८ वैशाख २०८१ शनिबार
अन्य

'तनावमा सपिङ गर्दिनँ, बरु संगीत सुन्छु': शैलजा अधिकारी, शिक्षा व्यवसायी

अाइइसी कलेज अफ फेसन एन्ड आर्ट, युरो किङ्स तथा युरो स्कुलकी सञ्चालिका शैलजा अधिकारी एउटी कुशल शिक्षा व्यवसायीका रुपमा उदाएकी छन् । डेढ दशकयता उनको फेसन इन्स्टिच्युटबाट सचेत फेसन डिजाइनर मात्र उत्पादन भएका छैनन्, तिनले नयाँ नयाँ व्यवसायसमेत फैलाएका छन् । फेसनका बारेमा सचेत उनै शैलजालाई नागरिक परिवारकर्मी अच्युत कोइरालाले फेसनका विविध पाटाबारे जानकारी लिएका छन् ।

फेसन कलेज स्थापना गर्ने रुचि कसरी जाग्यो ?
मैले जीवनमा कलेज नै सुरु गरुँला भनेर कहिल्यै सोचेकी थिइनँ । बरु मेरो बाबा–आमा नै बैंकर भएकाले बैंकमै भविष्य खोज्ने प्राथमिकता थियो । त्यसैले पढाइ सकिएलगत्तै मैले त्यो बेलाको ग्रिन्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्डर्ड) मा केही समय काम पनि गरेँ तर मन रमाउन सकेन । खासमा म लिडरसीप क्वालिटी भएको महिला रहिछु । आफ्नै केही काम गर्ने चाहनाले फेसन कलेज सुरु गरेँ ।

फेसन कलेज चलाउने मान्छे, फेसनमा चाहिँ कत्तिको रुचि छ ?
म भयंकर फेसनेबल पनि होइन । फेसनेबल भएकाले फेसन पढेको पनि होइन । नयाँ दिल्लीमा कम्प्युटर साइन्स पढ्दै गर्दा बचेको समयको सदुपयोग गरुँ भनेर फेसन डिजाइनिङ पढेकी थिएँ तर त्यसले नेपालमै कलेज खोल्ने बाटो देखायो । तर कलेज नै फेसनको खोलेका कारण फेसनप्रति जागरुक छु । संसारका हरेक फेसन विक फलो गर्छु । लगाउने मामिलामा पनि स्कुलमा छँदा एक किसिमको पहिरन हुन्छ, कलेजमा जाँदा अर्कै । अनि कलेजका कार्यक्रममा एक किसिमको फेसनमा हुन्छु भने बाहिरी अन्य कार्यक्रममा जाँदा थिमअनुसारको पहिरनमा ध्यान दिन्छु । भनौँ, हरेक कार्यक्रममा त्यस कार्यक्रमको प्रकृतिअनुसार मैले पहिरन लगाउनेदेखि अन्य एक्सेसरिजमा पनि ध्यान दिन्छु ।

  तपाईंको विचारमा फेसन भनेको के हो ?
ह्वाट इज कम्फर्टेबल फर यु इज फेसन (तपाईंका लागि जे सहज हुन्छ, त्यो नै फेसन हो) । ट्रेन्ड फलो गर्दिनँ भन्नु गलत हुन्छ, म ट्रेन्ड फलो त गर्छु । म सधैँ अपडेटेड हुन्छु । टिभी हेरेँ भने पनि मैले फेसन टिभी हेर्छु । मेरो यो चासोको विषय हो । मेकअप, हेयर, ड्रेसको ट्रेन्ड कस्तो चलिरहेको छ भन्ने चासो हुन्छ तर म त्यसलाई आँखा चिम्लेर फलो गर्दिनँ ।

