७ वैशाख २०८१ शुक्रबार
समाज

जसलाई अपांगता बाधक भएन

काठमाडौं – गोरखाको जौबारीमा ३५ वर्षअघि जन्मिएका राजु ढकालका आमाबाबुले छोराको जीवनमा यो तहको दुःख र सुःख आउला भन्ने कल्पना गरकै थिएनन् । गाउँको साधारण परिवारमा जन्मेका ढकाललाई तीन वर्षकै उमेरमा पोलियोले छोयो । परिणाम खुट्टा कमजोर भए र उनी अरूसरह हिँड्न नसक्ने भए । पढ्न खोज्थे तर डेढ घन्टाको दुरीमा रहेको स्कुलमा पुग्नसक्ने स्थितिमा उनी थिएनन्।

छोराको यस्तो अवस्था भएपछि उनका बाबुले उपचारका लागि काठमाडौं ल्याए । उपचारमा एक वर्षजति बित्यो । उपचारकै क्रममा अभिभावकले उनलाई एसओएस बालग्राममा छाडेर गए । ढकाल पढाइमा अब्बल बन्दै गए । उनी प्रायः कक्षामा पहिला हुन्थे । उनले एसएलसी र प्रमाणपत्र तह पास गरे । उनमा चिकित्सक बन्ने इच्छा जाग्यो । उनले यो इच्छा सुनाउँदा साथीभाइले चिकित्साशास्त्रजस्तो घन्टौं उठेर गर्ने काम सक्दैनस् भन्थे । साथीभाइका कुराले उनको मन पटक्कै कमजोर भएन । ‘आफन्त र साथीहरूले अभ्यास कक्षामा तीन घन्टासम्म उभिनुपर्छ, कसरी सक्छस् भन्थे,’ ढकालले विगत कोट्याउँदै भने।

‘देशमा अपांगतामैत्री भौतिक संरचना र सामग्रीको उपलब्धता र समाजमा अपागंतामैत्री सोच सिर्जना भए अपांगता भएका व्यक्तिहरू कुनै न कुनै रूपमा फुल्न–फल्न सक्छन्।’

अन्ततः काठमाडौं मेडिकल कलेजमा भर्ना भएर चिकित्साशास्त्र अध्ययन गर्न थाले उनले । खुट्टाले राम्रोसँग टेक्न सक्दैनथे। कलेजको पाँचौं तलामा पढ्न जानुपथ्र्यो । तैपनि उनले हार खाएनन् । ‘भ¥याङको छेउ समातेर माथि चढ्थें, ’उनले विगत सुनाए ।
अध्ययन अभ्यासका बेला आकस्मिक कक्षमा पक्षघात भएका, मेरुदण्ड भाँचिएका बिरामी आउँथे । चिकित्सकले निको नहुने भन्दै पठाउँथे ।  यो दृश्यले ढकाल भने भित्रभित्रै मर्माहित हुन्थे । अब यस्ता बिरामीको जीवन कस्तो होला ? यही कुरा उनको मनमा खेलिरहन्थ्यो । उनको मनमा यस्तै बिरामीको उपचार गर्ने विषय पढ्ने सोच पलायो । एमबिबिएस पास गरेपछि स्पाइनल इन्जरीको विशेषज्ञ अध्ययन गर्नेतिर लागे उनी ।  उनले सन् २०१२ मा स्नातकोत्तर तह पास गरे । अध्ययन सकेपछि उनले स्पाइनल इन्जरी रिह्याबिटेसन सेन्टर साँगामा आफूजस्तै विभिन्न कारणले अपांगता हुन पुगेका बिरामीलाई पूर्ण उपचार दिँदै आएका छन् । उपचारपछि पूर्ण सबलांग नभए पनि जीवनमा धेरै आयाम थपेर बिरामी फर्किन्छन् । ‘अपांगता भएकालाई उपचार दिँदा खुसी लाग्छ,’ उनले भने।

उपचार गर्ने क्रममा कहिलेकाहीं पूरै निको हुन नसकेका बिरामीको अवस्था देखेर उनी आफंै भावुक बन्छन् । डा. ढकालले अध्ययन र सेवाका कारण विभिन्न पाँचवटा अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेका छन् । उनको सफलता देखेका बाबुआमाले भने चमत्कारै भएको ठान्छन् । यो सफलतामा परिवार, एसओएस बालग्राममा पाएको अपांगतामैत्री भौतिक सामग्री तथा संरचना र अन्य सहयोगी सबैको देन रहेको ठान्छन् ढकाल।

