त्यो बेलाको ‘अन्धवेग’

शनिबार, २० माघ २०७४, ०८ : ०५ नागरिक


प्रचण्ड मल्ल
वि.सं. १९९५ तथा वि.सं. १९९६ मा नाट्यसम्राट बालकृष्ण समको लेखन तथा निर्देशनमा दरबार स्कुलका छात्रहरू कृष्णप्रसाद रिमाल, गोपीनाथ अर्याल, कृष्णप्रसाद तिमिल्सिना, गोविन्दप्रसाद तिमिल्सिना, रामकेशरी बस्नेत, गंगाबहादुर बस्नेत तथा अरु विद्यार्थीलाई पनि रंगमञ्चमा उतारी अभिनय कलाको विकासमा महत्वपूर्ण टेवा दिए ।

सम लिखित तथा प्रकाशित नाटकमध्ये सामाजिक नाटक ‘अन्धवेग’ प्रदर्शन गर्न २००९ सालमा तात्कालिक ख्याति कमाएको सांस्कृतिक संस्था ‘जनकला केन्द्र’ का संस्थापक अध्यक्ष बिजु बज्राचार्यले यो नाटक मञ्चन गर्ने योजना बनाए । नाटककार समसमक्ष उक्त नाटक मञ्चन गर्ने इच्छा प्रकट गरे र निर्देशन पनि परिदिने अनुरोध गरे । समले उनको आग्रह सहर्ष स्वीकार गर्दै भने, ‘नाटयाभिनयमा हाम्रा प्रतिभाशाली अभिनेताद्वय कृष्णप्रसाद रिमाल र गोपीनाथ अर्यालसित पनि नाटक निर्देशन गरिदिन अनुरोध गर्नुस् ।’ समको सल्लाहअनुसार ती दुवै प्रतिभाशालीसित समको विचार व्यक्त गर्दै निर्देशन गरिदिन अनुरोध गरे बिजु बज्राचार्यले ।

आफ्ना गुरु समको इच्छा नकार्ने कुरै थिएन । अन्धवेग शब्दअनुसार यसको कथा वस्तुको गहिराइमा डुबी अभिनेता निर्देशक कृष्णप्रसाद रिमाल, अभिनेता निर्देशक गोपीनाथ अर्याल नाटक निर्देशन गर्ने प्रयासमा एक जुट भए । दुवै निर्देशक नाटकको तीन प्रमुख पात्र गरुडध्वज, गरुडध्वजकी पत्नी पम्फा र गरुडध्वजका भानिजभाइ जयवीरको चरित्र एवं तिनको मानसिक द्वन्द्वमा गहिरिएर विचार गरी दुःखान्तीय त्रिकोणात्मक नाटक मञ्चन गर्न अघि सरे ।

नाटकको कथावस्तु कामवासना तृप्तिमा आधारित दुःखान्त हुनाले दर्शकको हृदयमा दुःखान्तीय किलो गाड्न कसरी सकिन्छ भन्ने नै मुख्य कुरा भएकाले र नाटकको केन्द्र बनेकी पात्र पम्फाको अतृप्त कामेच्छाको मानसिक द्वन्द्व उकास्ने र प्रकाश पार्ने प्रयासमा लागे ।मनोवैज्ञानिक यौनान्धवेग भित्रभित्रै गुम्सेर रहेको पम्फाको कामवासना तीव्र हुँदै जाँदा त्यसको आवेगले वासनामूलक आवेग सहन नसकी त्यो अन्धवेगको आँधीबेरीको वेग थाम्न नसकेको कुरा दर्शकमा कसरी दर्शाउने भनी गहिरिएर विचार गर्न थाले ।

समको नाटक ‘प्रेम’, ‘मुकुन्द’, ‘इन्दिरा’, ‘प्रह्लाद’ नाटकहरूमा समकै निर्देशनमा अभिनय गरी निर्देशन कलाको पनि अनुभव बटुलेका अभिनेता कृष्णप्रसाद रिमाल र गोपीनाथ अर्याल नाटकको कथावस्तुमा भएको मानसिक द्वन्द्वात्मक विचारहरू जुटाएपछि नाटककार निर्देशक समसमक्ष निर्देशनमा आफूहरूले प्रयोग गर्ने विचारहरू व्यक्त गर्दै नाटकको रिहर्सल अगाडि बढाउन समको उपस्थिति अनिवार्य भएको विचार राख्न समको निवास ज्ञानेश्वर पुगे ।समले कृष्णप्रसाद रिमाल र गोपीनाथ अर्यालबाट निर्देशकीय विचारहरू बुझेपछि निर्देशकद्वयले गरेको कुरा मनासिब रहेको र उनीहरूकै विचारअनुसार निर्देशन गर्ने आफ्नो मनसाय व्यक्त गरे ।