नेपालीमा फेसन सेन्स कत्तिको पाउनु भएको छ ?
अहिलेको योङ जेनरेसन १४ देखि माथि उमेरका किशोर र युवालाई हेर्ने हो भने उनीहरूमा निकै राम्रो फेसन सेन्स छ । आफैँ कमाउने ३० भन्दा माथि उमेरका महिलालाई हेर्नुभयो भने उनीहरूले राम्रो–राम्रो पहिरन, ग्याजेट र एक्सेसरिज चलाइरहेका हुन्छन् । उनीहरूलाई त्यो सुहाउँदिलो पनि लाग्छ । पछिल्लो समय के भइरहेको छ भने हरेक पुस्तालाई आफू राम्रो देखिन, आकर्षक बन्न मन लाग्न थालेको छ । पहिला त्यो आफ्नो पहुँचको विषय होइन भनेर पन्छिने मान्छेहरू अहिले भरसक राम्रै बनेर हिँड्न रुचाइरहेको पाइन्छ । तर पछिल्लो पुस्ता त ज्यादै फेसन कन्सस पाइरहेकी छु । आफ्नो लुक (अनुहार), पर्सन्यालिटी (व्यक्तित्व), वे अफ प्रेजेन्टेसन (प्रस्तुति), वे अफ टकिङ (बोलाइ) सबै कुरामा ध्यान दिन थालेका छन् । यसले मानिसलाई आत्मविश्वास बढाउँछ । नेपालीहरूमा यो बढेको छ र मलाई एकदम मन परेको छ ।

पहिला थिएन ?

त्यस्तो नभएको त होइन तर यति धेरै र सामूहिक रूपमा थिएन मात्र भन्न खोजेकी हुँ ।

फेसन भन्नाले त हामी पहिरन मात्र बुझ्छौँ, एक्सेसरिज, मेकअपजस्ता कुरामा चाहिँ कस्तो पाउनु भएको छ ?

होइन, सबै विधामा राम्रो बुझाइ छ । कस्तो पहिरनमा के लगाउने, कुन कुन एक्सेसरिज प्रयोग गर्ने भन्ने बुझाइ पछिल्लो पुस्तामा बढी पाउँछु । यो देख्दा भने मलाई रमाइलो लाग्छ ।

 आफूलाई चाहिने फेसनका सामग्री कहाँबाट किन्ने गर्नुभएको छ ?
प्रायः ट्राभल गरिरहने व्यक्ति भएकाले म आफूलाई चाहिने फेसनका सामग्रीहरू विदेशमै किन्ने गर्छु । 

नेपालका न्युरोड र दरबारमार्गमा नि ?
म सामग्री हेर्न कहिलेकाहीँ त्यहाँ गएकी छु तर किन्ने कुरामा म एकदमै चुजी छु । म नेपालमा निकै कम चिजबिज किन्छु ।

उसो भए नेपालमै किन्नु हुन्न ?
होइन, म नेपालमा किनेँ भने मेरो कलेजका विद्यार्थीले खोलेका बुटिकहरूमा जान्छु । मैले गर्व गरेको होइन, उनीहरू वास्तवमा धेरै ट्यालेन्ट छन् र उनीहरूको काम मलाई मन पर्छ ।

तपाईंले सबैभन्दा धेरै के किन्नुहुन्छ ?
म जुत्ता र ब्यागप्रति बढी आशक्त छु । जहाँ गए पनि मेरा आँखा ब्याग र जुत्तामै जान्छ । सायद मसँग धेरैभन्दा धेरै कलेक्सन जुत्ता र ब्यागकै होला । म्याटेरियल र पैसाको भ्यालु म्याच हुन्छ कि हुँदैन, म त्यसमा ध्यान दिन्छु ।

केही विशेष ब्रान्डको किन्नु हुन्छ ?
राम्रा र आकर्षक कुरामा मेरो ध्यान जान्छ र विदेशमा किन्नुको एउटा फाइदा के भने त्यहाँ एउटा निश्चित क्वालिटी कन्ट्रोल हुन्छ । पैसा खेर गएको महसुस हुँदैन । नेपालमा त्यस चिजको भर हुँदैन । यस हिसाबले भन्ने हो भने मलाई कुनै निश्चित ब्रान्डकै लुगा, जुत्ता वा ब्याग किन्छु भनेर भन्न सक्तिनँ । एउटा ब्रान्डको जुत्ता किनेँ भने ब्याग अर्कै ब्रान्डको हुन सक्छ । अनि, लङ कोट अर्कैै र अन्य चिज अर्कै ब्रान्डको हुनसक्छ । कुनै एउटै ब्रान्डमा म बाँधिन्नँ ।

