति गठन गरेको थियो। गठन गरिएको समितिको सिफारिसका आधारमा बोर्डले एफपिओको आधार र विधि तयार गरेको हो। यो विधि लागू भएपछि मूल्यमा एकरुपता, निष्पक्ष र पारदर्शी हुने बोर्डको विश्वास छ। 

उल्लेखित सूचक तथा विधि पूरा गर्ने सूचीकृत संगठित संस्थाले मात्र एफपिओ निष्कासनका लागि अनुमति पाउने बोर्डले जनाएको छ। सूचीकृत संगठित संस्थाको साधारण सभाबाट निर्णय भएको चार महिनाभित्र बोर्डमा आवेदन दिइसक्नु पर्ने भन्दै बोर्डले विधि तथा आधार तयार गरेर सूचीकृत संगठित संस्थालाई एफपिओ निष्कासन खुला गरेको छ।

नेपाल लाइफले ३० लाख ९६ हजार कित्ता एफपिओ निष्कासनको तयारी गरेको थियो। अब उसले नयाँ विधि अनुसार गणना गरेर एफपिओ जारी गर्नेछ। यस्तै बुटबल पावर कम्पनी लिमिटेड (बिपिसी) ले पनि जलविद्युत आयोजनालाई लगानी जुटाउन भन्दै ४० लाख कित्ता एफपिओ प्रिमियम मूल्यमा निष्कासनको तयारी गरेको छ। पुँजी वृद्धि गर्न अन्य बैंक तथा वित्त कम्पनीहरुले पनि बोनस तथा हकप्रद सेयरबाहेक एफपिओ निष्कासनको तयारी गरेका छन्।

यसअघि नेपाल इन्भेस्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सले पनि एफपिओ निष्कासन गरिसकेका छन्। नेपाल इन्भेस्टमेन्टले गत फागुनमा प्रतिकित्ता प्रिमियम मूल्यसहित ६०१ रुपैयाँमा ९० लाख ६९ हजार ३८८ कित्ता एफपिओ बेचेको थियो। एफपिओपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड ५५ लाख रुपैयाँ पुगेको छ। यस्तै शिखरले गत पुसमा प्रतिकित्ता ५ सय ५० रुपैयाँ प्रिमियम मूल्य र १ सय रुपैयाँ फेसभ्यालु राखेर ५ लाख १० हजार ९ सय ८८ कित्ता एफपिओ जारी थियो।

प्रकाशित: ३० श्रावण २०७३ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App