अदुवा निकासी सकसको पाठ

मङ्गलबार, २३ माघ २०७४, ०९ : ३९ ध्रुव नेपाल


एकातर्फ राजनीतिक र प्रशासनिक क्षेत्रमा सरकार गठन र प्रदेश सरकार गठनका मुद्दाहरू तातो बहसका सामग्री बनेका छन् । यस बेला भने उद्योग र वाणिज्यको क्षेत्रमा अदुवा भारत निकासीमा यसपटक आएको अवरोध त्यस्तै तातो मुद्दा बनेको थियो । व्यवसायीले अदुवा भन्सार बिन्दुमा पु¥याएर पनि फेरि गोदाममा फर्काएर ल्याउनुपरेको थियो । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको अवसर पारेर भारतले अदुवा निकासी गर्न सक्ने अनुमति दिएको भन्ने सुन्नमा आयो तर आयातकर्ता व्यवसायीले भारतीय १० लाख धितो राख्नुपर्ने सर्त राखेपछि निकासी अझ सहज नभएको निकासीकर्ताले बताएका छन् । अदुवा निकासीको समस्या प्रत्येक वर्षजसो आइरहेकाले यसको दीर्घकालीन समाधान खोज्नु जरुरी भएको छ हालसम्मको गल्तीबाट सिकेर।

निकासीमा समस्या
नेपालले निकै कम वस्तु निर्यात गर्छ, त्यसैले व्यापार घाटाको स्थिति कोसौँ ठूलो मुख बाएकी सुरसाको मुखमा भुसुनोको रूपमा रहेको हनुमानको जस्तो नेपालको अवस्था छ । हालै आएको तथ्यांकअनुसार दैनिक पौने ३ अर्ब व्यापार घाटा हुने गरेको छ । यस्तो अवस्थामा नेपालले निकासी गर्ने एक महŒवपूर्ण वस्तु अदुवासमेत निकासी हुन नसक्दा नेपालको अवस्था झन् नाजुक बनेको छ । निकासी अवरोधले अदुवा किसान त मारमा परेका छन् नै यससँग सम्बन्धित व्यवसायीले करोडौँको घाटा बेहोर्नुपर्ने भएको छ । योभन्दा पनि डरलाग्दो कुरो भारतले नेपालबाट हुने अदुवा आयातमा कोटा लगाउने तयारी गरिरहेको पनि सुन्नमा आएको थियो । यदि भारतले आउने वर्षहरूमा यसो ग¥यो भने नेपालले मुख्य रूपमा अदुवा बेच्ने गरेको भारतीय बजारमा आफ्नो उत्पादनको ठूलो हिस्सा बेच्न सक्नेछैन । योभन्दा खराब कुरो, बाघले बाख्रो खायो भन्नुभन्दा बाघ पल्केकोमा चिन्ता गर्नुपरे जस्तै अदुवा किसानको कृषिप्रति हुने मोहभंगको असर दीर्घकालीन र अत्यन्त नकारात्मक हुनेछ।