सपिङकै लागि विदेश जानु हुन्छ कि ?
त्यो चाहिँ होइन, म काम विशेषले विदेश गएका बेला जुन एक दुई दिनको खाली समय हुन्छ, त्यो बेला म विभिन्न सपिङ मलमा घुम्न निस्कन्छु । मन प¥यो भने किन्ने पनि गर्छु ।

किन्दा के कुरामा ध्यान दिनुहुन्छ ?
म औसत उचाइ भएकी महिला हुँ । अग्ली महिलालाई जे कुराले पनि सुहाउँछ । होचो वा कम उचाइ भएका महिलालाई जे कुराले पनि सुहाउँदैन । मेरो उचाइ औसत छ । त्यसैले मैले फेसन गर्नु पर्दा र किन्नु पर्दा धेरै कुरा सोच्नुपर्ने हुन्छ । त्यसैले मैले ब्रान्ड हेर्दिनँ भनेकी हुँ ।

 नेपालमा पछिल्लो समय फेसनेबल के किन्नुभयो ?
पोखरामा । विदेशीहरूले लगाउने ¥यापरजस्तो चिज किनेकी थिएँ । कहिलेकाहीँ उनीहरूको एंगलबाट नेपालमा बनेका चिजबिज हेर्ने इच्छा लाग्छ ।

तपाईं काठमाडौँबाहेक देशका अन्य सहर पनि जानु हुन्छ होला, कुन सहर बढी फेसनेबल लाग्छ ?
म पोखरा वर्षको तीन चार चोटि गइरहेकी हुन्छु । कहिलेकाहीँ अन्य सहर पनि पुगेकी हुन्छु । मेरो सर्सर्ती नजरले हेर्दा पोखरा र धरान बढी फेसनेबल लाग्छ । पोखरा चाहिँ मेरो स्ट्रेस रिलिभ गर्ने ठाउँजस्तो लाग्छ । त्यहाँका सबै कुरा मलाई मन पर्छन् ।

नेपालमा आयोजन हुने फेसन सोहरूको स्तर कस्तो देख्नुहुन्छ ?
राम्रो प्रश्न, वास्तवमा म कतिपय फेसन सोहरूमा गइरहेकी हुन्छु । आजभन्दा १०÷१५ वर्षअघि आयोजना गरिने फेसन सोहरूभन्दा अहिलेका फेसन सोहरू बढी उत्पादनमूलक, व्यावसायिक र चित्ताकर्षक देख्छु । पहिले फेसन सो भन्नेबित्तिकै क्रिएटिभिटी अभिव्यक्ति गर्ने ठाउँका रूपमा लिइन्थे । अहिले भने ती फेसन सोहरूमा जे पनि पहिरन देखाइन्छन्, लगाइन्छन्, ती बजारमा कत्तिको बिक्री हुन सक्लान् भनी आँकलनसमेत गरिन्छन् । हुन त यो क्रिएटिभिटी देखाउने ठाउँ पनि हो तर हामीले यसलाई व्यावसायिकता पनि गाँस्नु पर्छ । बिजनेसबिना क्रिएटिभिटी बाँच्न सक्तैन । पछिल्लो समयमा भएका फेसन सोले यस्ता कुरामा ध्यान दिइरहेको पाएकी छु । मलाई यस्तो देख्दा एकदमै खुसी लाग्छ ।

तपाईं त विदेशका फेसन सोहरूमा पनि जानु हुन्छ होला । विदेशका फेसन सो र नेपालको फेसन सोमा के कुरामा फरक पाउनु हुन्छ ?
फेसन सोमा खासै फरक हुँदैन । गएको वर्ष म इन्डियन फेसन विकमा गएकी थिएँ । त्यहाँ कत्ति धेरै फल्टहरू देखिन्थे । पाहुनालाई न बस्ने ठाउँ छ, न समयमा कार्यक्रम सुरु हुन्छ । निर्धारित समयभन्दा अढाई घण्टा ढिला कार्यक्रम भयो । यस्ता कैयौँ समस्याका बाबजुद धैर्य गर्ने जुन बानी इन्डियनहरूमा छ, कार्यक्रमलाई जसरी न्यानो स्वागत गरिन्छ, त्यो चाहिँ नेपालमा मैले पाएकी छैन । कार्यक्रमको स्तरका हिसाबले, इभेन्ट अर्गनाइज गर्ने हिसाबले नेपालले धेरै कुरामा प्रगति गरिसकेको छ । बरु जुन न्यानो स्वागत पाउनुपर्ने हो, प्रेसले जसरी सकारात्मक कोणबाट यसलाई हेर्नुपर्ने हो, त्यो चाहिँ हुन सकेको छैन । किनभने मैले मुम्बईको त्यो कार्यक्रम सकिएपछि भोलिपल्टका वा त्यो साताभरिका पत्रिका वा टेलिभिजन हेर्दा कमीकमजोरीका बारेमा विरलै टिप्पणी गरेका थिए । कमजोरीलाई भन्दा त्यसका राम्रा र सकारात्मक विषयलाई बढी हाइलाइट गरिएका थिए । यस्तै हौसला नेपाली फेसन उद्योगले नेपाली मिडियाबाट आवश्यक छजस्तो लाग्छ ।

