८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रुसी युद्धक विमान खसालियो

दमास्कस – सिरियाली विद्रोही समूहले रुसको एउटा युद्धक विमानमा हमला गरेको छ ।विद्रोहीको आक्रमणमा परेपछि उक्त विमानलाई आकस्मिक अवतरण गराइएको थियो । अस्त्र आक्रमणबाट विमानलाई आकस्मिक अवतरण गराएपछि विमानका चालक र विद्रोही समूहबीच केही समय झडप भएको थियो ।

 सशस्त्र समूहका सदस्यहरुमध्ये कतिपयले ती चालकलाई नियन्त्रणमा लिन खोजेका थिए भने केहीले आक्रमण गरेका थिए । तर झडपकै क्रममा उनको ज्यान गएको थियो । रुसी युद्धक विमान चालकसँग झडप गरेको र चालक मारिएको तस्बिर विद्रोहीले पनि सामाजिक सञ्जालमा राखेका थिए ।‘उक्त विमानले सिरियाली उत्तरपश्चिमी क्षेत्र इडलिबमा क्षेप्यास्त्र हान्ने योजना बनाएको थियो । सो सूचनापछि विद्रोहीहरुको समूहले उक्त विमानलाई नै तारो बनाएको थियो,’ बेलायती स्काई टिभीले जनाएको छ ।

सिरियाको इडलिबमा रहेका विद्रोहीलाई लक्षित गरी पछिल्ला केही महिनादेखि रुसी विमानले आक्रमण गर्दैै आइरहेको छ । उक्त विमानले पनि क्षेप्यास्त्र हान्ने तयारी गरेको थियो । सो क्षेत्रमा दुई वर्ष अघि मात्रै पनि विद्रोहीहरुले टर्कीको एक युद्धक विमानमाथि हमला गरेर खसालिदिएका थिए । सो समय आफ्नो युद्धक विमानलाई सिरियाली सरकारी सेनाले नै खसालेको भन्दै टर्कीले दाबी गरेपछि सिरिया र टर्कीबीच सम्बन्ध बिग्रिएको थियो ।रुसी रक्षा मन्त्रालयले शनिबार भएको रुसी विमानमाथिको हमलाको पुष्टी गरेको छ । उसले सिरियाली विद्रोहीले हमला गरी रुसी विमान खसालेको र त्यसमा रहेको विमान चालकको पनि निधन भएको बताएको छ ।

‘घातक रासायनिक हतियार प्रयोग गरिएको छैन’

यसैबीच सिरियाली सरकारले विद्रोहीविरुद्धमा आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भन्दै अमेरिकाले लगाएको आरोपको खण्डन गरेको छ ।अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको आरोप लगाएको थियो ।

 सिरियाली विदेश मन्त्रालयले शनिबार विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको उक्त आरापको खण्डन गर्दै आफूहरुले यस्ता हतियारहरुको प्रयोग नगरेको स्पष्ट पारेको छ ।विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा सिरियाले घातक प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको आरोप लगाउँदै यस विषयमा अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान तथा अनुगमन गर्ने गरेका छन् ।

प्रकाशित: २२ माघ २०७४ ०४:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App