नेपाल–भारत वाणिज्य सन्धि र विश्व व्यापार संगठनको प्रावधानअनुसार अति कम विकसित मुलुकबाट हुने निर्यातलाई भारत सरकारले प्रतिबन्ध लगाउन र आयातमा शुल्क लगाउन मिल्दैन तर भारतीय अदुवा उत्पादक किसानहरूले नेपालको अदुवासँग प्रतिस्पर्धा गर्नुपर्ने हुँदा यसलाई दुरुत्साहित गर्न सरकारमाथि दबाब सिर्जना गरेको कारण हालको निकासीमा अवरोध पु¥याउने कारण रहेको भनिन्छ । त्यस अलावा केही समयदेखि भारतमा लागु गरिएको वस्तु तथा सेवा कर (जिएसटी) पनि हालको अवरोधको बहाना बनेको थियो । नेपालको अदुवा कम गुणस्तरको रहेको भनी भारतीय व्यापारीहरूले दोष लगाउने गरेका छन् भने भारतीय सरकारी संयन्त्रको आरोप नेपालबाट भारत निकासी हुने अदुवामा चिनियाँ अदुवा मिसाई तस्करी हुने गरेको छ ।
कहिले आयातमा त कहिले निर्यातमा हामीले भारतबाट हण्डर खाँदै आइरहेका छौँ । २०७२ सालमा संविधान जारी भएपछि भारतले जुन तवरले अघोषित नाकाबन्दी लगायो, त्यसपछि भारतमाथिको निर्भरता नै समस्याको कारण हो भनी उत्तरतिरबाट समेत अत्यावश्यक सामान ल्याउन सकिने उपाय खोजिनुपर्छ भन्ने आवश्यकता बोध भएको थियो र तत्कालीन सरकारका प्रमुख केपी ओलीले उत्तरतिरको ढोका खोल्न पहल गरेका थिए । तत्पश्चात् बाँदरले पानीमा रुझ्दा घर बनाउँछु भनी गरेको प्रण पानी रोकिएपछि बिर्सिएझैँ भएको छ । अदुवा निकासीलाई आउने अवरोध यसको ज्वलन्त उदाहरण हो । सन् २०१२ देखि पटक–पटक अवरोध आउँदै गरेको कुराले यस खाले संकट आउने पर्याप्त सङ्केत दिएको भए पनि बेलामा नै यसलाई झेल्ने सार्थक प्रयास नगरिएले यस वर्ष भयङ्कर संकट आयो । यदि भारतले यस वर्ष अदुवा निकासी गर्ने अनुमति दिएर यो समस्या सुल्झिन्छ जस्तो देखिएको भए पनि दीर्घकालीन समाधान भयो भनेर ढुक्क हुन मिल्नेछैन– कारण समस्याको मुख्य कारण ज्यूँ–का–त्यूँ राखेर दीर्घकालीन समाधान हुन सक्दैन, बरू फोहोर कार्पेटमुनि दबाए जस्तो मात्र हुने हो।

समस्याको चुरो
अदुवा निकासीमा आएको समस्याको मुख्य जड भारतमाथिको एकल निर्भरता हो । व्यावसायिक रणनीतिका विश्वविख्यात विद्वान् माइकल पोर्टरका अनुसार एक उद्योगको प्रतिस्पर्धात्मक वातावरणको अध्ययनका लागि पाँच महत्वपूर्ण पक्षहरू हुन्छन्, जसमध्ये एक हो खरिदकर्ता । अरू पक्षहरू हुन्, नयाँ व्यवसायीको प्रवेश, आपूर्तिकर्ता, विस्थापनको सम्भावना । यदि खरिदकर्ता धेरै बलियो छ, उसको दररेट र सर्त लागु गराउन सक्छ भने बिक्रेता निरीह बन्छ, उसले भनेको मान्नुपर्छ । अत्यधिक निर्भरता हुन्छ । यसको समाधानको रणनीति भनेको नै बलियो क्रेतामाथिको निर्भरता घटाउनु हो । यो भनेको क्रेताको विविधीकरण गर्नु हो । यदि क्रेता धेरै छन्, एउटा क्रेतामाथि मात्र भर पर्नु पर्दैन भने उद्योग बढी प्रतिस्पर्धी हुन्छ– पोर्टर भन्छन् । यो अदुवा निकासीमा नेपालमाथि पूर्णतः लागु हुने उदाहरण हो।

