४ वैशाख २०८१ मंगलबार
अन्य

पाठ्क्रम प्रविधिमैत्री हुनुपर्यो

हरिशरण ढुङ्गाना
नेपाली शिक्षक, ग्यालेक्सी पब्लिक स्कुल
निजी विद्यालयका बालबालिका नेपालीमा किन कमजोर भएका होलान् ?
विद्यालय तहको अन्तिम नतिजा एसइइलाई आधार मान्ने हो भने सरकारी विद्यालयको तुलनामा नेपाली विषयमा पनि निजी विद्यालयको नतिजा रामै्र देखिन्छ । तर परीक्षामा अङ्क ल्याउनु र सिक्नु निकै फरक कुरा हुन् । निजी विद्यालयका बालबालिकाले प्रभावकारी रुपमा नेपाली सिक्ने अवसर नै पाएका हुँदैनन् ।

अङ्ग्रेजी माध्यममा पढाइ हुने विद्यालयमा वातावरण नेपाली भाषामा बोल्ने, लेख्ने नभएपछि नेपाली सिकाइ कमजोर हुनु स्वाभाविक हो । अङ्ग्रेजी भट्याउँदा महात्म्य सम्झने पुस्ताले आफ्ना सन्ततिले नेपाली भाषामा राम्रो गरून् भन्ने चिन्तनमा दरिद्रीपन देखाउँदा कमजोर भएका हुन् । अर्को कुरा नेपाली भाषा मातृभाषा भएका र इतर भाषीलाई एकै ठाउँमा राखेर पढाउँदा समस्या सिर्जिएको हो । घरायसी वातावरण अङ्ग्रेजी र नेपाली वा हिन्दी मिश्रित भाषा बोलिने हुँदा परीक्षामा मात्र शुद्ध लेखन हेरिनु गलत हो । विद्यालय प्रशासन, शिक्षक र अभिभावकमा जसरी पनि पास गराउने बहानामा घोकाउने प्रवृत्तिले निजी विद्यालयका बालबालिकामा नेपाली सिकाइ दिगो हुन सकेको पाइँदैन ।

नेपाली भाषा शिक्षणमा तपाईंले के कस्ता समस्या भोगिरहनुभएको छ ?

पहिलो कुरा अङ्ग्रेजीबाट उल्था गर्नुपर्ने शब्द र नेपालीमा रहेका शब्दलाई अङ्ग्रेजीमा बुझाउनुपर्ने शब्दभण्डारको कमी छ । त्यसैगरी पर्याप्त मात्रामा पाठ्यसामग्री छैन भने शिक्षण सामग्रीका रुपमा सन्दर्भ पुस्तक, मोबाइल एप्स, चलचित्र आदि नेपाली भाषामा प्रचुर मात्रामा नपाइनुले शैक्षणिक कार्यकलापका क्रममा अरुको भाषा र संस्कृतिमा भर पर्नुपर्ने अवस्था छ । दिनभरमा एक ‘पिरियड’ मात्र नेपाली पढ्दा अन्य विषयको प्रभावले नेपाली विषय निरीह बनेको छ । विद्यालयबाट संस्कृत विषय हटाउँदा माउ मरेको बाछाबाछीजस्तो भएको छ नेपाली भाषा ।
नेपाली भाषा विषयको पाठ्यक्रम र सिकाइ प्रक्रिया कस्तो लाग्छ ?

विद्यालय तहको नेपाली पाठ्यक्रम प्रविधिमैत्री छैन । पाठ्यक्रम बनाउँदा बालबालिकाको रुचिलाई ख्याल गरिएको पाइँदैन । उमेर समूह र भाषाभाषीको समूह आदिको पटक्कै ख्याल नगरी सबै कुरा एकै ठाउँमा समेटिएको छ । पाठ्यक्रम निर्माणका क्रममा कक्षामै शिक्षण गरेका शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गरी समय सापेक्ष बनाउनुपर्नेमा त्यसलाई पूरै बेवास्ता गरिएको छ ।

