७ वैशाख २०८१ शुक्रबार
विचार

जनस्वास्थ्यमा गम्भीर खेलबाड

डा.सुरेश तामाङ

मानव स्वास्थ्य केवल व्यक्तिको शरीरमा मात्र निर्भर गर्दैन । उसको आनीबानी र व्यक्तिगत जीवनशैली, पारिवारिक सम्बन्ध, सामाजिक वातावरण र राज्यले अवलम्बन गर्ने सार्वजनिक नीतिमा पनि उतिकै भर पर्छ । यो कुरा बिल्कुलै नयाँ होइन तर धेरै मानिसलाई यसबारे ज्ञान नहुन सक्छ । हालै देखिएको बिलासी तथा आधुनिक जीवनशैली, खानपानमा आएको परिवर्तन र पश्चिमा औषधि विज्ञानको बढ्दो प्रभावले मानिसहरूको स्वास्थ्य दैनिक रूपमा प्रभावित हुँदैछ । यहाँ वर्षभरि दुखेसो गरी बचत गरेको नगद र थप ऋणसमेत लिएर ठूलो र महँगो अस्पतालमा रकम बुझाउन बाध्य मानिसहरूको भीड पनि बढ्दैछ।

मानव स्वास्थ्यलाई आधुनिक अस्पताल र चिकित्साबाट मात्र नभई समग्र सामाजिक र पर्यावरणीय दृष्टिकोणबाट पनि हेरिनुपर्छ । बिग्रँदो स्वास्थ्य केवल व्यक्तिको लिंग, उमेर, वैवाहिक स्थिति र वंशाणुबाट मात्र निर्धारण हुँदैन । यो दुर्भाग्य वा अघिल्लो जुनीको पापको फल पनि होइन । यो उसको व्यक्तिगत धारणा, विश्वास, जीवनशैली, आचरण, खानपानको प्रकार र समिश्रण, दैनिक समयतालिका र व्यायामका अलावा पारिवारिक सम्बन्ध र समग्र सामाजिक तथा सांस्कृतिक वातावरणको उपज पनि हो । व्यक्तिको आवास, शैक्षिक स्तर, रोजगारी तथा आम्दानी, स्वास्थ्य सेवामा पहुँच र उपलब्धता पनि उसको स्वास्थ्यका निर्धारकहरू हुन् । टोल वा छरछिमेक (समाज, संस्कृति र परम्परागत चालचलन), सफा खानेपानी, सरसफाइयुक्त वातावरणको पनि मानिसकोे जीवनमा उत्तिकै महत्वपूर्ण छन्।

विश्व आर्थिक मञ्चको सहकार्यमा अमेरिकाका एल र कोलुम्बिया विश्वविद्यालयले हालै प्रकाशित गरेको वातावरणीय कार्यसम्पादन सूची (इपिआइ) २०१८ प्रतिवेदनमा नेपाल (३१.४४) विश्वका १८० देशमध्ये सबैभन्दा तलका ५ (१७६ औँ) राष्ट्रमा परेको तथ्य पनि आएको छ । यसरी संसारकै सबभन्दा खराब हावायुक्त काठमाडौँको धुवाँधुलो र प्रदूषणको मार खेपेकाहरूको तुलनामा अन्य ग्रामीण क्षेत्रका मानिसहरूको स्वास्थ्य अवस्था फरक हुन सक्छ । स्थानीय उत्पादनहरू जस्तै आलु, फापर जस्ता अन्न आदि लोप हुँदैछन् । प्लास्टिकका थैला र बोतलबन्द आयातित, मिसावटयुक्त प्रशोधित खानेकुरा, विभिन्न स्वादमा उपलब्ध अत्याधिक चिनीयुक्त पेय पदार्थ, मदिरा र धूमपानको सेवन दिनानुदिन बढ्दो क्रममा छ । यसको प्रयोगले खर्च मात्र होइन, आम जनताको स्वास्थ्य र वातावरण पनि प्रदूषित हुँदैछ । पेसागत कार्यव्यस्तता र हतारको जिन्दगीमा मानिसहरू बाँच्न बाध्य छन्।