सम आफू पनि रिहर्सल सघाउन जाने भएपछि निर्देशकद्वय हर्षित भए । सम दुवै निर्देशकको टेवा बनी आफ्नो नाटकको कथावस्तु, पात्रको चरित्र, रंगमञ्च सज्जा आदिमा आफ्नो विचार दिँदै गए । अस्वस्थताले गर्दा गरुडध्वजको कामवासना शिथिल हुँदै गएको पम्फाले अनुभव गरेकी हुनाले आफूलाई यौनतृप्ति गराउन नसकेको र आफ्नो कामेच्छा पूर्ति हुन नसक्दा आएको प्राकृतिक, मानसिक तनाव बढ्दै जाँदा पम्फामा कसिँदै गएको कामोत्तेजना दर्शकसामु दर्शाउने र यौनानन्द नपाएकी तिनीलाई कामवासनाले गाँज्दै गएको अतृप्त यौनवासना के कसरी दर्शकसामु दर्शाउने भन्ने नाटककार एवं निर्देशकहरू यस गुन्थनलाई लिएर घोत्लिन थाले ।

यथार्थवादी अत्याधुनिक यस नाटकले बाह्य द्वन्द्वभन्दा आन्तरिक द्वन्द्वले कथावस्तुलाई कस्दै लगेको हुनाले निर्देशक त्रयका लागि जटिल तथा बोझिल विषय हुँदै गएको अनुभव पनि गर्न थाले ।
नाटकमा नाटककारले पम्फा र गरुडध्वज सयन कक्षमा कुनै रात एकसाथ रहेको देखाएका छैनन् । घरानिया घरकी पम्फाको यौनावेग जयवीरको प्रवेश अघि तिनीमा भएको यौनतीर्खा नाटकारले दर्शाउने प्रयास नगरिदिँदा जयवीरको प्रवेशपछि अचानक नाटकले कथावस्तुमा हलचल मचाइदिन्छ ।

हुन त यस्तो कार्यव्यापार आन्तरिक रूपमा गुम्सिएर वास्तविक जीवनमा पनि रहने भएकाले पाठक वा दर्शकलाई यस्तो अनुभव गर्न नाटकको कथावस्तु छाडिएको हुन्छ । हाम्रो सामाजिक संस्कृतिमा पम्फामा भएको अतृप्त यौनान्धता उदांग पारेर कसरी प्रस्ट्याउने भन्ने पनि निर्देशकहरूको मस्तिष्कमा कठिन समस्या देखापर्यो ।यस्ता कुराहरू प्रस्ट रूपमा दर्शाउँदा सभ्य संस्कृतिले स्वीकृति नदिने हुन् कि भन्ने हुनाले यसमा विशेष ध्यान दिनुपर्दा निर्देशकहरूलाई विशेष सोच्न लगायो, नाटकको कथानकले ।

वास्तवमा गरुडध्वजको भानिजभाइ जयवीर कथावस्तुमा प्रवेश नभएसम्म उपरोक्त कार्यव्यापार दर्शक सामु प्रतीकको रूपमा भए पनि दर्शाउन सकिएन भने जयवीरको प्रवेशपछि पम्फाको भित्र रहेको सुषुप्त अतृप्त यौनेच्छा तथा उत्तेजना एकाएक प्रस्तुत गर्दा अप्राकृतिक हुन जाला कि भन्ने पनि विचार गर्न थाले । जयवीरको प्रवेशले पम्फाभित्र गुम्सेर सुषुप्तावस्थामा रहेको कामोत्तजना समुद्रको छाल उर्लेर आएको ज्वारभाटा समान उच्च कामोउत्तेजनाको शुष्क भूमि सिञ्चन गर्न आएको छाल भन्ने अनुभव गराउन सकिएन भने नाटकले देखाउन खोजेको लक्ष्यसम्म पुग्न नसकिएला भन्ने सोच्न थाले ।
नाटककार चाहन्थे अन्धवेगको कथानकको गहिराइमा सूक्ष्मातिसूक्ष्म क्रियाकलापमा विचार गरी यथार्थ जीवनको गति प्रयोग गरी दर्शकमा प्रभाव पार्न सकियोस् ।

