७ वैशाख २०८१ शुक्रबार
कला

बादी व्यथामाथि ‘नथिया

काठमाडौं – दाङको पश्चिम–उत्तर क्षेत्रमा बस्दै आएका बादी महिलाको कथाव्यथालाई कवि तथा निबन्धकार सरस्वती प्रतिक्षाले उपन्यास ‘नथिया’मार्फत पाठकमाझ ल्याएकी छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा बादी आन्दोलनकी अभियन्ता तथा प्रदेश सांसद उमा बादीले उपन्यास लोकार्पण गरिन् ।उपन्यासमाथि टिप्पणी गर्दै पत्रकार तथा राष्ट्रिय योजना आयोगकी आयुक्त यशोदा तिमल्सिनाले उपन्यासका सुरुवाती भाग पढ्दा आफूलाई खासै केही नलागे पनि उपन्यासको ९७ औं पृष्ठ पढेपछि आफ्नो मन हल्लिएको बताइन् । ‘पुस्तकमा पाठकले बादीको आँशु, रगत, छोटे राजाको वीर्य र सरस्वतीको कलमलाई पाउनेछन्,’ यशोदाले भनिन् ।

उपन्यास एउटा काव्य सरह भएको र लेखनको वाक्य संयोजन उत्कृष्ट रहेको उनले बताइन् । साहित्यकार पारिजातपछि आफूले सरस्वतीको लेखनमा अब्बलता पाएको दाबी गर्दै यशोदाले धेरैले महिला पात्रलाई उपन्यासमा केही गर्न नसक्ने चरित्रमा प्रस्तुत गरिरहँदा ‘नथिया’ अपवाद बनेको उनले बताइन् । ‘सरस्वतीले उपन्यासमा महिलालाई पिलन्धरेका रूपमा प्रस्तुत गरे पनि  क्लाइमेक्समा त्यही पिलन्धरे नायकका रूपमा स्थापित हुन्छिन्,’ उनले भनिन् । उनले उपन्यासमा रहेका दिवाकर पात्रलाई उपन्यासकारले नएक्लाएको भए अझ राम्रो हुने जनाइन् ।

पत्रकार तथा उपन्यासकार नारायण वाग्लेले उपन्यासलाई श्रेष्ठ उपन्यासको संज्ञा दिँदै साधारण पाठकले बुझ्ने गरी उपन्यासकारले सोझो कथाशैली प्रस्तुत गरेको बताए । ‘सुरुमा कथाले पाठकलाई अल्मल्याउनेछ । उपन्यासमा भन्न खोज्ने तर भावनाको डोरी तानेझैं तान्छ,’ उनले भने, ‘उपन्यास पढ्दा पाठकलाई रिस उठाइरहन्छ । त्यो नै उपन्यासको जमरा हो ।’ नारायणले उपन्यासमा संवाद आकर्षक र स्थानीय लवजको प्रयोग नै उपन्यासको उम्दा पक्ष रहेको जनाए ।

बादी आन्दोलनकी अगुवा उमाले आफ्नो समुदायको अवस्था, पीडित महिलाको कथामा उपन्यासमार्फत पोखेर लेखिका सरस्वतीले गुण लगाएको बताइन् । ‘नथिया बादी समुदायका लागि गीता, महाभारत जस्तै श्रद्धाको पुस्तक बनेको छ,’ उनले भनिन्, ‘हामी बादी मात्र नभई समग्र महिलाको अवस्थाका बारेमा लेखिदिनुभएकोमा सरस्वतीप्रति ऋणी छौं ।’

सरस्वतीले २०३६ देखि २०४६ सालसम्मको बादी महिलाको कथालाई प्रस्तुत गरेको बताइन् । ‘यी विषयलाई उपन्यासका रूपमा प्रस्तुत गर्नु सहज थिएन । मैले दुस्साहस गरेकी हुँ । ९५ प्रतिशत सत्य घटना समेट्ने प्रयास गरेको छु’ उनले भनिन्, ‘गणतन्त्रको घोषणापछि आफ्ना माग पूरा गराउन सिंहदरबारमा भित्री बस्त्र मात्रै लगाएर प्रदर्शनमा उत्रिएका बादी महिलाले आफूलाई उपन्यास लेख्ने प्रेरणा दिएका हुन् । मलाई उपन्यास लेख्न झन्डै १० वर्ष लाग्यो ।’
 

प्रकाशित: २२ माघ २०७४ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App