जनस्वास्थ्यको कुरा गर्दा एकातर्फ हाल सञ्चालित अधिकांश स्वास्थ्यसम्बन्धी कार्यक्रमहरू पुरानै ढाँचामा र उपचारात्मक दृष्टिबाट बढी प्रभावित र निर्देशित देखिन्छन् । अर्कोतिर विशिष्ट रोग, शल्यक्रिया तथा अति कुपोषित बालबालिकालाई दिइने सघन उपचारबाहेक मानव स्वास्थ्य धेरै हदसम्म पोषणमा पनि भर पर्छ । उसो त पोषण भनेको भिटामिनको थोपा वा चक्की खुवाउनु मात्र नभई खेतीबाट उत्पादन गरी विषादीरहित, सफा र ताजा खानेकुरा बारीबाट थाली हुँदै मुखसम्म पुग्नु हो भन्ने कुरा पनि बुझ्नु जरुरी छ।

मानव स्वास्थ्य : सामाजिक/पर्यावरणीय दृष्टिकोण हाल नेपालका अधिकांश बजारका प्रायः चोकैपिच्छे साना–ठूला आधुनिक अस्पताल खुले पनि आम मानिसहरू झन् बिरामी परिरहेको अवस्था छ । तर हालै बढिरहेको स्वास्थ्य सेवाको निजीकरणले आम नागरिकलाई भन्दा पनि व्यापारी, औषधि निर्माता र बिमा कम्पनीलाई बढी फाइदा गर्ने देखिन्छ । विकसित देशहरूमा समेत दैनिक रूपमा मनोरोग, दीर्घ र कडा तथा नयाँ प्रकारका रोग (जस्तै जिका भाइरस) समेत बढिरहेको तथ्य आइरहेको छ । तसर्थ पश्चिमा (एलोपेथिक) स्वास्थ्यका साथै वैकल्पिक विधि जस्तैः संगीत, कला, पशुपन्छी, परिवारकेन्द्रित विधि र परम्परागत औषधीविज्ञान खासगरी जडिबुटीजन्य उपचार, अकुपन्चर, अकुप्रेसर, योग, चाइनिज, सिन्ध र आयुर्वेदजस्ता विधिहरूको महत्व आज पनि घटेको छैन।

हरेक नागरिक आफ्नो स्वास्थ्यप्रति सजग हुनु त पर्छ नै । यसका साथै घरपरिवारको मिलेमतो, सामाजिक वातावरणका साथै देशवासीको स्वास्थ्यको जगेर्ना गर्न सरकारले तय र लागू गर्ने स्वास्थ्यसम्बन्धी नीति र कानुनहरू पनि उत्तिकै जिम्मेवार हुन्छन् । तर हाल नेपालमा सञ्चालित अधिकांश स्वास्थ्य र सामाजिक कल्याणसम्बन्धी कार्यक्रमहरू दातृ केन्द्रित छन् । न्यूनतम स्वास्थ्य सेवा पाउनु हरेक नागरिकको आधारभूत मानव अधिकार र विश्वव्यापी मान्यता हो।

त्यसैगरी स्थानीय स्तरमा हरेक आवासीय क्षेत्र र टोलटोलमा बालउद्यान, सार्वजनिक पार्क, खेलमैदान, सामुदायिक भवन र वृद्धवृद्धाका लागि मनोरञ्जन र व्यायामका लागि आवश्यक भवन र सामग्री आदिको निर्माण र उपयोगले जनस्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ । यसर्थ अबको दिनमा हालको परिवर्तित सन्दर्भमा स्थानीय तह (गाउँ र नगरपालिकाहरू) तथा प्रादेशिक सरकारहरूले बनाउने सामाजिक विकास र स्वास्थ्य सम्बन्धी नीति तथा कानुनहरूमा यी कुराहरूमाथि उचित विचार पु¥याउँदा राम्रो हुने देखिन्छ।

 

प्रकाशित: २१ माघ २०७४ ०४:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App