coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

पट्यार नलाग्ने यार

प्रभाकर गौतम
हाम्रो निजी–सामाजिक जीवनमा थेगो बनिसकेको शब्द हो, ‘यार’ । यही शब्दलाई आख्यानकार नयनराज पाण्डेले आफ्नो पहिलो गैरआख्यान किताबको नाम दिएका छन् ।

शब्दकोशले यारलाई ‘मन मिलेको साथी÷हितले खाएको मित्र- दोस्त’का रूपमा अथ्र्याएको छ । साथै यसको दोस्रो अर्थ पनि उल्लेख छ, ‘अर्काकी स्त्रीसँग अनैतिक सम्बन्ध राख्ने व्यक्ति÷गुन्डो÷जार’ । सामान्य अर्थमा यारले दुई मित्रबीचको घनिष्ट सम्बन्धलाई इंगित गरे पनि लेखकका यारहरूमा पछिल्लो नकारात्मक अर्थ दिने खालका किस्साहरू पनि अटाएका छन् । त्यसैले जिग्री साथीलाई भनिने यारजस्तो मात्रै नभएर उनको यारको परिभाषा ‘उदार’ छ ।

मान्छेको जीवनयात्राका अनेक घुम्तीमा थरीथरीका मान्छेसँग जम्काभेट हुन्छ । केहीसँग गजबको सम्बन्ध गाँसिन्छ त केही देखादेख हुँदैमा दृश्यबाट अलप हुन्छन् । तर नजिक भए बाहेकका कतिपय मान्छे समेत हाम्रो स्मृतिका विभिन्न कारणले टाँस्सिएर बस्छन् । उनीहरूको व्यक्तित्व, कर्म या आदर्शले हामीलाई टाढैबाट भए पनि स्पर्श गरिदिन्छ, प्रभावित पारिदिन्छ ।

नयनले किताबमा चर्चा गरेका यारहरूमा यी सबै थरीका मानिसको चर्चा छ । उनका कतिपय यारहरू नजिकिन नपाउँदै उनीबाट टाढिएका छन् । केही यार अनेक असमझदारीका बाबजुद टाढिएर फेरि नजिक आएका छन् । केही यारलाई उनी जति सम्झन्छन्, उति नै रोमाञ्चित हुन्छन्, केही यारसँगका असमझदारीका घटनाले आजीवन पिरोलिरहेको छ । केही यार उनीसँग भौतिक रूपमा नभई मानसिक रूपमा मात्रै नजिक छन् त केही सम्झनामा मात्र सीमित ।

यार लेखकको जीवनमा जोडिन आइपुगेका असल र खराब दुवैखाले मित्रहरूको आलेख हो । यसभित्र नयनले मित्रताका अनेक आयाम अटाएका छन् । यो उनले पुरुष–महिला साथीहरूसँग जोडेका तीतामीठा सन्दर्भहरूको दस्तावेज हो । यसभित्र उनको तेस्रो उपन्यास ‘अतिरिक्त’मा मूलपात्र बनाइएका वास्तविक तेस्रो लिंगी (गुप्त) पात्रदेखि ‘उलार’ र ‘लू’मा छ्यासमिस भएर आउने अर्का वास्तविक पात्र सलीम (मजाक) को चर्चा पनि छ ।

नयन नेपालगन्जमा जन्मे, हुर्के, पढे । भारतीय सीमा नजिकको सहरमा हुर्केका उनमा हिरो बन्ने हुटहुटी जागेको थियो । यही हुटहुटीले बलिउड नायिका पद्मिनी कोल्हापुरेको ठेगाना खोज्दै बम्बईसम्म पुगेको आफ्नै कथाव्यथा जोडेर उनले ‘घामकीरी’ उपन्यास लेखिसकेका छन् । लेखक बन्ने सपना बोकेर काठमाडौं आएका उनी समय क्रममा पत्रकार, रंगमञ्च निर्देशक, पटकथाकारसम्म भए । नेपाल विद्यार्थी संघको राजनीतिदेखि साझा प्रकाशनसम्म पुगे । उनका यारहरूको चर्चा गर्ने क्रममा यी तमाम क्षेत्रका पात्र र भोगाइ रोचक हुने नै भए । त्यसैले यार पढ्दा पट्यार लाग्दैन ।

