१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

मातृस्नेह

–ज्ञानेन्द्र विवश

आमा हामी सबैको ‘जन्मदाता’ हुन् । आमा प्रकृतिको ‘प्रतिविम्ब’ हुन् । आमा सृष्टिको निरन्तरताको शाश्वत ‘सिर्जनाकर्मी’ हुन् । आत्मादेखि माया गर्ने व्यक्तिको रूपमा आमालाई लिन सकिन्छ । आमाको जस्तो माया यो संसारमा अरू कसैको हुँदैन । आमाको मायामा निःस्वार्थ चोखोपन हुन्छ । आमाको मायामा न्यानो आत्मीयता हुन्छ । त्यसैले आमा संसार–समग्र हुन् । हामी सबैलाई यो संसारमा अवतरित गर्ने आमा भगवानभन्दा महान् मानव हुन् । त्यसैले आमाको काख नै सबैभन्दा ‘प्यारो ठाउँ’ हो । आमाको खुसी र मुस्कान नै ‘स्वर्ग’ हो । आमा भएको घर नै ‘स्वर्ग’ हो । जतिसुकै सम्पन्नता र खुसी भए पनि आमाविनाको घर अँध्यारो हुन्छ । त्यस्तो घर घरजस्तो हुँदैन । घरको सौन्दर्य, शोभा, शील, स्वभाव, संस्कार समग्र हुन् आमा ।

हामी सबैको ‘पहिलो पाठशाला’ हुन् आमा । त्यसैले आमा हामी सबैको ‘पहिलो गुरुआमा’ हुन् । आमा हामी सबैको ‘मायाकी खानी’ हुन् । आमा एक ‘आदर्श नारी’ हुन् । कुनै दिन, कुनै क्षण पनि आमाले आफ्ना सन्तानका लागि थकाइ र दुःख महसुस गर्दिनन् । सधैँ सन्तानका लागि समर्पित हुन्छिन् । आफ्ना सन्तानलाई मायाको न्यानो खास्टोभित्र राख्छिन् । यसरी मायाको खास्टोले न्यानो काखमा राख्ने सबैभन्दा फराकिलो आत्मा भएकी आमा नै हुन् यस संसारमा । सन्तानलाई सानै चोट लाग्दा पनि आमाको मन दुख्छ । सन्तानकै सुखका निम्ति आमाको त्याग र बलिदानका धेरै उदाहरण छन् । तसर्थ जीवनमा हामीले सबैथोक पाउँछौं । तर जन्मदिने आमा पाउँदैनौं ।

यस्ती आमालाई पाउनुमै हाम्रो जीवन धन्य छ । यस्ती आमालाई हामी श्रद्धा गर्छौं । हामी आफ्नी जन्मदातृ आमाको हार्दिक ‘अभिनन्दन’ गर्छौं ।  आमाको चरणमा परेर श्रद्धाले ‘आशीर्वाद’ माग्छौं । ‘आशीर्वाद’ थाप्छौं । आमाको पूजा–प्रार्थना गर्छौं । आमाको मुख हँसिलो पार्ने प्रयत्न गर्छौं । हाम्रै खुसीका लागि आमाले आफ्ना सारा इच्छा र आकांक्षा बिर्सिएकी हुन्छिन् । 

एउटा पवित्र उत्सवका रूपमा आफ्नी आमाप्रति गरिने पूजा–पर्वको परम्परा हाम्रो समाजमा विद्यमान छ । ‘मातृत्वपूजा’ को नामले चिनिने यो संस्वृmति हाम्रो समाजमा छ । यसरी हामीकहाँ आमाको पूजा गर्ने परम्परा छ । हामी आमालाई आत्मादेखि आदर गर्छौं । हामीलाई यस धरतीमा जन्म दिने आमा नै ‘भगवान्’ हुन् । आमा नै सबैथोक हुन् । आमा नै हाम्रो ‘आँखा’ हुन् । आमा नै हाम्रो ‘ज्योति’ र ‘जीवन’ समग्र हुन् । आमाबाहेक हाम्रो जीवनको कल्पना–कथा समाप्त हुने थियो । माया र ममताकी खानी आमाले नै जन्मको अधिकारलाई ‘सदुपयोग’ गरेकी छन् । 