नेपालको अवस्था
नेपाल विश्वमा नै अदुवा उत्पादनमा तेस्रो ठूलो मुलुक हो भारत र चीनपछिको । सन् २०१४ मा विश्व खाद्य तथा कृषि सङ्गठनले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वमा हुने अदुवा उत्पादनको भारतले कुल उत्पादनको ३० प्रतिशत, चीनले १९ प्रतिशत, नेपालले १३ प्रतिशत उत्पादन गरेको थियो । अदुवा उत्पादनको ८० प्रतिशत निकासी हुने गरेको छ । सो वर्ष नेपालको अदुवा उत्पादन २ लाख ७६ हजार १५० मेट्रिक टन रहेको थियो । निकासी हुने अदुवाको ९४ प्रतिशत कच्चा रूपमा गत वर्ष अदुवाको ठुँडो २० करोड रुपियाँको र सुकाएको सुठो ३७ करोड रुपियाँको भारतमा निकासी भएको थियो । अदुवा उत्पादनमा तेस्रो ठूलो उत्पादक मुलुकले कच्चा अदुवाको सट्टा यसका प्रशोधित रूपका औद्योगिक वस्तु र उपभोक्ता वस्तु उत्पादन गरी निकासी हुनु पथ्र्याे, सो भएको छैन । यो नै समस्या बल्झाउने मुख्य कारण हो।

संयुक्त अधिराज्य सरकारको सहयोगमा सञ्चालित समर्थ र नेपाल अदुवा कृषक र व्यापारी संगठनको संयुक्त सहयोगमा डा. बुद्धिप्रकाश शर्मा अधिकारीले गरेको अध्ययनमा आधारित प्रतिवेदन ‘नेपाल जिन्जर प्रोफाइल २०१६’ मा व्यवसायीका लागि आवश्यक पर्ने नेपालको अदुवाको भौतिक र जीव रासायानिक गुण के कस्तो छ भनी जानकारी प्रदान गरिएको छ । अध्ययनमा १५ जिल्लाका ३० पकेट क्षेत्रबाट लिइएका नमुना परीक्षण गरिएको थियो।  

प्रतिवेदनका अनुसार अदुवाका ६ वटा भौतिक गुणहरू र ३ वटा जीव रासायनिक गुणले अदुवाको गुणस्तरमा फरक पार्छ । प्रतिवेदनअनुसार ३ जीव रासायानिक गुणहरू जस्तै अदुवामा हुने बास्नादार तेल, मसला गुण तथा रेसाको मात्रा (फाइबर) को आधारमा कच्चा रूपमा नभई अरू दोस्रो, तेस्रो चरणको वस्तु बनाउन सकिने हुन्छ।

अदुवाको अत्यावश्यक तेल खानामा र पेय पदार्थमा प्रयोग गरिन्छ । चीन यस्तो तेल उत्पादनमा अग्रणी छ भने भारत दोस्रो स्थानमा छ । सन् २०१६ मा यस्तो तेलको विश्वमा ५१७.६८ टन माग रहेकामा सन् २०२२ मा ४,२१२ टन अर्थात् आठ गुनाभन्दा बढी हुने अनुमान छ । ३० ठाउँबाट नमुना संकलन गरिएकोमा १९ ठाउँको अदुवामा अन्तर्राष्ट्रिय गुणस्तरभन्दा राम्रो गुणस्तर रहेको पाइएको थियो । यसको मतलब विश्व बजारमा अदुवाको तेलको माग तीव्र गतिमा बढेको र नेपालको अदुवामा यस्तो तेलको मात्रा राम्रो रहेको देखिएको हुँदा तेल निकालेर निकासी गर्ने राम्रो मौका छ।

अदुवामा बास्ना र अन्टिअक्सिडेन्ट गुण सिर्जना गर्ने रासायनिक पदार्थ भनेको ओलियोरेसिन हो । यो पदार्थ नै खानामा, औषधी र पेय पदार्थमा प्रयोग गरिन्छ । भारतका कम्पनीहरूले यो विश्व आवश्यकताको ६० प्रतिशत आपूर्ति गर्छन् । नेपालमा उत्पादन हुने अदुवामध्ये अधिकांशमा राम्रो नै अनुपातमा ओलियोरेसिन पाइएको छ । यसको अर्थ यो पदार्थ पनि निकालेर निकासी गर्न सकिन्छ।

