५ वैशाख २०८१ बुधबार
समाज

विद्यार्थीले उडाए ‘ड्रोन’

काठमाडौं – काठमाडौंको एक विद्यालयमा कक्षा ७ मा पढ्ने विद्यार्थीले मानवरहित विमान (ड्रोन) बनाएका छन् । काडाँघारीस्थित अक्षरा स्कुलमा पढ्ने १३ वर्षीय केल्बिन संग्रौलाले सेन्सर रिमोट फ्रिक्वेन्सीमार्फत बनाएको ड्रोन उडाएका हुन्।

उनले यो ड्रोन तीन महिना लगाएर बनाएको जानकारी दिए । उनले बनाएको ड्रोनले दुई केजीसम्मको सामान बोक्न सक्छ भने २.३ किलोमिटर टाढासम्म पुग्न सक्छ । उक्त ड्रोन र अन्य सामग्रीसहित शुक्रबार अक्षरा स्कुलमा शैक्षिक प्रदर्शनी पनि आयोजना गरिएको विद्यालयकी प्रध्यानाध्यापक अन्जु भट्टराईले जानकारी दिइन् । उनका अनुसार विद्यार्थीले आफ्नै प्रयासमा ड्रोन बनाएर उडाएका थिए।

संग्रौलाले ड्रोन बनाउँदा अर्डिनोको प्रयोग गरेको जानकारी दिए । ‘मैले फेसबुकमा एउटा ड्रोन उडाएको भिडियो देखेको थिएँ, त्यो देख्दा मलाई पनि त्यस्तै काम गरौं भन्ने लाग्यो अनि अभ्यासतिर लागें,’ उनले सुनाए । उनले ड्रोन बनाउने सामान नेपालमै पाइने भएकाले युट्युबको सहायतामा ती सामान ल्याएर फिटिङ गरेको जनाए । ड्रो बनाउन उनले १५ हजार रुपैयाँ खर्चिएका थिए । ‘ड्रोन धेरै किसिमका हुने रहेछन्,’ उनले भने, ‘मैले बनाएको ड्रोनलाई ‘क्वाट कप्टर’ भनिन्छ, यसमा चारवटा पखेटा छन्।’

उनले बनाएको ड्रोनले फोटोग्राफी र रेसिङको काम गर्छ । यो उडाउन रिमोट कन्ट्रोल, ल्यापटप र ड्रोनबीच कनेक्सन हुनुपर्छ । यसमा तीनदेखि १६ वटासम्म मोटर पनि हुन्छन् । मोटरले फ्यान नियन्त्रण गर्ने काम गर्छन् । मोटरमाथि ‘प्रोपेलर्स’ पनि राखिएको हुन्छ । यसको काम गति नियन्त्रण गर्नु हो ।  ड्रोनको सबैभन्दा माथि कम्पास हुन्छ । यसको काम दिशा निर्देश गर्नु हो । रिमोट कन्ट्रोलले यसलाई नियन्त्रण गर्छ । यसको तल्लो भागमा क्यामेरा हुन्छ।

 

प्रकाशित: २० माघ २०७४ ०२:१२ शनिबार

विद्यार्थीले उडाए ड्रोन