विद्यालयमा अङ्ग्रेजी अनिवार्य रुपमा बोल्नुपर्ने नत्र दण्ड भोग्नुपर्ने प्रवृत्तिप्रति यहाँको धारणा के छ ?
निजी विद्यालय व्यापारीकरण गर्दै आयआर्जन गर्ने उद्देश्यले सञ्चालन भएका हुन्छन् । त्यहाँका अभिभावकको धारणा पनि सन्तानले अङ्ग्रेजीमा फरर बोल्न सक्ने बनोस् तर नेपाली जेसुकै होस् भन्ने पाइन्छ । नेपाली बोल्दा गर्व गर्नुपर्नेमा अङ्ग्रेजी बोलेमा उसलाई विज्ञ, प्रतिष्ठित, सभ्य आदि सोच्नु किमार्थ राम्रो होइन । प्राविधिक विषय पढ्न नेपाली आवश्यक छैन भनेर जगदेखि नै त्यसलाई जोड नदिने परिपाटी छ । अङ्ग्रेजी सिक्नकै लागि विद्यालय प्रशासनले दण्डसमेत दिने र अभिभावक तथा सरोकारवाला निकाय तैँ चुप मै चुप बन्ने परिपाटी कदापि ठिक होइन ।

नेपालीमा जत्ति लेखे पनि गुरुले नम्बर थोरै दिनुहुन्छ भन्ने बालबालिकालाई के भन्नुहुन्छ ?
नेपालीका अधिकांश शिक्षकहरुमा उत्तरपुस्तिका परीक्षण गर्दा अङ्क थोरै दिने पुरानो मानसिकता कायमै छ । त्यस्तै उत्तर कुञ्जिकाअनुसार अङ्क नदिने, विषय शिक्षक÷सम्बन्धित कक्षा पढाएकाले उत्तरपुस्तिका परीक्षण नगर्ने र उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीको तहबाट नहेरी आफ्नो तहबाट हेर्नाले कम नम्बर दिइएको पाइन्छ । विद्यार्थीले पनि स्वयम् बोलिरहेको विषय त हो, आइहाल्छ नि भन्ने सोचाइ राख्ने, लेखाइ भने स्तरीय नहुने र बढी अङ्क अपेक्षा गर्नाले तर अङ्क कम पाएका हुन् ।

बालबालिकालाई नेपालीमा आकर्षित गर्न निजी विद्यालयले के गर्नुपर्ला ?

निजी विद्यालय सञ्चालकहरुमा नेपाली विषयमैत्री बनाउँदा विद्यालय डुब्छ भन्ने मानसिकताले जरो गाडेको पाइन्छ । नेपाली भाषामा अतिरिक्त क्रियाकलाप अति न्यून मात्रामा गरिन्छ । नेपाली विषय जसले पढाए पनि हुन्छ भनेर योग्य, दक्ष र तालिम प्राप्त शिक्षकलाई अवसर नै दिएको पाइँदैन ।

विद्यार्थीका रुचि, अभिभावकका अपेक्षा र समाज वा राष्ट्रको उद्देश्य पूर्ति गर्न नेपाली विषयलाई बालमैत्री बनाउन पाठ्यक्रम, पाठ्यपुस्तक तथा सन्दर्भ सामग्री विकास गर्ने र वातावरण सोहीअनुरुप बनाउनुपर्छ । त्यस्तै जननी भाषा (संस्कृत) लाई अनिवार्य बनाएमा पनि नेपाली सिकाइ प्रभावकारी र दिगो हुन्छ । नेपाली भाषा सिकाउँदा भाषा शिक्षणका विश्वव्यापी मान्यता सुनाइ, बोलाइ, पढाइ, लेखाइजस्ता सीपलाई कमै शिक्षकले मात्र महत्त्व दिएको पाइन्छ । भाषा कक्षामा भाषा सिकाउने हो, विषयवस्तु वा साहित्य घोकाउने हैन भन्ने पाठ्यक्रमको उद्देश्यलाई ख्याल नगरेसम्म समस्या समाधान हुन सक्दैन ।

 

प्रकाशित: २० माघ २०७४ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App