अदुवाको अर्को गुण भनेको रेसा हो । जति कम रेसा भयो अदुवाबाट बन्ने खानेकुरा जस्तै क्याण्डी, सिरप, अदुवाको बियर, अदुवाको मसिना दाना (क्रिस्टल) बनाउनको लागि राम्रो मानिन्छ  । नेपालमा उत्पादन हुने अदुवामा रेसाको मात्रा अलि बढी रहेको पाइएको  छ । यदि अदुवा रोपेको पाँच देखि ६ महिनामा खनियो भने त्यसमा रेसाको मात्र कम रहन जान्छ।      

के गर्ने त अब ?
यो सालको अदुवाको बजारसम्बन्धी समस्याको समाधानका लागि भारतसँग हालको अवरोध हटाई जुन रूपमा हामीसँग अदुवा छ, त्यही रूपमा निकासी गर्न देऊ भन्नुबाहेक केही छैन किनकि अधिकांश अदुवा खनिसकिएको छ, निकासीका लागि ढिलो भइसकेको पनि छ । अन्य विकल्पमा जाँदा समय लाग्छ, त्यति पर्खिने समय छैन । तर खुसीको कुरा नेपाली निकासीकर्ताले केही ट्रक अदुवा बंगलादेश पु¥याएका छन् । आवश्यकता नै आविष्कारको जननी हो भनेझैँ नयाँ विकल्पको खोजी सुरु भएको छ । आगामी सालमा र त्यसभन्दा पछिका वर्षहरूमा पनि भारतमाथि अत्यधिक निर्भर हुनु भनेको यस्तै सकसको निरन्तरता नै हुने हो । यसको दिगो हल खोज्न अदुवाका आयातकर्ता मुलुक तथा यसका उत्पादनका सामग्रीहरूमा विविधीकरण गरिनुपर्छ । जसरी सबै अण्डा एउटा टोकरीमा राख्यो भने सबै फुट्ने डर हुन्छ, त्यसै गरी एक देश वा थोरै क्रेतामा भर पर्दा जोखिम हुन्छ।  

हालसम्म कच्चा वा सुकेको अदुवा मात्र निकासी हुँदै आएकोमा अदुवाको तेल, ओलियोरेसिन निकाल्ने र खानेकुरा र पेय पदार्थ उत्पादन गर्ने प्रविधि र सीप भएका नेपाली व्यवसायी सायद छैनन् । यस अवस्थामा नेपाली व्यवसायीलाई त्यो प्रविधि, सीप सिक्ने अवसर जुटाउने वा विदेशी व्यवसायीलाई नेपालमा लगानी गर्न उत्प्रेरित गर्ने काम गर्न जरुरी छ । यसका लागि आर्थिक कूटनीतिको पहल गर्नु जरुरी छ नेपाली दूतावासले । आउने समयमा अदुवा उत्पादन र निकासीलाई अझ प्रवर्धन गर्ने कार्यमा संघमा रहने कृषि, वाणिज्य, परराष्ट्र जस्ता मन्त्रालयका अतिरिक्त प्रदेश तथा स्थानीय तहका निकायको समन्वयात्मक प्रयास जरुरी हुनेछ । समन्वयको राम्रो पद्धति विकास गर्न नसकिएमा ‘तै रानी, मै रानी, को भर्ला कुवाको पानी’ जस्तो अवस्था हुन सक्नेछ।





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

फिल्म अभिनयमा अर्की सुन्दरी !

फिल्म अभिनयमा अर्की सुन्दरी !

मिस नेपाल सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन मात्र होइन, फिल्म प्रवेशको पनि माध्यम बन्दै गएको छ । पछिल्लो समयमा पूर्वमिस...

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘कान्छी’को रेड कार्पेट सो गरिएको छ । आइतबार कुमारी हलमा आयोजना गरिएको सेलिव्रेटी सोमा मह...

थापा र वैद्यलाई कृपा सम्मान

थापा र वैद्यलाई कृपा सम्मान

कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ गीतकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ ।...

रसियामा नेपाली नाटक मञ्चन

रसियामा नेपाली नाटक मञ्चन

रसियाको नोभोसिबिर्सक सहरमा भइरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन्।