coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘समृद्धि र विकासका लागि एक हुन्छौं’

सुर्खेत- ६ नम्वर प्रदेशको पहिलो प्रदेशसभा बैठक सम्पन्न भएको छ। डिभिजन सिंचाईको सभाहलमा बसेको पहिलो बैठकमा बोल्ने राजनीति दलहरुले प्रदेशको समृद्धि र विकासमा एक भएर अघि बढ्ने प्रतिवद्धता जनाए।

नेकपा एमालेका सांसद यमलाल कँडेलले प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष नभएर अघि बढ्ने बताए । ‘राजनीतिक आस्थाका हिसावले जहाँ भएपनि केन्द्र सरकारको स्थायी प्रतिपक्षका रुपमा हामी रहन्छौं’ कँडेलले भने, ‘४० जना संसदहरु एउटै ठाउँमा रहेर पाँच वर्षभित्र प्रदेशको समृद्धि र विकासका लागि लाग्छौं।’

माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले मुलुककै कान्छो प्रदेशको विकास र समृद्धिका लागि एक भएर अघि बढ्ने प्रतिवद्धता जनाए। उनले रोग, भोक, अशिक्षा  गरिवीका कथालाई अन्त्य गर्नका लागि सामुहिक प्रयासको आवश्यकता रहेको औल्याए। ‘कर्णालीको पहिचान बदल्ने उत्कृष्ट अवसर हाम्रा सामु आएको छ’ शाहीले भने, ‘सबै जनप्रतिनिधिहरु एउटै ठाउँमा आएर यो अवसरको सदुपयोग गछौं।’

नेपाली कांग्रेसका सांसद जीवनबहादुर शाहीले १२ लाख जनसंख्या र सबैभन्दा धेरै भूगोल भएको कर्णाली प्रदेशमा रहेको अभावलाई चिर्दै समृद्ध प्रदेश बनाउने अभियानमा लाग्ने बताए। उनले ६ ‘व’लाई आत्मसाथ गर्न सकिएको खण्डमा प्रदेशको समृद्धि र विकास हुने धारणा राखे । ‘बाटो, विजुली, विचार, वन, व्यवस्थापन र बजारको संयोजक गर्न सकेको खण्डमा प्रदेशको समृद्धि टाढा छैन्’ उनले भने, ‘हामी प्रतिपक्षमा रहेपनि प्रदेशको समृद्धि र विकासका लागि सहकार्य गछौं।’

राप्रपाकी सांसद सोशीला शाहीले राम्रा काममा साथ दिँदै प्रदेश सरकारले गर्ने गलत काममा खवरदारी गर्ने बताइन् । उनले पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई खण्डिकरण गरिएको भन्दै असन्तुष्टी पनि जनाइन् ।

प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि–२०७४ लाई पारित गर्नुका साथै सभामुख चयनका लागि माघ २९ गतेका लागि बैठकको मिति तय गरेको छ।

प्रकाशित: २१ माघ २०७४ ०८:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App