८ वैशाख २०८१ शनिबार
अर्थ

वीरगन्जमा अब नि:शुल्क ‘वाईफाई जोन’

वीरगन्ज – वीरगन्ज महानगरपालिकाका १२ वटा स्थानलाई वाईफाई जोन बनाइने भएको छ। वीरगन्ज महानगरपालिकाको कार्यालय र इन्टेरनेट सेवा प्रदायक संस्था वर्ल्ड लिंकबीच उक्त योजना कार्यान्वयनको लागि सम्झौता सम्पन्न भएको छ। 

‘१२ ठाउँहरुमा अहिलेलाई निःशुल्क वाईफाई सुबिधा उपलब्ध हुने भएको छ, हामीले वर्ल्ड लिंकसंग सम्झौता सम्पन्न गरेका छौं,’ वीरगन्जका नगरप्रमुख विजय सरावगीले भने, ‘इन्टरनेट भनेको आज मानिसको लागि अनिवार्य आवश्यक्ता जस्तै भइसकेको छ, वीरगन्ज एउटा महानगर भएपछि यहाँ बस्ने मानिसहरुले यस्ता आधारभुत सुबिधाहरु पाउन सक्नुपर्छ, हामी आगामी समयमा वाईफाई जोन अझ बिस्तार गर्दै लैजाने छौं।’ उनले सूचना र संचारलाई आजको युगमा विकासको साधान भएको टिप्पणी गरे।

‘महानगरपालिकाको उद्देश्य हो नागरिकमैत्री काम गर्ने, आवश्यकताको रुपमा लिएर यसलाई कार्यान्यवन गर्न लागिएको हो,’ महानगरपालिकाका प्रेस सल्लाहकार गोबिन्द देवकोटाले भने, ‘सम्झौतामा महानगरपालिकाले पुरा गर्नुपर्ने र सेवा प्रदायकले पुरा गर्नुपर्ने शर्तहरु उल्लेखित छन्।’ सेवाप्रदायकले जडान गरेका यन्त्रहरु राख्ने ठाउँ, त्यसमा लाग्ने बिद्युत र त्यसको सूरक्षाको ब्यवस्था महानगरपालिकाको कार्यालयले गर्ने र सेवा प्रदायकले उक्त ठाउँमा निःशुल्क वाईफाई जडान गरिएको जनाउ दिने आफ्नो नामसहितको बोर्ड राखेर सेवा संचालन गर्ने मुख्य शर्त हुन्। 

‘ब्यवसायिक लाभका लागि नभई वर्ल्डलिंकको तर्फबाट समाजिक दायित्व अन्तर्गत यो सेवा हामीले प्रदान गर्न लागेका छौं, यसबाट बरु महानगरपालिका कार्यालयलाई लाभ के हुन्छ भने इन्टेनेट सर्भरमार्फत उसले व्यवसायिक रुपमा बिज्ञापन राख्न पाउछ, उक्त आम्दानीलाई इन्टेनर सेवा सूचारु बनाई राख्ने जनशक्ति आदीमा खर्च गर्न पाइयो,’ वर्ल्डलिंकका प्रतिनिधी धिरेन राजभण्डारीले भने, ‘धेरै वटा डिभाइसमा एकसाथ इन्टरनेट जोडिँदा थेग्न सक्ने उच्च क्षमताको राउटर हामीले राख्ने छौं, अहिले त्यसको परीक्षण हुँदैछ, २ हप्ताभित्रै जडानको काम सुरु हुन्छ र चाँडोभन्दा चाँडो सकिन्छ।’

उनले वीरगन्जका बिभिन्न सार्वजनिक संस्थाबाट आफ्नो ठाउँमा निःशुल्क वाईफाई इन्टरनेट जोड्न आएको प्रस्ताव वीरगन्ज महानगरपालिकामार्फत पुरा गर्न पाउँदा खुसी लागेको बताए। अहिले घण्टाघर, माइस्थान, महाविरस्थान आदर्शनर मेनरोड, आदर्शनगर चोक लगायत ठाउँमा महानगरीय वाईफाई इन्टरनेट जडान हुन लागेको बताइएको छ।

प्रकाशित: २१ माघ २०७४ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App