नेपालकै अन्य फेसन सोमा जानु भएको होला, तिनलाई मूल्यांकन गर्नु पर्दा ?
एकदमै राम्रो सचेतना आइसकेको छ । उहाँहरूमा अहिले कस्तो भावना छ भने बढीभन्दा बढी डिजाइन देखाउने लोभभन्दा बरु कम डिजाइन देखाउँ तर केही न केही छाप पारुँ भन्ने नै छ । अहिले चाहिँ देखाइएका डिजाइनबाट व्यावसायिक फाइदा केही हुन्छ कि भन्ने कोणबाट पनि हेर्ने चलन बढेको छ ।

पहिला थिएन भन्न खोज्नु भएको हो ?
पहिला धेरै फेसन सोहरू हुन्थे । त्यो बेला बुटिक पनि कम थिए । डिजाइनरहरूले बुटिक नभएकाले आफ्नो सिर्जनालाई बढीभन्दा बढी देखाउँ भन्ने मानसिकताले काम गरिरहेका हुन्थे । हिजोआज चाहिँ अधिकांश डिजाइनरको बुटिक पनि छ र क्रिएटिभिटी देखाउने भन्दा पनि देखाएको चिज बिक्री पनि होस् भन्ने सोचले काम गर्न थालिएको छ । ब्रान्ड स्थापना, बजार बिस्तारका लागि गरिरहनु भएको छ । यो धेरै राम्रो प्रगति हो किनभने ‘जो दिखता है, वह बिकता है’ भन्ने भनाइ नै छ नि, होइन ! हिजोआजको सो हेर्नुभयो भने धेरै कुरामा सुधार आएको छ । चाहे त्यो डिजाइन होस् या ¥याम्पमा हिँड्ने मोडल । 

हुन त तपाईंले अघि नै ब्रान्ड हेर्दिनँ भन्नुभयो, सबै कुरामा त यो कुरा लागू नहोला, केही कुरामा त ब्रान्ड अवश्य हेरिएला, होइन त ?
राम्रा चिज ब्रान्डको पनि पर्लान् । जस्तो कि केही साताअघि म मलेसियामा हुँदा, एउटा चस्मा मलाई किन्न मन लाग्यो । रेबानको चस्मा लगाउँदा मलाई किनुँ किनुँ लाग्यो, किनेँ । यस्तो हुन सक्छ । क्वालिटीको चिज हेर्दा जाराका सामग्री मन पर्छन् । 

तपाईंलाई कुन ब्रान्डको घडी मन पर्छ ?
राडोका घडी मन पर्छन् । जाडोयाममा म घडी त लगाउँदिनँ किनभने फेसन भन्नेबित्तिकै देखाउने कुरा हुन्छ । जाडोमा छोपिने भएकाले लगाउँदिनँ ।
मोबाइल ?
अहिले मैले एप्पलकै दुई वटा मोबाइल बोक्ने गरेकी छु । तीमध्ये मलाई आइफोन सिक्स एस र आइफोन सिक्स प्लस बोक्ने गरेकी छु । सिक्स प्लस मोडल चाहिँ मन प¥यो । साइज पनि ठूलो छ । पहिला मलाई मोबाइल ठीकै लाग्थ्यो । आवश्यक हो भनेर मात्र बोकिन्थ्यो तर पछिल्लो समय आफ्नो आवश्यकता अनुसारका विभिन्न ‘एप’हरू बन्न थालेकाले स्मार्टफोन गज्जबको साथी बन्न पुगेको छ । 

फेसनका विविध आवश्यकताका लागि तपाईंले मासिक÷वार्षिक कति खर्च गर्नुहुन्छ ?
यति नै भन्ने छैन । कहिलेकाहीँ बढी पनि खर्च हुन्छ, कहिलेकाहीँ खर्चै नहुने पनि हुन्छ । यति खर्च गर्छु भनेर नभनूँ क्यार ! (हाँस्दै) करले समात्ला कि ! 

