दिल्ली किन काठमाडौँ आयो ?

मङ्गलबार, २३ माघ २०७४, १० : ०१ पुरञ्जन आचार्य


भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमणले कैयन् कूटनीतिक प्रश्न तेर्साएका छन् । भूराजनीतिबारे अनेकन् गम्भीर अवस्था छ भनी बुझ्न सकिन्छ । विश्व राजनीतिका खेलाडीहरू परिवर्तन भएका छन् यतिखेर । नेपालको भूराजनीतिमा आजको जस्तो अवस्था कहिल्यै नआएको होइन तर आजको जस्तो शक्तिशाली चीन भने विगत पाँच सय वर्षदेखि कहिल्यै थिएन । सुषमा स्वराजको नेपाल भ्रमण अर्थात दिल्लीको काठमाडाैँ भ्रमण यही विश्व राजनीतिमा आएको फेरबदलको कारण भएको मान्न सकिन्छ।

कुनै समय गोर्खाली सेना नेपाल राज्यको विस्तार गंगाको किनारसम्म गर्न तम्सेका थिए, गोर्खाली सेना रगतले लतपत खुकुरी र हात गंगा नदीमा धुने सपना बोक्थे । पूर्वको टिस्टामा रगतले लतपत खुकुरी र हात गोर्खाली सेनाले धोए पनि । अहिलेको नेपाली सेना र नेपाल राज्यले नयाँ दिल्लीलाई काठमाडौँ आउन बाध्य पार्ने त्यस्तो छाती बोक्दैन पनि । तर गंगा जमुनाको समतल मैदानमा बस्ने दिल्लीको चीनले सातो खाएको छ।

हिमाल पार गर्दै नेपाल हुँदै भारतको सीमावर्ती क्षेत्रसम्म बाटो बनाउने चीनको महत्त्जाकांक्षाले भारतलाई तर्साएर राखेको छ । पाँच सय वर्षदेखिको निन्द्राबाट झण्डै चार दशकअगाडि ब्युँझिएको चीनले भारतलाई मात्र होइन, सम्पूर्ण पश्चिमा जगतलाई पनि थर्काएको छ, विश्व राजनीतिको प्रमुख खेलाडी बन्दैछ।  

नेपालको संविधान जारी गर्न नदिने भारतीय सोच र प्रवृत्तिले हार खाएको छ । नेपाल र नेपालीको स्वतन्त्रपूर्वक निर्णय गर्न सक्ने हैसियतमाथि कसैको हैकम चल्न सक्तैन भन्ने मान्यता स्थापित भएको छ  दिल्लीको काठमाडौँ दौडाहाले । 

इतिहास साक्षी छ, नयाँ दिल्ली आफ्नै चिन्ता र छटपटीले दौडिएर काठमाडौँ आएको यो पहिलो घटना हो । नेपालका दिल्ली धाउने बानी परेका नेताहरू दिल्ली नै काठमाडाँै धाउने दिन यसरी आउने रहेछ भनी तीनछक्क परेका होलान् यतिखेर। कतिपयले आफ्नो पुरुषार्थ पनि ठान्दा हुन् यो घटनालाई लिएर । नेपालका नेताहरूलाई अविश्वसनीय लाग्ने यो घटनाले नेपालीको स्वाभिमान र सोचमा भने एक सय असी डिग्रीको फरक आएको छ यतिखेर । नेपालको संविधान जारी गर्न नदिने भारतीय सोच र प्रवृत्तिले हार खाएको छ । नेपाल र नेपालीको स्वतन्त्रपूर्वक निर्णय गर्न सक्ने हैसियतमाथि कसैको हैकम चल्न सक्तैन भन्ने मान्यता स्थापित भएको छ  दिल्लीको काठमाडौँ दौडाहाले।   

भारतीय विदेशमन्त्रीको ‘आत्तिएर’ गरिएको नेपाल भ्रमण भारतका प्रम नरेन्द्र मोदी र टिमको मात्र नभएर भारतीय राज्यको हो । भारत सरकारको हो । यो भ्रमण नेपाल–भारत सम्बन्धको ‘कोर्स करेक्सन’ मात्र हुन सक्तैन । यसका पछाडि निसन्देह नेपालको भूराजनीति अनि विश्व राजनीतिमा विकसित भइरहेको नयाँ शक्ति, नयाँ सोच र नयाँ दबाबहरू पनि कारक छन।    

संयोग नै भन्नुपर्छ, भारतका कूटनीतिज्ञ र चीन विशेषज्ञ श्यामशरणले फेरि एकपटक नेपाल नीतिमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पुनर्विचार गर्न बाध्य पारेको अनुमान गर्ने आधार प्रशस्त छन् । जयपुर साहित्य सम्मेलन जनवरी २८, २०१८ को ‘भारत र विश्व’ शीर्षकमा श्यामशरण भारतका छिमेकहरूबारे बोल्दै थिए र उनको भाषणको केन्द्रमा नेपाल थियो । नेपाल–चीनको भावी सम्बन्ध थियो र त्यसले भारतको सुरक्षा संवेदनशीलतमा पार्ने प्रभाव थियो।