यिनै कुरा लिएर निर्देशकहरू नाटकको आन्तरिक गहिराइको स्वाभाविक तथ्यलाई दर्शकसामु प्रस्तुत गर्न कल्पनाशील भई कार्यमा संलग्ग भए ।नाटकको कुरा गर्दै अभिनेता, निर्देशक कृष्णप्रसाद रिमाल भन्नुहुन्थ्यो, ‘यस्तै कुरा एकाध नारीमा देखिने गरेको छ । आफ्नो स्वार्थअनुकूल कार्य गरी स्वार्थ पूर्ति गर्न जस्तोसुकै जोखिम कार्य गर्न हिच्किच्याउँदैनन् । नारी समाज संस्कृतिको सत्वलाई बिर्सी भर्खरकी नवयुवती होस् अथवा अधबैंसमा प्रवेश गर्न थालेकी नारी होस्, नारी अस्तित्वतिर ध्यान नदिई काम गर्न अघि सर्छन् । यसरी एकाध नारी कामवासना अघि सारी, कामोत्तेजक मुस्कानले पुरुषलाई आफूतिर आकृष्ट गर्ने निपुण पनि देखिएको छ । यसरी आफ्नो स्वार्थसिद्ध गर्न जस्तोसुकै उमेरमा पुरुष सहवास गर्न तयार हुँदै मधुर मुस्कुराहट एवं हावभाव कटाक्षले आकर्षित गर्छिन् ।’

‘अन्धवेग’की नायिका पम्फा यस्तो नारीको ज्वलन्त उदाहरण हुन् । यिनीले आफूभन्दा नौ वर्ष कान्छो भानिजभाइलाई अनेक कटाक्ष तथा कामोत्तेजक मुस्कानले आकृष्ट गर्दै उनीसँग सहवास गर्न उत्तेजित भई आफ्नो इच्छा पूर्ण गरिदिओस् भनी दिउँसै आफ्नो शरीर निछावर गर्छिन् ।कृष्णप्रसाद रिमाल सिलसिला अगाडि बढाउँदै भन्दै जानुभयो ।‘चरित्रं परमं धनम्’ यो बहु उद्धृत उक्ति हो । वास्तवमा यो सत्य हो– मानिसले सम्पत्ति हरायो वा गुमायो भने केही गुमाएको छैन भन्ने हुन्छ । सम्पत्ति कमाउन सकिन्छ र  स्वास्थ्य खराब भयो भने केही भयो भनी ठान्नुपर्छ । तर, चरित्र बिग्रियो भने मानिसले जीवनमा सबै कुरा गुमायो भनी ठाने हुन्छ ।कस्तो ध्यानयोग्य, मनन गर्नुपर्ने कुरा ।

यो कस्तो नाटक लेखिदिनुभयो समजीले, उहाँले मलाई यो नाटक सत्य घटनामा आधारित छ भनी भन्नुभएको थियो । अँ अब नाटकबारे केही कुरा गर्छु–
पथभ्रष्ट भएकी पम्फाको जयवीरसँग अनैतिक सम्बन्ध रहेको कुरा बिस्तारै–बिस्तारै पम्फाकी नोकर्नी मुगा, गरुडध्वजको जजमान धुरानी, गरुडध्वजकी फुपू ठूल्नानी, जयवीरको दौँतरी बैकुण्ठ आदि सबैले चाल पाउँछन् । नोकर्नी, जजमान, बैकुण्ठ यी सबै परिवारबाट बाहिरका चरित्रहरू हुन् । यिनीहरूबाट छरछिमेककाहरूले पनि चाल पाउँछन् ।

