८ वैशाख २०८१ शनिबार
अन्य

परिवारमा स्वस्थ जीवनशैली

जाडो यामको बिदा सुरु भएको छ । तपाईंका स्कुले केटाकेटी आँगनमा यताउति उफ्रीपाफ्री गरिरहेका छन् ? उनीहरु आफैँमा मग्न भएर उत्ताउलिँदै यताउति दौडिरहेका छन् ? उसो भए तपाईं भाग्यमानी हुनुहुन्छ ।

किन थाहा छ ? 
संसारका अधिकांश बालबालिकाका आमाबुबा आफ्ना सन्तान खाली टेलिभिजन, ल्यापटप, ट्याब्लेट तथा मोबाइलमा झुम्मिएर दीर्घकालीन रुपमा आफ्नो स्वास्थ्य ह्रास पारिरहेका छन् । यसबाट उनीहरु दिक्क मानिरहेका छन् र यसको निराकरण के होला भनी घोत्लिरहेका छन् ।

के रे ? तपाईंका छोराछोरीमा यही समस्या देखिएको छ ? उनीहरु टेलिभिजन, मोबाइल, ट्याब्लेटतिरै घोत्लिरहेका छन् ? पूरा बिदाभरि उनीहरु खेल्न बाहिर निस्किएनन् ? 

उफ ! तपाईं पनि संसारका अधिकांश बाबुआमामै पर्नुभएछ ।
ठीक छ, तपाईंका छोराछोरीहरु यता उता दौडिरहेका छन्, उफ्रीपाफ्रीमा रमाइरहेका छन् भने अब त्यो शक्तिको फाइदाका बारेमा कुरा गर्ने बेला भएको छ । उनीहरुलाई दौडादौडले दिने दीर्घकालीन स्वास्थ्य र सही पोषणको फाइदाको बारेमा कुराकानी गर्ने समय आएको छ ।

होइन ? दौडदैनन् ? खाली स्मार्टफोन, ट्याब र ल्यापटपमा घोत्लिरहेका छन् भने पक्कै पनि उनीहरु बाहिरी वातावरणमा खेल्न र रमाउन भन्दा भित्रै बस्न रुचाउँदा हुन् । यसले दीर्घकालीन रुपमा आँखाका रोग लाग्ने तथा बालबालिकामा एकोहोरोपना हुने समस्या हुने चिकित्सकहरुले बताउने गरेका छन् । त्यसैले आफ्ना सन्तानले स्मार्टफोनमा जे पनि चलाउँछ अनि ऊ त गज्जबको स्मार्ट छ  भनेर गर्व गर्नुको सट्टा तपाईँले अब उनीहरुको स्वास्थ्य र सकारात्मक जीवनशैलीप्रति ध्यान दिनु आवश्यक छ । 

त्यसो त हाम्रो सहरी वातावरण उति राम्रो छैन । नजिकै इँटा भट्टा, सवारी साधनको बाक्लो चाप र त्यसले फ्याँक्ने धुँवाधुलोमय वातावरणका कारण बालबालिकालाई बाहिर खेलाउन हानिकारक नै हुन्छ । तर धुँवाधुलो नहुने मुख्य सडकभन्दा भित्रपट्टी कुनै पार्कमा भने बालबालिकालाई खेलाउन उचित हुन्छ । 

बालबालिका होऊन् या वयस्क दिनको एक घण्टा शारीरिक व्यायाम गर्न जरुरी भएको अमेरिकास्थित डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसेजले जनाएको छ । अझ बढी यो हुर्कदै गरेका बालबालिकाका लागि हड्डी र मासु बलियो हुन्छ । विभिन्न शारीरिक गतिविधिहरु जस्तै डोरी खेल्ने, नाच्ने गर्नुपर्छ । समाजमा धेरै खाले परिवारहरु छन् । त्यसैले लिस्ट बनाएर आफू र आफ्नो परिवारले गर्ने शारीरिक गतिविधि, व्यायाम, साइकल चलाउने, बगैँचामा फूल रोप्ने जस्ता काम पनि गर्न सकिन्छ । यसले शारीरिक मात्र नभएर मानसिक रुपमा पनि मान्छेलाई तन्दुरुस्त राख्न सघाउँछ । 
रातको खाना खाइसकेपछि थोरै हिँड्ने अथवा परिवारसँगै बसेर नाचगान गर्दा पनि खाना पचाउन सहयोग गर्न र मासु बलियो बनाउँछ । यसले परिवारका सदस्यको दिनचर्या एक आपसमा साट्न पनि सकिन्छ । 