आमा हुनुको सारा जिम्मेवारी व्यहोरेर आमाले साँचो मायाको सद्भाव बाँडेकी छन् । न्यानो ‘काख’ र प्यारो ‘म्वाँइ’ दिएकी छन् । आमाले हामी सबैलाई जीवनमा ‘बाँच्न’ सिकाएकी छन् । संघर्ष गर्न र सफलताको शिखर चुम्न प्रेरित गरेकी छन् । आमा छिन् र हामी छौं । आमाको आशीर्वादले हाम्रो जीवनले प्रगतिको फड्को मारेको छ । दुःखलाई पैतालाले थिचेर लक्ष्यमा पुग्न अग्रसर भएको छ । धैर्य र साहस आमाकै हो । विश्वास र आँट आमाकै देन हुन् । आमाकै त्याग, माया र ममताले हाम्रो जीवन ज्योतिर्मय बनेको छ । 

अन्ततः जन्म दिने आमाकै काखमा पाइन्छ ‘मायाको खुस्वु’ । आमाकै काखमा भेटिन्छ आफन्तपनको ‘सुगन्ध’ । आमाकै काखमा लुटुपुटु गर्नुको स्वर्गीय सुख अन्त कतै पाइँदैन । आमाकै काखमा जीवनको ‘सुन्दरता’ झल्किन्छ । आमाकै अनुहारमा मानवताको चोखो स्पन्दन ‘प्रतिविम्बित’ भएको देखिन्छ । आमाकै सन्निकट शान्ति र सुरक्षाको अनुभूति हुन्छ । आमाकै काखमा सुखको मिठास महसुस हुन्छ । आमासँग आनन्दको बास हुन्छ । आमालाई भेट्दा सारा तनाव बिर्सिन पुगिन्छ । अनि परम सुखको सागरमा तैरिन पुगिन्छ । आमाको बोली नै सबैभन्दा ठूलो ‘शिक्षा’ हो हाम्रा लागि । त्यो नै ज्ञानको ‘ग्रन्थ’ हो गहकिलो । पुस्तक, पुस्तकालय, ज्ञान, विज्ञान सबै हुन् आमा । उज्यालो ज्योति जीवनकी ‘पथप्रदर्शक’ हुन् आमा । आमाले नै पहिले ‘ताते सर्न’ सिकाउँछिन् । आमाले नै पहिलो वाक्य ‘तोते बोली’ बोल्न सिकाउँछिन् । आमाले नै सबैको पहिलो चिनारी गराउँछिन् । त्यसैले आमाजस्तो उदारताको उदाहरण यो संसारमा अरू भेटिँदैन । आमाजस्तो सिर्जनशील मान्छे अरू पाइँदैन ।

आमा धरतीकी ‘धरोहर’ हुन् । आमा सबैकी ‘सहारा’ हुन् । आमा घरकी ‘सौन्दर्य’ र ‘शोभा’ हुन् । आमा समाजकी आदर्श ‘अभियन्ता’ हुन् । आमा मुस्कानकी चोखो शुभेच्छा हुन् । आमा दुःखको आँसु र सुखको हाँसो सबै हुन् । आमा सबैभन्दा उचाइकी ‘आत्मा’ हुन् । हामी सबैको हेरविचार गर्ने आमा संसारका महान् मानिस हुन् । भगवानभन्दा ठूलो साक्षात् रूप हुन् । हामी सबैको प्रगतिमा आमाकै प्रेरणा प्रथम पाइला हो । हामी प्रत्येकको उन्नतिमा आमाको सन्तुष्टि हुन्छ । हाम्रो अवनतिमा आमाको मन दुःखले पीडादायी बन्छ । आफ्ना सबै सन्तानमा समान माया बाँड्ने आमा सबैकी साझा ‘प्रेरणाकी स्रोत’ हुन् । आमाको जति नै बयान गरे पनि सकिँदैन । आमाको सेवा गरेर कहिल्यै पूरा हुँदैन । 

