coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

फुटपाथको सकस

तपाईं राजधानी सहर काठमाडौंमा कसरी यात्रा गर्नुहुन्छ ? एक ठाउँबाट अर्को ठाउँमा जान हिँड्नुहुन्छ कि बस, माइक्रोबस, टेम्पुजस्ता सार्वजनिक सवारी–साधन प्रयोग गर्नुहुन्छ ? कि तपाईंसँग आफ्नै चारपांग्रे वा दुईपांग्रे निजी सवारी–साधन छ ?

जसरी यात्रा गरे पनि काठमाडौंमा यात्रा गर्ने र यहाँ बस्नेहरूले भोग्नुपर्ने र भोगिरहेको समस्याको सूची भने सानो छैन । कतै पैदलयात्रु हिँड्नका लागि सानो कुचुक्क परेको फुटपाथ छ । अलिकति फराकिलो फुटपाथ भए पनि त्यहाँबाट मोटरसाइकल गुडाइन्छ, वा जथाभावी पार्किङ गरिएको हुन्छ । कतै–कतै फुटपाथमै पसल थापिएका छन्।
कतै इन्धन हाल्ने सवारी–साधनको लाइन पनि फुटपाथमै हुन्छ । पुल्चोकको साझा पेट्रोल पम्प, प्रहरी मुख्यालय र जंगी अड्डामा रहेका पेट्रोल पम्पमा इन्धन भर्ने सवारीको बढी चाप हुन्छन्, यी क्षेत्रका फुटपाथ इन्धन भर्ने सवारीकै लाइनले भरिएका हुन्छन्, पैदलयात्रीको हक नै हुँदैन।

यति मात्र होइन, कतिपय ठाउँमा फुटपाथ नै बीचमा हराएका छन् । सडक विस्तारका क्रममा कतिपय ठाउँमा फुटपाथहरू घरको भित्तामा वा बिजुलीको खम्बामा पुगेर टुंगिन्छन्।

नयाँबानेश्वर बस्ने दाङका माधव पाण्डे घरदेखि कार्यालयसम्म पैदलै यात्रा गर्छन् । माथि उल्लेख गरिएका दृश्यका उनी दैनिक साक्षी हुन् । ‘फुटपाथमा हिँड्न गाह्रो हुन्छ । बाइक पार्किङ, चटपटे, पानीपुरीका ठेला त्यहीँ हुन्छन्,’ उनी भन्छन्, ‘कतिपयले त्यही बाटोबाट गाडी चलाउँछन् । तरकारी पसल समेत फुटपाथ छोपिने गरी राखेका हुन्छन् ।’ त्यसमाथि कतिपय पसलले आफ्नो ग्राहकका लागि समेत फुटपाथमै मोटरसाइकल र गाडी पार्किङ गर्न दिएबाट फुटपाथ झनै साँघुरो हुने गरेको उनको अनुभव छ।

‘दुर्भाग्यवश, त्यो खाल्डोमा परियो, लुगा फोहोर भयो अथवा घाउ चोट लाग्यो भने दोष कसलाई दिने ? आफूलाई ? सरकारलाई ? सडक विभागलाई वा महानगरपालिकालाई ?’

काठमाडौंको नयाँबानेश्वरदेखि भक्तपुरको गठ्ठाघरसम्म दैनिक पैदलयात्रा गर्दा र विभिन्न कामका सिलसिलामा काठमाडौंका अन्य ठाउँ हिँड्दा उनले निकै समस्या भोग्ने गरेका छन् । उनलाई काठमाडौंको फुटपाथमा यात्रा कष्टकर मात्र होइन, उत्तिकै असुरक्षित लाग्छ । ‘छरपस्ट विद्युत्, केबलका तारहरूले फुटपाथलाई अझ असुरक्षित बनाएको छ,’ उनी भन्छन् । विद्युत्को तारमा अल्झिएर बाटोमा लडेर चोट लागेको अनुभव उनीसँग छ।

‘विद्युत्का तारले सहर कुरूप बनाउनुका साथै हिँड्नेलाई मात्र नभएर बाइक चलाउनेलाई समेत अल्झाएर दुर्घटना गराउन सक्छ यो सरकारले  त्यसलाई व्यवस्थित कहिले बनाउँछ ?’ उनी आक्रोश पोख्छन् । काठमाडौं सहरको एक पैदलयात्रीका हिसाबले फुटपाथको समस्या समाधानका लागि तरकारी राख्न निश्चित क्षेत्र छुट्ट्याउनुपर्ने, फोहोरको व्यवस्थापन गर्नुपर्ने, बीच बाटोमा पार्किङ गर्नेलाई कारबाही गर्ने र पार्किङका लागि निश्चित क्षेत्र छुट्ट्याउनुपर्नेमा उनी जोड दिन्छन्।

अनामनगरको मदन भण्डारी कलेजमा कक्षा १२ मा पढ्ने सिर्जना ढुंगेल सिनामंगलदेखि कलेजसम्म हिँड्दै आउँछिन् । उनलाई पनि काठमाडौंको फुटपाथ कहिल्यै व्यवस्थित लागेन । अझ उनलाई चित्त दुख्ने कुरा भनेको दृष्टिविहीनहरूले पैदलयात्रामा भोग्ने गरेको समस्या हो । ‘दृष्टिविहीनहरू हिँड्ने खालका फुटपाथ भए पनि व्यवस्थित छैनन् । कतिपयलाई त्यो दृष्टिविहीनका लागि हो भन्ने थाहा छैन,’ उनी भन्छिन् । त्यसबाहेक, ह्विलचेयरबाट फुटपाथमा यात्रा गर्न पनि असम्भवजस्तै छ । असमान सतह भएको बाटो, खाल्डाखुल्डीले अपांगता भएका मानिसलाई झनै गाह्रो बनाउने उनी बताउँछिन्।