स्वास्थ्य लक्ष्य निर्धारण गर्नुहोस्
कुनै पनि शारीरिक व्यायाम सुरु गर्नुअघि सबै सहभागीको उमेर र अहिलेको स्वास्थ्य अवस्थाको बारेमा ध्यान दिनु महŒवपूर्ण हुन्छ । त्यसपछि मात्र विभिन्न क्रियाकलापको तीव्रता र अवधि बढाउनेतर्फ काम गर्न सकिन्छ । उदाहरणका लागि, पहिलो हप्तामा तपाईंको परिवारले हरेक साँझ बेलुकीको खानापछि आधा घण्टा हिँड्न र त्यसपछि लिभिङ रुममा बालबालिकालाई उनीहरुको मनपर्ने संगीतमा नाच्न सक्छन् । 

तपाईंको परिवारको स्वास्थ्य लक्ष्य ट्र्याक गर्ने एउटा उपाय भनेको त्यसलाई लेखेर सबैले देख्ने ठाउँमा टाँसेर राख्नु हो । तपाईंका लक्ष्यलाई आवधिक रुपमा समीक्षा गर्नुहोस् । कुनै लक्ष्य पूरा भएपछि, नयाँ लक्ष्य कायम गर्नुहोस् । सम्झनुहोस्ः परिवारका सबै सदस्यहरुका लागि सबैभन्दा महŒवपूर्ण लक्ष्य भनेको नियमित रुपमा शारीरिक क्रियाकलापहरुमा सहभागी हुनु हो । त्यसैले, तपाईंले कायम गर्नुभएका सबै लक्ष्यहरु प्राप्त गर्न सकिने र सबै जना ती लक्ष्य प्राप्त गर्न उत्सुक हुने कुरा सुनिश्चित गर्नुहोस् ।

राम्रो पोषण र स्वस्थ खान्की
वयस्कहरुले बालबालिकालाई उनीहरुका लागि स्वस्थ खानेकुरा र स्वस्थ खानेकुरा खाने तरिकाका बारेमा सिकाउनुपर्छ । उनीहरुसँग राम्रो पोषणका बारेमा छलफल भन्नाले शरीरले प्राप्त गर्न सक्ने गरी के कसरी खाने, कुन खानेकुरामा के तŒव पाइन्छ र ती किन महत्वपूर्ण छन् भन्ने हुन सक्छ । बालबालिकासँग मिलेर स्वस्थ र सबैले मन पराउने खानेकुरा समेटिएको खानाको मेनु बनाउनुहोस् । त्यसपछि, तपाईंको बालबालिकालाई सपिङका लागि लैजानुहोस् । उनीहरुलाई विभिन्न खानेकुराको पहिचान गर्न र कसरी खानेकुराको लेबल पढ्ने भनी सिकाउनुहोस् ।

योजना कायम गरिरहनुहोस् 
सक्रिय रहनुहोस् । दिनमा कम्तीमा ६० मिनेट कुनै न कुनै खालको शारीरिक क्रियाकलाप वा गतिविधिमा सहभागी हुनुहोस् । रमाइलो गर्नुहोस् । तपाईंका बच्चाहरु रमाइला शारीरिक क्रियाकलापमा सहभागी हुन चाहन्छन् । त्यसैले, सबै जनाले सँगैको समयको मजा लिएको निश्चित गर्नुहोस् ।

स्वस्थ खानेकुरा खानुहोस् । चिल्लो र धेरै क्यालोरी भएका खानेकुरा कम खानुहोस् । शरीरलाई फाइदा गर्ने फलफूल र तरकारीजस्ता खानेकुरा धेरै खानुहोस् । परिवारका सबै सदस्यलाई खानेकुरा छनोट गर्ने र तयार गर्ने बेलामा सहभागी गराउनुहोस् । जसले गर्दा हरेकले कसरी स्वस्थ खानेकुरा बनाउने भन्ने कुरा थाहा पाउँछन् ।

तपाईंले आफ्ना बालबालिकाका लागि अहिले गर्न सक्ने सबैभन्दा राम्रो कुरा उनीहरुलाई ज्ञान दिनु र स्वस्थ जीवनशैली बनाउन सिकाउनु हो । यसले गर्दा उनीहरुलाई खुसी राख्न र भोलिका लागि सुखी र स्वस्थ जीवन जिउन सघाउँछ ।

 

प्रकाशित: २० माघ २०७४ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App