८ वैशाख २०८१ शनिबार
अर्थ

बुद्धलाई जहाज बेच्न बोइङ टोली काठमाडौंमा

काठमाडौं – निजी वायुसेवा कम्पनी बुद्ध एयरलाई जहाज बिक्री गर्न अमेरिकी जहाज निर्माता कम्पनी बोइङका दुई उच्च अधिकारी पहिलोपटक काठमाडौं आएका छन् ।

बोइङका वरिष्ठ अन्तर्राष्ट्रिय बिक्री निर्देशक सुभेन्दु रे र एसिया प्रशान्त तथा भारत हेर्ने क्षेत्रीय बजार निर्देशक डेभिड एम स्कल्ट सम्मिलित दुई सदस्यीय टोलीले काठमाडौं आएलगत्तै नेपालमा आफ्ना जहाजका विशेषता लगायतबारे बुद्धका उच्च अधिकारीहरूसँग छलफल सुरु गरेका छन् । बोइङ टोलीले आइतबार र सोमबार दुई दिन बुद्धका अधिकारीहरूसँग जहाज बिक्री र नेपालमा आफ्ना जहाजका सम्भाव्यताबारे छलफल गर्नेछन् ।

‘बोइङको दुई उच्च अधिकारी काठमाडौं आएका छन् र हामी उनीहरूसँग छलफल गरिरहेका छौं,’ बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले आइतबार नागरिकसँग भने, ‘दुई दिनसम्म बोइङ टोलीले नेपालको भौगोलिक बनावट र हामी जाने अन्तर्राष्ट्रिय गन्तव्यसम्म उडान गर्ने उपयुक्त जहाजबारे छलफल भइरहेको छ ।’

बस्नेतका अनुसार बोइङ टोलीसँग दुई दिन छलफल गरेपछि उपयुक्त जहाजबारे थप अध्ययन गरिने छ । यसअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग पनि बुद्धले उपयुक्त जहाजबारे छलफल गरिसकेको उनले बताए । बोइङले उसको पछिल्लो उत्पादन ‘बि७३७ म्याक्स ८’ सिरिजको जहाज उपयुक्त हुने सुझाव दिएको छ । यसअघि एयरबसले उसको ‘ए३१९’ सिरिजको जहाज उपयुक्त हुने सुझाव दिइसकेको छ ।
बुद्धले आगामी वर्ष भदौ १६ बाट भारतको कोलकाता उडान सुरु गर्ने र उक्त उडान सफलतापूर्वक अगाडि बढे कम्पनी ‘जेट युग’ मा प्रवेश गर्ने उनले जानकारी दिए । कोलकाताका लागि भने ७२ सिट क्षमतायुक्त ‘एटिआर७२–५००’ सिरिजको जहाज प्रयोग गर्ने बुद्धको तयारी छ ।

‘कोलकाता उडान सफल हुनासाथ हामी बोइङ वा एयरबस दुवैका जहाजका विशेषता दाँज्छौं र जसको उपयुक्त हुन्छ उसैको जहाज खरिद गर्ने छौं,’ प्रबन्ध निर्देशक बस्नेतले भने, ‘हामी सन् २०२० जनवरीदेखि काठमाडौंबाट र सन् २०२१ अगस्टदेखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने छांै र यसका लागि बोइङ र एयरबसमध्ये एकको जहाज छनोट गर्ने छौं ।’

बोइङ वा एयरबसका जहाज खरिद गर्नुअघि धेरै सहयोगी कामको व्यवस्थापन गर्नुपर्ने बस्नेतले बताए । दुवै कम्पनीका जहाजका विशेषता, तिनका लागि गर्नुपर्ने खर्च, तिनले सम्बद्ध गन्तव्यसम्म दुईतर्फी उडानबाट हुने आम्दानी, इन्धन खपतलगायत धेरै विषयमा मिहिन अध्ययन, विश्लेषण जस्ता काम गर्न बाँकी छ ।

‘समग्रमा भन्नुपर्दा बोइङ र एयरबसका जहाजका प्राविधिक तथा वित्तीय क्षमता मूल्यांकन गर्ने छौं,’ उनले भने, ‘हामी नेपाली उड्डयन क्षेत्रमा एउटा मानक स्थापना गर्ने तयारीमा छौं र सफल भएरै छाड्ने अठोटका साथ अगाडि बढेका छौं ।’नेपालबाट २ घन्टा ३० मिनेट दूरीमा पर्ने सम्पूर्ण गन्तव्यमा ‘टर्बोप्रप’ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्न बुद्धले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विगतमै अनुमति पाइसकेको छ । उसको अन्तर्राष्ट्रिय उडान लाइसेन्स अद्यावधिक छ ।

दुई दशकदेखि आन्तरिक उडानसँगै भुटानको पारो र भारतको बनारसका लागि ‘चार्टर्ड’ उडान गर्दै आएको बुद्धले आन्तरिक उडानतर्फ ६३ प्रतिशत बजार हिस्सा ओगटेको छ । कम्पनीमा हाल करिब ८ सय ५० कर्मचारी काम गर्छन् । बुद्धले सन् २०२१ अगस्ट १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा गत असोजमा गरेको थियो । त्यसैगरी २०७५ भदौ १६ बाट भारतको कोलकाताका लागि नियमित उडान गर्ने घोषणा पनि गरिसकेको छ ।बुद्धले उडान सुरु गरेयता स्वदेशी तथा विदेशी गरी हालसम्म करिब १ करोड यात्रुलाई गन्तव्य पु¥याइसकेको छ । कम्पनीले पर्यटन÷घरेलु उडानतर्फ सबैभन्दा बढी कर÷राजस्व बुझाउन सफल पनि भएको थियो । हाल यसले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई गन्तव्य पुर्याइरहेको छ ।

बुद्धसँग हाल फ्रान्सको एटिआर कम्पनीमा निर्मित ७२ सिट क्षमताका पाँचथान ‘एटिआर७२–५००’, ४७ सिट क्षमतायुक्त तीनवटा ‘एटिआर४२–३२०’ तथा १८ सिट क्षमताका दुईवटा ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । यी १० थान  जहाजको मूल्य ७ अर्ब २५ करोड रुपैयाँबराबर रहेको छ । त्यसबाहेक कम्पनीसँग १ अर्ब २५ करोड रुपैयाँबराबर मूल्यका जगेडा पुर्जा पनि छन् ।  

हाल बुद्धले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, भद्रपुर, पोखरा, धनगढी र तुम्लिङटार गन्तव्यका लागि दैनिक करिब तीन दर्जन उडान गरिरहेको छ । त्यसैगरी काठमाडौंबाट ‘माउन्टेन फ्लाइट’ र पोखरा विमानस्थलबाट ‘अन्नपूर्ण माउन्टेन फ्लाइट’ पनि गरिरहेको छ ।

त्यस्तै विराटनगरबाट तुम्लिङटार, पोखराबाट भरतपुर र भैरहवा उडान पनि गरिरहेको छ भने २०७५ वैशाख १ देखि पोखराबाट नेपालगन्ज उडाउने मिति सार्वजनिक गरिसकेको छ । दुर्गम भेगका गन्तव्यमा उडान गर्ने योजना कम्पनीको छैन । कम्पनीले त्रिभुवन विमानस्थलमा जहाज मर्मतका लागि दक्षिण एसियाकै उत्कृष्ट ‘क्लोज्ड डोर ह्यांगर’ पनि सञ्चालन गरिरहेको छ ।

 

 

प्रकाशित: २२ माघ २०७४ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App