१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

आदिवासी फिल्मलाई आदिवासीबाटै चुनौती

पोखरा – आइतबार  पोखरामा भएको ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा आदिवासी जनजाति फिल्मको विकासका सम्बन्धमा भएको बहसका सहभागीले आदिवासी फिल्मकर्मी नै यसको विकासको बाधक भएको टिप्पणी गरे । ‘दि राइज अफ इन्डिजिनियस फिल्म’ शीर्षकमा भएको बहसमा निर्देशक नवीन सुब्बाले नेपाली वा अन्य पक्षले भन्दा आदिवासी स्वयंले यसलाई नक्कलको चंगुलमा फसाएको बताए ।

‘नेपाली फिल्म आफैं भ्रममा छ, यसैको अनुकरणमा परेर आदिवासी जनजाति फिल्म झन् भ्रममा परेका छन् । यसका लागि अरूलाई दोष दिनुभन्दा आदिवासी फिल्मकर्मी आफैंले यसको जिम्मेवारी लिनुपर्छ,’ सुब्बाले भने ।कार्यक्रममा जनजाति फिल्मको सेन्सरमा समस्या हुने गरेको र राज्यले संरक्षण नदिएकालगायतका विषयमा पनि जनजाति फिल्मकर्मीले आवाज उठाए । आदिवासी जनजातिको फिल्मलाई राज्यले प्रोत्साहन गर्ने नीति लिनु राम्रै भए पनि सेन्सरको सवालमा भने सुब्बाले आफू नेपाली फिल्मकै सेन्सर प्रणालीको विरोधी भएकाले जनजाति फिल्मको सेन्सरको पक्षमा पनि नरहेको बताए ।

‘पहिलो कुरा त यो सेन्सर गर्ने प्रणाली नै गलत छ । अझ अहिलेको संरचनाअनुसार सेन्सर हुने हो भने आदिवासी जनजातिको फिल्म सेन्सर त्यसले गर्न सक्छ जसलाई जनजातिको संस्कार र संस्कृतिको विषयमा बिल्कुलै जानकारी छैन’, सुब्बाले भने, ‘केही जातीमा न्वारनपछि बच्चालाई रक्सी खुवाउने चलन छ । तर, सेन्सर बोर्डले यस्तोमा दृश्यमा पनि सूचना लेख्न बाध्य बनाउँछ । सेन्सर गर्ने नै हो भने पनि सम्बन्धित भाषाको फिल्मकर्मीले नै गर्नुपर्छ ।’बहसमा अधिवक्ता सुरेन्द्र थापा मगर, जुनुकुमारी गुरुङ र पत्रकार विजयरत्न तुलाधर सहभागी भएका थिए । कार्यक्रमको सहजीकरण कलाकार माओत्से गुरुङले गरेका थिए ।

शुक्रबारदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा चलिरहेको फेस्टिभलमा शुक्रबार नै थप दुई विषयमा छलफल गरिएको थियो । कार्यक्रममा यसअघि निर्माता माधव वाग्ले, निर्देशक प्रचण्डमान श्रेष्ठ र बेइजिङ एकेडेमीको प्रोफेसर लि रानले सिनेमाको अर्थशास्त्रका सम्बन्धमा बहस गरेका थिए ।चिनियाँ प्रोफेसर लि रानले चीनमा फिल्मको व्यापार वर्षेनी तीस प्रतिशतले बढिरहेको जनाउँदै फिल्म र व्यापारबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताएकी थिइन् । उनले चीनमा थिएटर फिल्म र कलात्मक फिल्म गरी दुई प्रकारका फिल्म बन्ने गरेको बताउँदै कलात्मक फिल्मले अन्य संस्थाबाट सहयोग पाउने गरेको खुलाइन् ।

अर्का सहभागीहरू माधव वाग्ले र प्रचण्डमान श्रेष्ठले पनि नेपाली फिल्मको बजार ३ प्रतिशतबाट ५ प्रतिशत पुगेको तथ्यांक प्रस्तुत गर्दै नेपाली फिल्म पनि ब्रान्ड बन्दै गएको बताए ।आइतबारको अन्तिम सत्रमा भने नेताहरू ‘दि पोल्टिकल आइडेन्टिटी अफ सिनेमा’ शीर्षकमा बहसमा उत्रिए । उज्ज्वल बराल, रवीन्द्र अधिकारी र मणि शर्मा सहभागी बहसमा विकास बोर्ड तथा अन्य संस्था राजनीतिक कार्यकर्ता भर्ती केन्द्रको रूपमा परिणत हुनु दुःखद भएको बताए । ‘चलचित्र विकास बोर्ड भर्ती केन्द्र भएको आरोप हामीले पनि सुनेका छौं । यस्ता संस्था कांग्रेस एमाले, माओवादी सबैले कार्यकर्ता भर्तीकेन्द्र बनाए । कहीँ पनि भर्तीकेन्द्र बनाउनु हुँदैन,’ अधिकारीले भने ।

आइतबार १७ वटा फिल्म प्रदर्शन गरिएका थिए । सोमबार समापन हुने फेस्टिभलमा ११ फिल्मको प्रदर्शनीसँगै तीन विषयमा छलफल हुनेछ । सोमबार हुने छलफलमा ‘सिनेमा दि भिजुअल लिटरेचर’ शीर्षकमा लेखकहरू तीर्थ श्रेष्ठ, बुद्धिसागर र अनुप बराल सहभागी हुनेछन् भने सेसनको सहजीकरण गनेश पौडलले गर्नेछन् । त्यसैगरी, भारतीय र चिनियाँ फिल्मको कथ्य परम्परामा पेंग ज्वोलिनले मास्टरक्लास लिनेछन् ।महोत्सवकको अन्तिम बहसमा चैतन्य मिश्र र नविन सुब्बाले नेपाली समाजको कथ्यको खोजी शीर्षकमा बहस गर्नेछन् । विदेशी र नेपाली विधाका विजेता फिल्मलाई अवार्ड वितरण गरेसँगै फेस्टिभलको समापन हुनेछ ।
 

प्रकाशित: २२ माघ २०७४ ०३:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App