संसारका सबै आमाको जीवन आमाको जस्तो छैन । सन्तानले पनि आफ्नी आमालाई सम्मान गरेका छैनन् । आमाको अपमान गर्ने सन्तान पनि छन् । आमालाई दुःख दिनेहरू पनि छन् । आमालाई दुव्र्यवहार गर्नेहरू छन् । आमालाई बेवारिसे छोड्नेहरू छन् । वृद्धाश्रममा बेवारिसे छोड्ने सन्तान पनि छन् । जन्मदिने आमालाई सुखले बाँच्न नदिने कुलंगार सन्तान पनि यस धरतीमै छन् । तर कतिपय आमाले आफ्ना सन्तानका लागि केही नगरेका घटना पनि छन् । 

आमाको कर्तव्य पूरा नगर्ने आमाहरू पनि छन् । आफूले जन्म दिएर आफ्नै सन्तानलाई कतै झाडीमा फाल्ने ‘पापिनी आमाहरू’ छन् । आफ्नो सन्तानलाई घाँटी थिचेर मार्ने ‘निर्दयी आमाहरू’ पनि छन् । अरूका सन्तानलाई पनि आफ्नै आमाले जस्तै माया गरेर पाल्ने आमाहरू छन् । ललाइफकाइ हँसाउँदै स्याहारसुसार गर्ने ‘देवताजस्तै आमाहरू’ पनि छन् ।

हिजोआज आफ्नै जन्मदिने आमालाई रुवाउँछन् । सत्तोसराप गर्दै मातृत्वप्रतिको श्रद्धाभावलाई कुण्ठित पार्ने कुचेष्टा हुने गरेको छ । यो प्रत्येक आमा र सन्तानका लागि लज्जास्पद कार्य हो । मातृपूजा–परम्परामा यसले नराम्रो आघात पु¥याएको छ । पवित्र मातृस्नेहको मानमर्दन गरिदिएको छ । यो सत्य हो, एउटी असल आमा हरेक सन्तानले पाउँछन् । तर हरेक आमाले असल सन्तान पाउन नसक्दा रहेछन् । यही कारण कति आमाले सन्तानबाट चोट खप्नुपर्छ । आफ्नै सन्तानबाट ‘सन्ताप भोग्नु’ पर्छ । असह्य पीडा सहनुपर्छ । नौ महिना गर्भमा राखेर दसधारा दूध चुसाएको चटक्कै बिर्सिन सक्ने सन्तान पनि छन् । जन्मदिने आमाको मन रुवाएर हाँस्न सक्ने ती सन्तानलाई धिक्कार छ । यो पनि सत्य हो, कसैले पनि कहिल्यै आफ्नी आमालाई बिर्सिएर ईश्वरलाई सम्झिन सक्दैन ।

सबै नारी आमा होइनन् । हुँदैनन् पनि । तर सन्तान जन्माउनेहरू मात्र होइन, सन्तान नजन्माउने पनि आमाको आदर्श भूमिकामा सफल भएका छन् । त्यसैले आमाको रूपमा आमाको व्यवहार देखाउन सक्नु ठूलो कुरा हो । आमा भएपछि सन्तानलाई गर्नुपर्ने माया एक अनिवार्य ‘कर्म’ हो । त्यस्तै सन्तानले पनि आफ्नी आमाप्रति गर्नुपर्ने कर्तव्य सधैँ पूरा गर्नु उसको ‘धर्म’ हो । यही ‘कर्म’ र ‘धर्म’ मा हाम्रो जीवनको सुन्दर संसार व्यतीत भइरहेको छ । यसमै हामीले जीवनको ‘सुख’ भेटिरहेका छौं । यसमै हामीले जीवनका ‘दुःख’ पनि भोगिरहेका छौं । आँसु र हाँसो, मिलन र बिछोडका घटनासँगै ‘यात्रा’ हिँडिरहेका छौं ।

यद्यपि आमा हुनु सजिलो छैन । आमा हुनु सस्तो छैन । आमा हुनु जति गाह्रो छ । आमाको दायित्व पूरा गर्नु पनि त्यत्तिकै कठिन छ । हामीले आफ्नी आमाप्रति कतिसम्म आफ्नो कर्तव्य पूरा गर्न सक्यौं ? सोच्नुपर्ने बेला हो यो । आफूले आपैैंmलाई फर्किएर हेर्नुपर्ने समय पनि हो यो । आजको संसारमा अरू जे  पनि पाइन्छ । तर वास्तविक मायाकी खानी आमाको न्यानो काख कतै पाइँदैन । अरूको काखभन्दा आमाको लात नै प्रिय हुन्छ । जस्तोसुकै भए पनि आमा नै सबैभन्दा प्यारी हुन्छिन् । आमा नै राम्री हुन्छिन् । एउटा भनाइ छ– ‘फाटेको भए पनि जामा (फ्रक) जाती, जस्तो भए पनि आमा जाती’ ।