पम्फाले कामवासनामा लिप्त भई जयवीरसँग सम्बन्ध राख्न खोजेको थाहा पाएर सबै घृणा गर्छन् तर पम्फा आफ्नो स्वार्थपूर्तिका लागि जयवीरसँग लहसिन छोड्दिनन्, लुकिछिपी ।  यता वासनारूपी अन्धआवेगले ठेलिएकी आफ्नी स्वास्नी पम्फा र भानिजभाइबीच भएको अनैतिक सम्बन्धको झझल्को चाल पाएका गरुडध्वजमा शारीरिक अस्वस्थता छँदै थियो । त्यसमाथि आफ्नी स्वास्नी र भानिजबीच भएको सम्बन्धले गर्दा ऊ मानसिक तनावले झन ग्रसित हुन पुग्छ ।पम्फा र जयवीरबीच भएको वासनामयताको सम्बन्धले कुनै दिन अवश्य डरलाग्दो विकराल रूप लिने छ भन्ने देख्छ जयवीरको दौँतरी बैकुण्ठ र चिन्तित हुन्छ ।

पम्फाले आफ्नो स्वार्थसिद्धिका लागि नारित्वमाथि नै लाञ्छना लाग्न सक्ने कुरा विचारै नगरी स्वार्थसिद्ध गर्न आफूलाई अर्पण गरेर यौनान्धमा चुर्लुम्म डुब्दा अन्तमा दारुण घटना घट्छ । जयवीर गरुडध्वजको हातबाट मारिन्छ । गरुडध्वज विष खाई आत्महत्या गर्छ । यतिबेला नै गरुडध्वजको अवस्था बुझ्न पुगेकी पम्फा गरुडध्वज मरेको देखेर अत्तालिई भ¥याङमा पछारिएर अन्धवेगको परिणामस्वरूप मृत्युवरण गर्छिन्।
नाटक यही टुंगिन्छ ।
कृष्णप्रसाद रिमाल अगाडि भन्नुहुन्छ–
नाटककी प्रमुख स्त्री पात्र चरित्र नाटककार समले सत्य घटनालाई लिएर बहुतै मार्मिक तरिकामा लेखिदिए– उहाँ भन्नुहुन्छ– नाटकले यो पनि व्यक्त गर्छ ः
‘स्त्री चरित्र पुरुषोष्य भाग्यम्
दैवो नजानाति कुतः मनुष्य !’
उहाँ अगाडि भन्नुहुन्छ–
नाटक अन्धवेग यस्तै जटिल कथावस्तु मनोभावको संघर्षमा कसिएरै रहेकै कारण हामीले नाटकको मञ्चनमा कुनै कमी नआओस् भन्ने प्रबल इच्छा ग¥यौ“ । यसर्थ नै हामीले निर्देशन गर्दा बहुतै मथिङ्गल गर्नु प¥यो । बैकुण्ठको घरकोठामा दुवै पुग्नेबित्तिकै पम्फा ढोका लगाउँछिन् । निर्देशकीय दृष्टिकोणले कामवासनाले सताइएकी पम्फा बन्द कोठाभित्र दुवैबीच हुन सक्ने क्रियाकलाप आदि वास्तविक दृश्य देखाई दर्शकलाई आकृष्ट गर्न सकिने कुरामा पनि छलफल भयो तर यो अलि उच्शृंखल हुन जाने भएकाले यतातिर ध्यान दिइएन । फलस्वरुप नाटक मञ्चनले दर्शकको मन छुन सफल भयो ।

हामी नाटक सिद्धिनेबित्तिकै दर्शकको मनसाय बुझ्न प्रेक्षालयतिर गयौँ । नाटककी नायिका शान्ति मास्केजी पनि साथै हुनुहुन्थ्यो । शान्तिजीलाई देख्नेबित्तिकै एकजना अधबैंसे महिला रिसले थुक्क गर्दै भनिन्, ‘यस्ती स्वास्नी मानिसको त मुख देखियो शुभ साइतमा भने काम नै बिथोलिन्छ ।’ भन्दै तीव्र गतिमा अगाडि बढिन् । मलाई लाग्यो, यस्तै प्रभाव अरु नारीहरूमा पनि परेको हुनुपर्छ, यो हाम्रो निर्देशनको सफलता हो । यो घटना मैले समजीलाई पनि भने । मेरो कुरा सुनेर उहाँ निकै खुसी हुनुभयो र मलाई बधाई भन्नुभयो ।
वास्तवमा गोपीनाथ अर्याल गरुडध्वज भई, पुष्करप्रसाद लामिछाने ‘नवीन’ जयवीर भई र शान्ति मास्के पम्फा भई प्रभावकारी अभिनय गरी नाटकको कथावस्तुलाई उच्चस्थानमा पुर्याउन सफल भएका थिए ।