अपांगताकै बीचमा फुल्नेफल्नेमा डा. ढकाल भने एक्ला होइनन् ।  २५ वर्षअघि बस दुर्घटनामा  स्पाइनल अपांगता बन्न पुगेकी नवलपरासीकी २८ वर्षीया अमृता ज्ञवालीको सफलताको कथा पनि ढकालको जस्तै छ । दुर्घटनामा पर्दा उनी तीन वर्षकी मात्र थिइन् । दुर्घटनामा उनले आमाबुवा सबै गुमाइन्।

आफन्तले सानैमा एओएस बालग्राममा राखिदिएपछि उनको जीवन यात्रा सुरु भयो । समाजशास्त्र र मनोविज्ञान विषय लिएर स्नातक तह पास गरेकी उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र तालिममा भाग लिइसकेकी छिन् । हालै सार्वजनिक अपांगमैत्री सन्देशमूलक भिडियोमा नायिका भूमिकामा देखिएकी छिन् उनी । उनले अन्तर्राष्ट्रिय गोष्ठीकै क्रममा ‘कण्ठारी स्विस फाउन्डेसनबाट परियोजना लिएर आफूजस्तै अपांगता भएकाहरूका लागि जनचेतना जगाउने कार्यक्रम गरिरहेकी छिन् । यो परियोजनाको अवधारणा उनैले बनाएकी हुन् । सञ्चार माध्यममार्फत अपांगमैत्री जनचेतना जगाउनु परियोजनाको उद्देश्य हो ।
उनले भविष्यमा विकासशास्त्रमा स्नातकोत्तर तह पूरा गरेर अपांगता भएकै कारण अध्ययन र विकासको फल चाख्नबाट वञ्चित बालबालिकालाई शिक्षा दिने योजना बनाएकी छिन् । उनी भन्छिन्, ‘परिवार र समाजमा विद्यमान नकारात्मक मनोवृत्तिले अपांगता भएकाहरू फुल्न र फल्न पाएका छैनन्, यो क्षेत्रमा सेवा गर्न चाहन्छु,’ उनले भनिन्।

त्यसैगरी शारिरीक दुर्बलतालाई चुनौती दिँदै अघि बढेका छन् काठमाडौं बालुवाटारका ३९ वर्षीय प्रवीण श्रेष्ठ । उनी २० वर्षको उमेरमा अपांग बनेका हुन्् । म्युजिक कन्सर्ट सकेर घर फर्किने क्रममा कसैले बाटैमा छुरा प्रहार गरेपछि उनको मेरुदण्डमा समस्या आयो । म्युजिक ब्यान्डमा गीत गाउँदै आएका श्रेष्ठले मल्टिमिडिया शिक्षामा हात हाले।

अपांगमैत्री भौतिक संरचना नभएकाले उनी कलेजसम्म जान सक्दैनथे । घरैमा शिक्षक बोलाएर मल्टिमिडियामा डिप्लोमा तह पूरा गरे । त्यसपछि म्युजिक भिडियो, भिडियो डकुमेन्ट्री सम्पादन तथा निर्देशन गर्न थालेका उनले हालसम्म १ हजारभन्दा बढी म्युजिक भिडियो सम्पादन र पाँच दर्जनभन्दा बढी भिडियो निर्देशन गरिसकेका छन् । केही वर्षअघि उनले आफ्नै जीवनकथामा आधारित चलचित्र ‘मोक्ष’ बनाएका थिए । हालै उनको र अमृता ज्ञवालीको अवधारणामा अपांगतामैत्री म्युजिक भिडियो बनेको छ । ‘भिडियो निर्देशन गर्दा साथीभाइले सहयोग गर्छन् र अप्ठेरो ठाउँमा पनि पुग्छु,’ उनले भने । उनको परिवारमा आठ वर्षका छोरा, पत्नी र बाबुआमा छन्।

करुणा फाउन्डेसनले अमृता र प्रवीण श्रेष्ठद्वारा निर्मित भिडियो सार्वजनिक गरेको छ । युट्युब भिडियोका रूपमा प्रकाशित यो सामग्री टेलिभिजनमा पनि प्रसारण गरिने फाउन्डेसनले जनाएको छ । देशमा अपांगतामैत्री भौतिक संरचना र सामग्रीको उपलब्धता र समाजमा अपागंतामैत्री सोच सिर्जना भए अपांगता भएका व्यक्तिहरू कुनै न कुनै रूपमा फुल्न–फल्न सक्ने भिडियो सार्वजनिक  कार्यक्रमका सहभागीले बताएका थिए।

प्रकाशित: २२ माघ २०७४ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App