पराइको गाली र चोट खानुभन्दा आमाको ‘झापट’ मीठो हुन्छ । कुचोको ‘कुटाइ’ नै प्यारो हुन्छ । त्यसले एकैछिन मात्र दुख्छ । अरूले पिट्दा मनभित्रसम्म धेरै पछिसम्म दुखिरहन्छ । बेइज्जतको होइन, इज्जतको पिटाइ हुन्छ आमाको । तर आफ्ना मुटुका टुक्राजस्तै सन्तानलाई पिटेर धर्धरी रुवाउन कहाँ सक्छिन् आमाले ? बरु आपैmँ रोएर हँसाइरहन्छिन् सधैं सन्तानलाई प्रत्येक आमा । त्यसैले आमाबाहेक यो संसारमा मायाको ठूलो भण्डार अरू छैन । आमाबाहेक यो संसारमा दया र करुणाको खानी अरू कोही छैन । आमा नै हाम्रो ‘जीवन’ र ‘संसार’ हुन् । 

जे जति गरे पनि आमाको ऋण तिर्न हामीले कहिल्यै सक्दैनौं । आमाप्रति जति श्रद्धा र भक्तिभाव गरे पनि आमाको त्यागको मूल्य अमूल्य छ । त्यसलाई हामीले जीवनभर चुकाउन सक्दैनौं । तैपनि आमाको योगदानका सामु हाम्रो सेवा केही होइन । जन्मको भार बोकेर हामी आजीवन रहन्छौं । आमाको माया र आदर्श बोकेर हामी अगाडि बढ्छौं । आमाको आशीर्वाद र आँसु सम्झेर लक्ष्यमा लम्किन्छांै । 

कहिलेकाहीँ दुःख पाउँदा आमाको ‘माया’ सम्झन्छौं । एक्लो हुँदा आमाको ‘अभाव’ ले छट्पटिन्छौं । आमाको न्यानो ‘काख’ सम्झेर रुन्छौं । आमाको सम्झनामा मन भावुक हुन्छ । वास्तवमा आमाबाहेक हाम्रो यस संसारमा आफ्नो भन्नु कोही छैन । आमा केवल आमा । यस्ती प्यारी आमालाई ‘अपमान’ होइन ‘सम्मान’ चाहिन्छ । सन्तानको सुख चाहिन्छ । आमा बटवृक्ष हुन् । आमा धन्य, धरोहर हुन् । सिर्जनाकी दिव्य खानी हुन् । आमा सहनशीलताकी प्रतिमूर्ति हुन् । तीर्थभन्दा पनि ठूलो तीर्थ हुन् आमा । ज्ञानभन्दा पनि ठूलो ज्ञानकी भण्डार हुन् आमा । आमा सबैकी साझा आस्था–विश्वासकी शिखर हुन् । ममताकी ‘सगरमाथा’ हुन् । दयाकी ‘सागर’ हुन् ।

आमाले आफ्ना सन्तानलाई सधैं आदर्श नागरिक बनाउँछिन् । आफ्ना सन्तानको खुसी र सुखका लागि आमाले आफ्ना सबै इच्छा लुकाउँछिन् । आफ्ना सन्तानको निम्ति आफ्नै खुसी त्याग गर्नु आमाको महानता हो । सन्तानको दुःख देख्न नचाहने आमा साहस र धैर्यकी प्रतिमूर्ति पनि हुन् । सन्तानको उन्नति–प्रगतिमै सधैं चिन्तित आमा मायाकी साक्षात् रूप हुन् । रोइन् भने आमा आफ्ना सन्तानकै लागि रुन्छिन् । हाँसिन् भने आमा आफ्ना सन्तानकै लागि हाँस्छिन् । आमाको हाँसो र आँसुमा कुनै स्वार्थ हुँदैन । निःस्वार्थ त्याग नै ममतामयी आमाको रूप हो । हाँसिन् भने आमा सन्तान प्राप्तिको खुसीले हाँस्छिन् । सन्तानकै सुख देखेर मुसुमुसु मन्द मुस्कुराउँछिन् । हृदयभित्र भक्कानिएर बाहिर सामान्य स्वरूप देखाउँछिन् । हाँसो र रोदनको दोभानमा आमाहरू सन्तानको उज्ज्वल भविष्यको प्रार्थना गरिरहन्छिन् हरेक क्षण ।