निर्देशक रिमाल पुनः भन्नुहुन्छ–

नाटक रिहर्सल गर्नुअघि पात्रहरूको छनोटको सिलसिलामा मुख्य नायिका पम्फाको खोजी हुन थाल्यो । नाटककारले नायिका पम्फाको शारीरिक बनोट तिनीको सुन्दरताबारे जसरी व्यक्त गर्नुभयो , त्यसमा विचार गर्दा हामीले छनोट गरेको नायिका पात्र शान्ति मास्केजीलाई जतिबेला भेट्यौँ र छनोट गर्यौँ, त्यतिबेलाको तिनीको रूप सौन्दर्य देख्दा समजीले जसरी पम्फाबारे हामीलाई बताउनुभएको थियो, त्योभन्दा बढी शान्ति मास्केजीमा पायौँ । तिनीको रूप सौन्दर्य देख्दा जस्तोसुकै पुरुष तिनीलाई देखेर मोहित हुन सक्ने सौन्दर्य तिनीमा थियो । हामीले अन्धवेगको कथावस्तु जति सरल र सभ्य तरिकाले सुनाई टुंग्यायौँ, त्यतिबेला उहाँ केही समय स्तब्ध भई निकै सोच विचारमा अल्झिनुभएको उहाँको अनुहारको आकृतिले हामीलाई देखाइरहेको थियो । निकै समय केही बोल्नुभएन । हामी चिन्तित भयौँ । उहाँले नाटक खेल्नेबारे के कस्तो मनसाय व्यक्त गर्नुहुन्छ भन्ने कुरा विचार गर्न थाल्यौँ ।

शान्ति मास्केजीको हाँ र ना को समय कुर्दासम्म चिया सेलाइसकेको हामीलाई पत्तै भएन । निकै समय बितिसकेपछि उहाँले बहुतै साहस बटुली ‘खेल्छु’ भन्नुभयो । उहाँको दृढता उहाँको अनुहारको आकृतिले दर्शाएको हामीले अनुभव गर्यौँ । शान्तिजीको ‘खेल्छु’ शब्द हाम्रो कानमा गुन्जनेबित्तिकै हामी आल्हादित भयौँ । हाम्रो खुसीको सीमा नै नरहेको सबैले अनुभव गर्यौँ ।

अनि हामीले भन्यौँ, ‘शान्तिजी यो नाटक हो, अभिनय हो ।’ पम्फा नाम राखिएकी नाटककी नायिका हुन्, वास्तविक होइन । तपाईंले नाटककारले जन्माएको एउटी काल्पनिक नारी पात्रको अभिनय गर्ने हो पम्फा भई, पम्फा रूपको अनुकरण गरी । यो कुरा दर्शकले बुझ्छन् । शान्तिजी तपाईंले नाटक खेल्नु भनी स्विकारिदिनुभएकामा धन्यवाद ! हामी बहुतै खुसी छौँ ।शान्तिजी ! अभिनय गर्दा नाटकको मूलभाव व्यक्त गर्न निर्देशकले हरसम्भव प्रयास गर्नेछन् । त्यसमा कुनै किसिमको संकोच नमान्नुहोला ।

शान्तिजीले भन्नुभयो–
‘तपाईंहरूजस्तो घरानिया सभ्य व्यक्तिहरूसँग रहेर म नाटक खेल्दै छु । म कुनै किसिमको संकोच मान्नेछैन । तपाईंहरूको निर्देशनले जे भन्छ, त्यो गर्न तयार छु ।’
नाटकको निर्देशन सुरु भयो ।वास्तवमा नाटककी नायिका पम्फाजस्तो चरित्र चित्रण गरेर नारीलाई यस्तो चरित्रबाट सतर्क रहन उपदेश दिनुभएको हो कि भन्ने लाग्छ नाट्यसम्राट बालकृष्ण समले ।
(माघ २४ गते नाट्यसम्राट बालकृष्ण समको जन्म जयन्ती हो ।)
 
 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...