राजधानी सहरमा एक दशक अघिसम्म ट्राफिक लाइटहरू बल्थे । ट्राफिक प्रहरीको मात्र होइन, पैदल यात्रु र सवारी चालकको जीवन पनि सहज थियो । ट्राफिक लाइट नहुँदा अहिले काठमाडौंको सडक अस्तव्यस्त छ । सडक सुरक्षाको नियम पालना भएको छैन । रोक्नुपर्ने ठाउँमा गाडीहरू रोकिन्नन् भने ट्राफिक प्रहरीले रोक्दारोक्दै पनि झनै गाडी हुँइकाइएका दृश्यहरू पर्याप्त देख्न पाइन्छ।

ढुंगानाको अनुभवमा जेब्रा क्रसिङमा पनि गाडीहरू हुँइकिएर आउँछन् । निजी चारपांग्रेहरूले जेब्रा क्रसिङमा बाटो काट्न रोके पनि सार्वजनिक सवारी साधनहरू र निजी मोटरसाइकलहरूले खासै रोक्दैनन् । ‘बाटो काट्न आफैँ अगाडि स¥यो भने माइक्रोबस र बसहरू झनै हुइँकिएर ओभर टेक गर्छन् भने मोटरसाइकल चालकहरूलाई पनि हतार भइरहेको हुन्छ,’ उनी भन्छिन्।
ललितपुरको कुमारीपाटी बस्ने वसन्त केसीलाई थापाथलीमा रहेको आफ्नो कार्यालयबाट बस्ने ठाउँसम्म जान र आउन हिँड्न मनपर्छ । करिब चार किलोमिटर लामो बाटो हिँड्न उनलाई लगभग ४० मिनेट लाग्छ । उनी बाटो एकदम सहज र राम्रो भएर हिँडेका भने होइनन् । ‘बस वा माइक्रोमा जाउँ भने कार्यालय समयमा एकदम ठेलमठेल हुन्छ । खुट्टा हाल्ने ठाउँ पनि हुँदैन,’ उनी भन्छन् । गाडी भाडा तिर्दा पनि सवारीसाधनका चालक र परिचालकले गर्ने व्यवहारले पनि उनलाई गाडीमा यात्रा गर्न खासै मन लाग्दैन।

थापाथलीबाट कुपण्डोल, पुल्चोक, जावलाखेल हुँदै कुमारीपाटी पुग्ने उनले फुटपाथको दुर्दशा देखेका छन् । काठमाडौंका सहरमा धेरै ठाउँमा सडकबत्ती छैनन् । फुटपाथमा बिग्रिएका ढलका खाल्डा गनिनसक्नु छन् । कुपन्डोल हाइटबाट साझा पेट्रोल पम्पसम्म पुग्ने बाटोमा भएका यस्ता खाल्डाले गर्दा उनी अँध्यारोमा त्यो बाटो हिँड्न धक मान्छन् । ‘दुर्भाग्यवश, त्यो खाल्डोमा परियो, लुगा फोहोर भयो अथवा घाउ चोट लाग्यो भने दोष कसलाई दिने ? आफूलाई ? सरकारलाई ? सडक विभागलाई वा महानगरपालिकालाई ?’ केसी प्रतिप्रश्न गर्छन् । वर्षाैंदेखि यहाँका खाल्डाको साक्षी बनेका उनी अहिलेसम्म पनि ती खाल्डालाई पैदलयात्रुमैत्री बनाउनेतर्फ कसैले ध्यान नदिएको देख्दा अचम्म मान्छन् ।
काठमाडौंको समस्याको कथा यतिमा मात्र सीमित छैन । काठमाडौं धुलोमाडौं भएको निकै भइसक्यो । अहिले पनि लगभग पूरै काठमाडौं धुलाम्मे छ र हालै मात्र संसारको सबैभन्दा प्रदूषित सहर पनि बनिसकेको छ।

‘धुलो र धुवाँले गर्दा मास्क नलगाई हिँड्न सक्ने अवस्था छैन । लगाएको मास्क पनि एक दिनमै धुलैधुलो भएको हुन्छ,’ पाण्डे भन्छन् । यही धुलो धुवाँले गर्दा उनी पटकपटक बिरामी भइसकेका छन् र डाक्टरले उनलाई धुवाँधुलोबाट टाढा रहन सल्लाह दिने गरेका छन् । ‘धुवाँधुलोबाट बच्नका लागि काठमाडौंमा कहाँ जानु ? बन्द कोठाभित्र त केही दिनमा धुलैधुलो देखिन्छ । कि काठमाडौं छोड्नुप¥यो,’ उनी भन्छन्।

काठमाडौंमा धुलोको समस्या यस्तो भइसक्यो कि खानेपानीको धाराबाट पनि माटोको कण मिसिएको पानी आउँछ । यसले गर्दा हामीले पिउने पानीको माध्यमबाट हामीले माटो खाइरहेका छौँ । ‘मेरो घरमा आउने पानी एक हप्ता यत्तिकै एउटा भाँडामा राख्यो भने पिँधमा माटो थिग्रिन्छ । यस्तो पानी पिउँदा हाम्रो स्वास्थ्य कस्तो हुने होला ?’ उनीसँग प्रश्नैप्रश्न छन्।

प्रकाशित: २० माघ २०७४ ०२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App