सन्तान जन्माउँदा पनि आफू मरेर जन्म दिन्छिन् आमाले । आफू बाँचुञ्जेल त्यही सन्तानको मुख हेरेर मीठो कल्पनामा रमाउँछिन्, हराउँछिन् । आफू बाँचुञ्जेल तिनै सन्तानको चिन्ताले पटक–पटक मरिरहन्छिन् । पछि बूढ्यौली वा अशक्त हुँदा तिनै सन्तानको व्यवहारले आफूलाई धिक्कारेर मर्छिन् । सन्तान भए पनि नभए पनि आमालाई शान्ति हुँदैन । सधैँ पीडाकै पहाडमा जीवनभरि आमा अलमलिइरहन्छिन् । आफ्नी छोरीलाई पराइ घर अन्माएर पठाउँदा आमा धुरुधुरु रुन्छिन् । भक्कानिएर भावुक बन्छिन् । त्यसबेला आमाले आफू पनि आफ्नी आमालाई यसरी नै रुवाएर आएको हो भन्ने कुरा बिर्सिन्छिन् सायद । घरबाट छोरा परदेश जाँदा पनि आँसुमै डुब्छिन् आमा । आमाका लागि सुखका दिन धेरै हुँदैनन् ।

आमाको आदर नगर्नु हाम्रो बेइमानी हो । आमाको सेवा नगर्नु हाम्रो अधर्म हो । धोखाधपेडी सबै हो । आफ्नी मात्र होइन अरूका आमा पनि आमा नै हुन् । सानीआमा, ठूलीआमा, काकीआमा, सासूआमा, धाइआमा जस्तै अरू धेरै आमा हुन्छन् । ती सबै आमाप्रति हामीले आदर, सत्कारको आदरणीय भाव देखाउन सक्नुपर्छ । त्यसैले आमालाई सधैँ खुसी राख्न सक्नुपर्छ सन्तानले । आमाको खुसीमा सन्तानको उज्यालो भविष्य सुनिश्चित छ । आमाको पाऊमा शिर राख्ने सन्तानले दुःख पाउँदैन, अभागी हुँदैन त्यस्तो सन्तान । 

आमाले रिस पछाडिको पीडा बुझ्छिन् । आमाले हाँसोको कारण बुझ्छिन् । भनिन्छ, आमाको काख नछोडेको मानिसलाई दुःख भन्ने कुरा थाहा हुँदैन । त्यसैले आमाका लागि सन्तान टाढिनु हुँदैन । तर आमाकै काखमा लाडिएर सधैं केटाकेटीपनमै रहनु पनि उचित होइन । सधैँभरि आमाकै काखमा लुटुपुटु गरिरहन पनि सुहाउँदैन ।

सासूको गाली खानुपर्छ । बुहारीको बुहार्तन पनि व्यहोर्नु पर्छ आमाले । तसर्थ आमा भगवान हुन् । हरेक समय, हरेक सम्बन्धलाई मिलाउने, सजाउने आमा नै हुन् । तर कहिल्यै नथाक्ने । यस्ती आमा हामीले यो संसारमा कहाँ पाउनु ? त्यसैले ‘स्वर्ग’ हुन् आमा । मन रमाउने सुन्दर ‘प्रावृmतिक छटा’ हुन् आमा ।

आमाको महŒव सबैभन्दा बढी टाढिनेलाई हुन्छ । त्यसभन्दा अरू बढी आमा नहुनेलाई हुन्छ । आमाको अभावमा टुहुरा हुने सन्तानको जीवनमा आमाप्रति हार्दिक श्रद्धा सधैँ आँसुले भरिएको हुन्छ । आफूलाई जन्म दिने आमाको अभावमा आमा सम्झेर रुन्छन् । सानैमा आमा गुमाउने वा आमाको मुख नदेख्नेहरू आमाको कल्पनामा झन् बढी व्यथित बनेर रुन्छन् । 

