५ वैशाख २०८१ बुधबार
समाज

संसार लोभ्याउने यी आँखा

काठमाडौं- मैले देखेमध्येकै राम्री छिन् यी केटी, अहिलेसम्मकै मोडलहरूभन्दा पनि राम्री! एक दिन चम्कनेछिन् यी सानी एन्जेलिना जोली! उनी सेलेब्रिटी होइनन् तर अन्जानमै थुप्रै प्रशंसक कमाइसकिन्। करिब १० महिनायता प्रसिद्ध फुटबलर डेविड बेकह्यामको फेसबुक पेजमा चम्किरहेकी यी नानीलाई संसारका लाखौं आँखाले नियालेका छन्। एक लाखभन्दा बढीले 'लाइक' गरिसकेका छन्। हजारौंपटक 'सेयर' भइसकेको तस्बिरमा झन्डै २ हजार प्रतिक्रिया छन्। अधिकांश उनको अबोध दृष्टिले नतमस्तक छन्। उनको सौन्दर्य बखानमा आफ्ना 'अनमोल' शब्द खर्चिएका छन्। र, महिनौंपछि पनि यो शृंखला थामिएको छैन।

साँच्चै, यो एउटा तस्बिरमा चाहिँ 'ह्यान्डसम' बेकह्यामलाई ओझेल पारेकी छन्, यी सानी सुन्दरीले।

रातो अक्षता पहिरेर मुस्काइरहेका बेकह्यामछेउ मन्द मुस्कान छरिरहेकी गोरी बालिका। साथमा केही बालक पनि छन्। निलो पोसाकमा सजिएकी बालिकाका आँखा पनि निलै छन्। तर, पोसाकको निलोपनले उनको आँखाको गहिराइलाई अलिकति पनि ओझेल पार्न सकेको छैन। बरु दिनदिनै बेकह्यामका अझ धेरै प्रशंसक आफूतिर खिचिरहेको छ। सबैलाई जान्ने हुटहुटी छ– आखिर को हुन् यी बालिका? 

...

०७२ कात्तिक २० गते। बेकह्याम भक्तपुरे विद्यार्थीमाझ फुटबल खेल्दै थिए। युनिसेफको सद्भावनादूत हैसियतमा नेपाल भ्रमणमा थिए उनी। भक्तपुर दरबार स्क्वायरदेखि नै यी फुटबल हस्तीलाई एक झल्को हेर्न चाहनेको भिड बाक्लै थियो। सबैका आँखा उनैको मुहारमा केन्द्रित। तर, बेकह्यामका आँखा भने तिनै बालिकाको मुहारमा पुगेर अडिए। उनी अर्थात्, नरगिस बानु। त्यति बेला स्थानीय पद्मोदय उच्चमावि कक्षा ४ की विद्यार्थी। जो त्यही भिडमा बेकह्यामलाई नियाल्न तन्किरहेकी थिइन्।

बेकह्याम सरासर नरगिससामु गए। अनि आग्रह गरे– 'के म तिमीसँग तस्बिर खिच्न सक्छु?' ९ वर्षीया बालिकाले लजाउँदै स्वीकृति दिइन्। बेकह्यामले उनलाई काखमा राखे अनि भटाभट 'सेल्फी' लिए।

यो हार्दिकता त्यतिमै सीमित राखेनन्, स्वदेश फर्केपछि नरगिसलाई आफ्नो फेसबुक पेजको 'गहना' बनाए। अनि के थियो, बर्सिन थालिहाले प्रशंसाका 'कमेन्ट'। 

बेकह्यामले २०१५ नोभेम्बर ६  मा आफ्नो वालमा पोस्ट गरेको तस्बिरमा यस्ता १३ सयभन्दा धेरै कमेन्ट छन्। कसैले नरगिसको सुन्दरतालाई अद्वितीय मानेका छन् त कसैले विश्वविख्यात हलिउड अभिनेत्री एन्जेलिना जोलीसँग तुलना गरेका छन्। धेरैले उनलाई भविष्यकी चर्चित मोडल ठानेका छन्। कामना गरेका छन्– यिनको सुन्दरता नखुम्चियोस्, संसारले नियाल्न पाओस्! 

...