पुस्तकमा प्रयोग गरिएका सचिनयोगल श्रेष्ठका श्यामश्वेत स्केचहरूले यसलाई सिँगार्न थप सघाएको छ । नयनका सरल संस्मरणजस्तै उनका स्केच पनि सादा छन् । गहनता खोज्ने पाठकलाई भने कताकता केही नपुगेको हो कि भन्ने भान हुनेखालका ।नयनलाई सामान्य कुरा सहज र रोचक शैलीमा कसरी भन्ने राम्रोसँग थाहा छ । यारभित्रका आँैलादेखि पण्डितसम्मका २५ शीर्षकमा उनले यो खुबी कायम राखेका छन् । हरेक आलेख÷संस्मरणका चिटिक्क परेका छरिता शीर्षकमा समेत उनको सिर्जनशीलता झल्किन्छ । पाठकको ध्यान बाँधिराख्न उनले ‘सस्पेन्स’ शैली अपनाउँदै ठाउँठाउँमा सप्राइज पनि दिएकै छन् । पाठकलाई रुचिकर संरचना बुनोटमा उनले निकै ध्यान दिएका छन् ।

‘अग्लो’ शीर्षकमा उनले गोविन्द वर्तमानको व्यक्तित्व चिनाउन अपनाएको शैलीको छाप लामो समय दिमागबाट नउत्रिने खालको छ । ‘विकासे’ साथीको चरित्र र कमलरीको समस्या उजागर गर्ने ‘मोटो’ शीर्षकको छोटो आलेख चोटिलो छ ।यही शैली रोचक बनाउने चक्करमा बढी केन्द्रित भएर हो कि उनका आधाभन्दा बढी संस्मरण बालकथा जस्ता लाग्छन् । त्यसो त बाल्यकालका संस्मरणमा जुन घटना जस्तो मनोदशामा घटित भए त्यस्तै रूपमा प्रस्तुत गर्ने प्रयासले पनि यस्तो भएको हुन सक्छ ।

अलि बढी विचारप्रधान र निबन्धको नजिक हुनुपर्ने हो तर यार कथाको नजिक मात्रै होइन, कथै बनेको छ । संस्मरणलाई रोचक बनाउन नाटकीय मोड दिने उनको शैली मीठो भएकामा सन्देह छैन । तर मथ्नुपर्ने कतिपय सन्दर्भहरूलाई उनले विस्तारमा उधिन्ने जाँगर देखाएका छैनन् । उनी पात्र, घटना र प्रवृत्तिको सूक्ष्म चिरफार नभई सामान्य प्रकटीकरणमै रमाएका छन् ।

उनको रुचि के भन्ने भन्दा कसरी भन्नेमै बढी केन्द्रित छ । त्यसैले पूरै कृति पढ्दा हाम्रो दिमागमा उनका यारको चित्र कम केही नोस्टाल्जिक स्मृति, केही उट्पट्याङ हर्कत, केही मार्मिक प्रसंग र केही रमाइला घटनाको छाप बढी पर्छ । शंकर लामिछानेले आफ्ना यारहरू अम्बर गुरुङ, अगमसिंह गिरी, भूपी शेरचन, भीमदर्शन रोका आदिबारे बेजोड स्मृति लेखेका छन् । यारहरूबारे त्यही स्तरको स्मृति पढ्ने रहरलाई भने नयनको ‘यार’ले पूरा गर्दैन ।तर तपाईं सानो छँदा छिमेककी केटी साथीको प्रेममा पर्नुभएको छ भने, स्कुलका कक्षा हापेर सिनेमा हेर्न जानुभएको छ भने, मिल्ने साथीलाई मुक्का बजार्नुभएको छ भने वा विवाहित भएरै पनि कुनै स्त्रीसँग प्रेम पासोमा पर्नुभएको छ भने यारले तपाईंलाई तान्नेछ ।