तैपनि ?
हेर्नुस्, म प्रायः विदेश भ्रमण गरिरहने भएकाले र गएपिच्छे केही न केही परिवारका सबैलाई किनिदिने भएकाले अलिअलि खर्च भइहाल्छ । अर्को कुरा चाहिँ, एक चोटि कुनै पार्टीमा लगाएको लुगा दोहो¥याएर लगाउन मन पर्दैन । त्यसैले राम्रै अमाउन्ट खर्च हुन्छ ।

महिलालाई टेन्सन बढी भयो भने रिलिफका लागि सपिङमा जान्छन् रे नि ?
(हाँस्दै) म यस मामिलामा उल्टो छु । मलाई टेन्सन भयो भने कोठा बन्द गर्छु । ठूलो आवाजमा म्युजिक खोल्छु र डान्स गर्छु । म कहिले पनि टेन्सनका बेलामा सपिङ गर्दिनँ । सपिङ गर्ने कुरालाई म वाइजली (बुद्धिमतापूर्वक) उपयोग गर्छु । मलाई सपिङका बेला फ्रि माइन्ड हुनुपर्छ । म किनमेलका लागि आवश्यक परेको चिज किन्दिनँ । म भविष्यमा यो कामका लागि यो चिज काम लाग्छ भनेर पनि किनिरहेकी हुन्छु । त्यसैले म कहिल्यै हतारमा सपिङ गर्दिनँ न त तनाव भएका बेलामै !

फेसनमा अप टु डेट हुन कुनै ब्लग फलो गर्नुहुन्छ ?
मेरो स्टुडेन्ट खुश्बुको ब्लग मलाई चित्त बुझ्छ । त्यस्तै एकजना मलेसियन टिमलाई पढ्छु । मलेसिया जाँदा उनलाई भेटेकी थिएँ, उनको बोल्ने, कुरा गर्ने आदि शैली मलाई खुब चित्त बुझ्यो । त्यसपछि मैले उनलाई नियमितरूपमा ब्लगमा पनि फलो गर्ने गरेकी छु । त्यस्तै अर्मानी र प्रबल गुरुङलाई पनि मैले फलो गर्ने गर्छु । 

तपाईंलाई मन पर्ने ड्रेस ?
पार्टीवेयरमा लङ ड्रेसहरू । कतिपय अवस्थामा वन पिस पनि लगाउँछु तर लगाउने कुरा ठाउँ हेरी हुन्छ । अब स्कुलमा जाँदा त यस्तो लगाउन मिल्दैन नि, होइन ?

तपाईंलाई फेसनका रूपमा चित्त बुझ्दो दृश्य कुन लाग्छ ?
दुबईमा जब म बुर्का लगाएर आएका महिला र युवती जिन्स, वन पिस, स्कर्ट किनेको देख्छु, मलाई एकदमै रमाइलो लाग्छ । म लन्डन जाँदा थरिथरिका युवती देखिन्छन्, तिनले के किन्छन्, के लगाउँछन् भनेर विरलै ख्याल गर्छु तर दुबईमा बुर्कावालीहरूले के किन्छन् भनेर चाहिँ चासो लाग्दोरहेछ ।

गहनाप्रति कत्तिको झुकाव छ ?
छ, मलाई हिरा र सुनका गहना मन पर्छ । म लगाउन किन्दिनँ । म संकलन गर्न मात्र किन्ने गर्छु । घरेलु कार्यक्रममा कहिलेकाहीँ मात्र लगाइन्छ । नक्कली गहना त मसँग झन् कति छन् कति । मलाई खासगरी इन्डियन ज्वेलरीमा तनिस्कका डिजाइन मन पर्छन् ।

प्रकाशित: २० माघ २०७४ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App