अब्दुल मियाँ र नाजमा खातुनकी एक्ली सन्तान हुन् नरगिस। मियाँ दम्पती भक्तपुर,  सूर्यविनायकमा पसल चलाउँछन्। नरगिस अहिले पाँच कक्षा पुगिन्। बेकह्यामको फेसबुकमा अटाएपछि सबैतिरबाट छोरीको प्रशंसा भइरहेको अब्दुल सुनाउँछन्। 'बसमा यात्रा गर्दा होस् या अन्य कतै जाँदा, यो त्यही नानी हैन भनेर सोध्ने धेरै हुन्छन्,' उनले भने, 'मलाई यो सुन्दा खुसी लाग्छ।'

नरगिस भने त्यसअघि बेकह्यामबारे केही थाहा नभएको बताउँछिन्। उनी चर्चित फुटबलर हुन् भन्ने कुनै संकेत रहेनछ उनलाई। 'विदेशीहरू आइरहने भएकाले त्यस्तै  एउटा विदेशी ठानेकी थिएँ,' उनले भनिन्, 'तर, अहिलेसम्म देखेको भन्दा राम्रो मान्छे लाग्यो।'

साथीभाइसँग बस्दै गरेका बेला बेकह्याम नजिक आएर 'ओन फोटो प्लिज' भनेको सम्झन्छिन् उनी। फोटो खिचेपछि बेकह्यामले 'तिम्रो आँखा निकै राम्रो छ' भनेर प्रशंसा गर्दै अटोग्राफ दिएका थिए।

तस्बिर 'पोस्ट' भएपछि आएका प्रतिक्रियाले सुरुका केही दिन शिक्षक, सर्वसाधारण र साथीभाइमाझ राम्रै चर्चा भयो। तर, यो चर्चा बिस्तारै विद्यालयबाहिर पनि फैलियो। 'एकाएक मसँग तस्बिर खिचाउन मानिसहरू आउन थाले,' उनले भनिन्, 'मलाई अचम्म लाग्छ।'

त्यस दिन नरगिसले घर आउनेबित्तिकै रमाउँदै 'बुबा, भरे टेलिभिजन हेर्नुस् है' भनेको अब्दुललाई अझै याद छ। 'मेरो तस्बिर खिचिएको छ राम्रो मान्छेसँग भनेकी थिई,' उनले भने, 'तर, त्यही रात लोडसेडिङ परेकाले हामीले हेर्न पाएनौं।' आफूले हेर्न नपाए पनि चिनेजानेकाले उनलाई फोन गरे। छोरीको फैलँदो प्रशंसाले दंग परे अब्दुल।

आफ्ना सन्तान सबैलाई राम्रा लाग्छन्, अमूल्य लाग्छन्। तर, अब्दुलका हकमा यो भोगाइ र अनुभूति अझ गहिरो छ। २०४१ सालमा नाजमासँग वैवाहिक बन्धनमा बाँधिएका उनका थुप्रै सन्तान जोगिएनन्। कोही जन्मनुअगावै नोक्सान भए, कोही जन्मनेबित्तिकै। विवाहको १६ वर्षपछि जन्मिएको छोरो पनि धेरै समय जिउन सकेनन्।

दम्पती गहिरो उदासीमा डुब्यो। सन्तानवियोगले चिरिएको छाती न्यानो पार्न भाइकी छोरीलाई धर्मपुत्री बनाए। तर, उनलाई पनि बिहे गरेर पठाउन परिहाल्यो। दम्पती फेरि एक्लियो। यहीबीच २०६३ सालमा नरगिस जन्मिइन्। उनीहरूलाई वरदानै पाएजस्तो भो। उदास जीवनमा फेरि खुसियाली  छायो। 'हाम्रो जीवनको सुन्दर सहारा हो यो छोरी,' आमा नाजमाले भनिन्, 'हाम्रो अमूल्य सन्तान।' 

नरगिसलाई सकेसम्म सुखमै राख्न हरदम मेहनत गरिरहेको सुनाउँछन् अब्दुल। नरगिसले चाहेजति पढाउने सोचेका छन् उनले। 'हाम्रो खासै त्यस्तो केही सपना छैन,' उनले भने, 'तर, यसको जीवन अझै सुन्दर बनाउने काममा लाग्नेछौं।'

नरगिस अहिले कक्षा ५ को परीक्षामा व्यस्त छिन् । उनका सुन्दर आँखाको चर्चा बढ्दो छ तर उनलाई त्यसको कुनै भेउ छैन। न उनी एन्जेलिना जोलीलाई चिन्छिन् न त  मोडलिङको मेलोमेसो छ। भविष्यमा के बन्ने, उनी आफैंलाई पत्तो छैन। 'खै के बन्ने थाहा छैन,' बुबाको अनुहारतिर हेर्दै उनले भनिन्, 'बरु फेरि एकपटक त्यो मान्छे (बेकह्याम) सँग भेट्ने रहर छ।'

 

प्रकाशित: ३१ श्रावण २०७३ ०१:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App