६ वैशाख २०८१ बिहीबार
राजनीति

नमुना प्रदेश बनाउने उद्‍घोष

विराटनगर- प्रदेश नम्बर १ को पहिलो बैठकमा बोल्दै सांसदहरुले नेपालकै नमूना प्रदेश बनाउने उद्‍घोष गरेका छन्। साधन–स्रोत र प्राकृतिक सम्पदामा धनाढ्य रहेको प्रदेश १ लाई ‘साँच्चिकै १ नम्बर प्रदेश’ बनाउने उनीहरुले अठोट व्यक्त गरे।

१ बजेर २० मिनेटमा जनाउ घण्टी बजेलगत्तै प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको थियो। बैठकको सुरुमा राष्ट्रिय गान र त्यसपछि सहिदको सम्मानमा १ मिनेट मौन धारण गरेपछि प्रदेश १ को पहिलो बैठक कार्यसूचिमा प्रवेश गरेको थियो। ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीले बैठकको सञ्चालन गरेका थिए।

सरावगीले प्रदेश प्रमुख गोविन्द तुम्वाहले बैठक सञ्चालनका लागि लेखेको पत्र पढेर सुनाएपछि प्रदेश १ को बैठक प्रारम्भ भएको थियो। ‘नेपाल संघीय व्यवस्थामा प्रवेश गरेपछि प्रदेशको पहिलो बैठकमा पाल्नुभएका सबै सदस्यलाई स्वागत गर्दछु,’ ज्येष्ठ सदस्य सरावगीले भने, ‘रोष्टममा आएर बोल्न ५ मिनेटको समय दिन्छु, त्यो समयको ख्याल गर्नुहोला, नभए बत्ती बालिनेछ।’

बैठक सञ्चालन गरिरहेका सरावगीले स्वतन्त्र सांसद नारायण वहादुर मगरलाई पहिला बोल्ने पालो दिए। ‘संघीय गणतन्त्र नेपालको पहिलो अभ्यास गरिरहेका छौं,’ स्वतन्त्र सांसद मगरले भने, ‘जनताले दिएको जिम्मेवारी पुरा गर्न ठूलो चुनौती र अवसर पनि छ।’ उनले प्रदेश १ साधन–स्रोत सम्पन्न रहेकाले मुलुककै नमूना प्रदेश बनाउन दलहरुबीच एकजुट हुनुपर्ने बताए।

नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले प्रदेश १ लाई बलियो बनाउने दाबी गरे। उनले प्रदेश १ शिक्षा, स्वास्थ्य, जलस्रोत, पर्यटन, उद्योग–धन्दा र कृषि क्षेत्रमा अब्बल रहेकाले यो नेपालकै नमूना प्रदेश बन्ने बताए। ‘प्रदेश १ साधन–स्रोतले सम्पन्न छ,’ उनले भने, ‘क्रियाशिल र अनुभवी जनशक्ति छ, हिमाल, पहाड र तराई सबै भुगोल सम्भावना बोकेको छ।’ नेपाली कांग्रेसका सांसद चन्द्रप्रसाद श्रेष्ठले प्रदेश १ स्रोत–साधनको दृष्टिकोणले उर्वर भूमि रहेको बताए। ‘प्रदेश १ लाई विकास र समृद्धिको हिसावले देशकै १ नम्बर प्रदेश बनाउन सकिन्छ,’ उनले भने, ‘हिमाल, पहाड र तराई–मधेस तीनवटै भुगोल समेटिएको प्रदेश हो, यसलाई बैभवशाली बनाउन दलगत एकता आवश्यक छ।’

नेकपा माओवादी केन्द्रका सांसद इन्द्रवहादुर आङबोले चुनावको बेला जनतासित गरेको प्रतिव्द्धता संसदबाट दलहरुले फेरि दोहर्‍याउनु पर्ने बताए। ‘चुनावको बेला जनतासित हामीले ठूल–ठूला प्रतिव्द्धता गरेका छौ,’ उनले भने, ‘त्यसलाई पुरा गर्न फेरि संसदमा प्रतिव्द्ध हुनुपर्छ।’ सांसद आङबोले स्रोत–साधन, प्राकृतिक बनोट र भुगोलको हिसावले प्रदेश १ सुविधासम्पन्न रहेको बताए।

संघीय समाजवादी फोरमका सांसद जयराम यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद इन्दिरा राई, संघीय लोकतान्त्रिक मञ्चका बिष्णु तुम्बाहाम्फेले प्रदेश १ लाई समृद्ध बनाउन सबै जातजाति, भाषाभाषी र समुदायलाई मुलधारमा ल्याउन आवश्यक रहेको बताए।

पहिलो बैठक सञ्चालन गरिरहेका ज्येष्ठ सदस्य सरावगीले प्रदेश सभा सभामुखको निर्वाचनका लागि माघ २९ गते सोमवार १ बजेको समय तोकेको छ। सभामुखको निर्वाचनका लागि सूचना आजै प्रकाशित गरिनेछ। बैठकले प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यबिधि समेत पारित गरेको छ। 

प्रकाशित: २२ माघ २०७४ १०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App