आखिर आमाको अनुपस्थितिमा सबैको मन अनाथ एक्लो हुन्छ । दुःखी बन्छ । आमाको काखमा साथ नपाउँदाको पीडा भोग्नेलाई नै थाहा हुन्छ । त्यसैले आमा नभए हाम्रो ‘आगमन’ असम्भव छ । आमा नभए हाम्रो जीवनको ‘शुभारम्भ’ हुने थिएन । आमाले जन्म दिएकोले हामी छौं । हाम्रो ‘सुन्दर जीवन’ छ । हामीले ‘आफ्नो जीवन’ भनेर बाँच्न पाएका छौं । त्यसैले आमाको सम्मान गर्ने हाम्रो सभ्य समाज छ । 

आमाबाट हामीले ‘माया’ पाउँछौं । आमाको निकटतामा मायाको ‘मिठास’ हुन्छ । मानिसलाई तनावबाट मुक्तिका लागि आमासँगको आत्मीय संलापले ‘धैर्य’ प्रदान गर्छ । त्यस्तै त्यो अवस्थामा ‘सान्त्वना’ तथा त्यसमा ‘मुक्ति’ मिल्ने गर्छ । अनुसन्धानकर्ताले मानसिक तनाव मुक्तिका लागि आफ्नी आमाको आवाजले तनावग्रस्त नसालाई ‘आराम’ मिल्ने बताएका छन् । यसबाट मुक्तिको उपाय पत्ता लागेको दाबी गरेका छन् । 

तनावग्रस्त मानिसले आफ्नी ‘आमासँग कुरा गर्दा तनाव अवस्थाको अन्त्य हुने विश्वास गरिन्छ । वास्तवमा यसले पनि आमाको महत्वलाई प्रकाशमा ल्याउने काम गर्छ । आमाको यस्तै महत्वलाई मनन गर्दै ‘मातृत्व पूजन’ को परम्परा हाम्रो समाजमा छ । हामीकहाँ निकै पुरानो र प्रसिद्ध संस्कृतिका रूपमा यो प्रचलन रहेको छ । आफूलाई जन्म दिने आमाप्रति हामीले हरेक दिन सम्झना र श्रद्धा गर्नुपर्छ । तर व्यस्त जीवनमा यो सम्भव छैन । त्यसैले वर्षको एकपटक एकदिन भए पनि आमालाई सम्झेर सम्मान गर्दै आएका छौं । 

आमा नभए हामी छैनौं । आमाविनाको संसारकै कल्पना कदापि गर्न सकिँदैन । आमाको महŒवको व्याख्या पनि गर्न सकिँदैन । आमाको वात्सल्यले हामी सधंै गतिशील रहन्छौं । त्यसैले यो दिन आफ्नी आमालाई खुसी पार्ने अनेक उपायको उपयोग गरिन्छ । आमा नहुनेहरू आमाका नाममा पूजा गरी दान दिन्छन् । आमाको आवश्यकता र महŒवले यसै दिन (मातातीर्थ औंसी) ले विशेष चासो बटुल्छ । आमाप्रति भक्ति गरिन्छ । आमाको ऋण तिर्ने अवसरका रूपमा हामीले आमाबाट क्षमादान लिने चेष्टा गर्छाैं । यसलाई हामीले एउटा सुनौलो दिनका रूपमा लिँदै आएका छौं । यस्तो महत्वपूर्ण दिनले वर्षमा एकपटक उत्सवकै रूप लिएको छ । आमाको भूमिकाप्रति हामी सबैले हार्दिक वृmतज्ञता ज्ञापन गर्ने गरेका छौं । ३६५ दिनमा एकदिन हामी तिनै आमाको ‘पूजा’ गर्छौं । ‘मातृत्वपूजा’ को पर्वमा सामेल हुन्छौं । आमाको काखमा लुटपुटिन्छौं । आमाको पाऊमा नतमस्तक हुन्छौं । आमाप्रति कृतज्ञता ज्ञापन गर्छौं । 

अन्ततः हामी सबै मातृस्नेहमा चुर्लुम्म डुबेर जीवन बुझ्न सक्ने भएका छौं । gyanendravivas@gmail.com

प्रकाशित: १९ माघ २०७४ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App