सामान्यतया मित्रतासम्बन्धी हार्दिक कुरालाई हामी दोस्ती भन्छौँ । तर नयन भन्छन्, ‘मित्रता भन्ने कुरा हामीले जीवन भोग्ने क्रममा गरेका रोचक, रोमाञ्चक र रुमानी अनुभूति मात्र कहाँ रहेछ र ? यो त हाम्रो मानसिक, सामाजिक, आर्थिक र राजनीतिक सोचको उपज पनि रहेछ ।’ तपाईं पनि आफूले गाँसेका सम्बन्धका आयामलाई लेखकले झैँ ओल्टाइपोल्टाइ हेर्न चाहनुहुन्छ भने तपाईंलाई यारले तान्नेछ । तर दोहो¥याउनैपर्छ, चाहिने जति विस्तारमा घटना र प्रवृत्तिलाई केलाउन लेखकले कन्जुस्याइँ गरेका छन् । त्यसैले केही संस्मरणमा लेखकको उद्देश्य घटनाको रोचक वर्णन गर्नु मात्रै हो कि भन्ने भान हुन्छ । मौन, वर्जित, यार, गुप्त, ताल्चा, अग्लो जस्ता संस्मरणले भने यो गुनासोलाई साम्य नपारे पनि मत्थर चाहिँ अवश्य पार्छ ।

अनेक खाले अहं पालेका, इतिहासका ठुल्ठूला कामको जस आफूले लिने संस्मरणहरूको बाढी आएको भीडमा यारका संस्मरण सहज र पत्यारिला छन् । कुण्ठा र अहंको साटो यो किताब आत्मालोचनाले भरिएको छ । लेखकले आफ्नो ‘एक्स्ट्रा म्यारिटल अफेयर’को खुलासा गर्दै लेखेको ‘प्लास्टिक’ एउटा साहसी आत्मालोचना मान्न सकिन्छ ।

जीवन बाँच्ने क्रममा उनले गरेका गल्ती, खासगरी आफ्ना यारहरूसँग, सच्याउँदै शब्दहरूमार्फत आममाफी माग्ने साहस गरेका छन् । एउटा लेखकले माफी माग्ने योभन्दा सुन्दर अर्को तरिका कुन होला र ! हिजोका संकुचित व्यवहार र दृष्टिकोणलाई आजको बुझाइमार्फत सच्याउने प्रयास गरेका छन् । एउटा मान्छेले जीवन बाँच्ने योभन्दा राम्रो अन्दाज के होला र !किताबको पछिल्लो पातामा लेखकले स्वयंलाई प्रश्न गरेका छन्, ‘के यो पुस्तक मित्रताको आडमा मैले गरेको निजी गन्थन मात्र हो ? अथवा, यसबाट हामी बाँचिरहेको समाजको कुनै खालको मनोदशा पनि प्रकट हुन्छ ?’

यो प्रश्नको जवाफ खोज्ने जिम्मा उनले पाठकलाई नै दिएका छन् । पाठकका रूपमा भन्नैपर्छ, लेख्ने बेलामै समाजको कुनै न कुनै मनोदशाको चित्र उतार्ने सजगताले यारलाई निजी गन्थन हैन, स्मृतिग्रन्थ बनाइदिएको छ । यद्यपि मित्रताका बारेमा, मान्छेका सम्बन्धहरूको आयामका बारेमा गम्भीर सामग्री खोज्ने हो भने भन्नैपर्छ, ‘परिकार त मीठो हो, तर खुराकै पुगेन यार !’

 

प्रकाशित: २० माघ २०७४ ०३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App