चीन विश्व समुदायलाई बेवास्ता गरी आफ्ना छरछिमेक देशहरूमा ‘रोड नेटवर्किङ’ गर्दैछ र यस क्रममा अरु राष्ट्रको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गरी अगाडि बढ्दैछ– भारतको यो मान्यता छ । श्यामशरणले यो विषयलाई बढो गम्भीरपूर्वक जयपुर सम्मेलनमा उठाए । नेपालको पूर्व–पश्चिम राजमार्गलाई तिब्बत हुँदै रोड लिंकबाट जोड्ने योजना गर्दैछ चीनले– श्यामशरणले यो पनि भने । त्यतिमात्र होइन, वामपन्थी सरकार निर्माणपछि चीन–नेपाल सम्बन्ध थप सुदृढ भएर पोखरामा चीनको ‘कन्सुलेट कार्यालय’ खोल्ने र नेपालको तराईमा चीनका बंैकहरू स्थापना हुने कुरा पनि उनले सोही साहित्यिक सम्मेलनमा उठाए ।
श्यामशरण नेपालीहरूका लागि नौलो नाम होइन, गणतान्त्रिक नेपाल निर्माणको आधारशीला राख्न कांग्रेस र माओवादीबीच सहकार्य गराउने सूत्रधार यिनै श्यामशरण थिए । अमेरिका र भारतबीच एक दशकअगाडि ‘न्युक्लियर डिल’ गराएर सम्बन्धको नयाँ आयाम थप्ने पनि यिनै श्यामशरण थिए।

नेपालीहरू उत्तरतिर चीनसँग रोड कनेक्टिभिटीलाई लिएर आश्वस्त हुन सकेका छैनन् अझै, आवश्यकता भने अनुभव गरेका थिए भारतीय नाकाबन्दीको समय । सम्भव छ र हिमालय पर्वतलाई पार गरेर बाटो ल्याउन भनी शंका उत्पन्न छ नेपालीबीच । तर चीनको क्षमतामाथि भारतले विश्वास गरेको देखिन्छ । विश्वले भरोसा गरेको छ । तसर्थ, भारतीय विज्ञहरू चीनको क्षमतालाई लिएर चिन्तामात्र गरिबसेका छैनन्, काउन्टर रणनीति कसरी अपनाउने भन्ने तयारीमा पनि जुटेका देखिन्छ।

सुषमा स्वराजको काठमाडौँ भ्रमण नेपालसंगको कोर्स करेक्सनमात्र होइन । भारतीयहरू अझै पनि उदात्तभावले नेपालसँग जोडिन चाहन्छन् भनी विश्वास गर्ने ठाउँ छैन । यसका कैयन् उदाहरण नेपालको सीमामा भेटिन्छ, दिल्ली र बम्बैका सहरहरूमा नेपालीमाथि गर्ने व्यवहारमा भेटिन्छ । भारतका विश्वविद्यालयहरूमा पढ्न जाने नेपालीहरूले पाएको हैरानी र परेसानीमा भेटिन्छ । नेपालका प्राकृतिक स्रोत र साधनमाथि ‘ओगटेरमात्र राख्ने’ भारतीय सोचमा देखिन्छ, हुलाकी मार्ग र उत्तर दक्षिण बनाउने भनेका बाटोहरू नेपाल–भारत सम्बन्धलाई गिज्याएर बसेका छन् । सधैँभरि नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, सामाजिक र आर्थिकरूपले एक छ भन्दाभन्दै पनि केही त फरक छ जुन भारतले बुझ्न सकेन र नै आज आत्तिएर दिल्ली काठमाडौँ आउनुपरेको छ।

श्यामशरणका अभिव्यक्तिहरू भारतका प्रधानमन्त्री मोदीका लागि नेपाल नीतिमा ‘कोर्स करेक्सन’ गर्ने विषय बन्यो कि बनेन थाहा छैन तर उनी यतिखेर भारतले चीन नीति कसरी अगाडि बढाउने भन्ने प्राधिकार राख्छन् र भारतीय जनता पार्टीको सरकार पनि यिनीबाट प्रभावित छ भनी साउथ ब्लकका मानिस यिनको कुरा काट्छन् । तर जसरी भारतले नेपालमाथि नाकाबन्दी लगाएर कूटनीतिको मात्र होइन, मानवीय मर्यादासमेत नाघेको थियो विगतमा अहिले कोर्स करेक्सनको बाटो लिँदा पनि दुई सार्वभौम राष्ट्रबीचको मर्यादाको ख्याल भएन भनी नेपालभित्र आलोचना गर्नेहरूको कमी छैन।

भारतीय विदेशमन्त्रीको काठमाडाँै भ्रमणबाट सबैभन्दा अमर्यादित र अपमानजनक अवस्थामा नेपालका प्रधानमन्त्री, परराष्ट्र मन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवा देखिए । के थियो होला देउवाको मानसिक अवस्था सुषमा स्वराजको नेपाल बसाइँको अवधिभर ? एकातिर दिग्विजय गरेको वाम गठबन्धन छ, अर्कोतिर सम्पूर्ण पराजय बेहोरेका देउवा छेउ किनारामा कतै हराएको अवस्थामा छन् । विचरा देउवा यति धेरै अन्तर्राष्ट्रिय अपमान बेहोर्ने अनुमान हुन्थ्यो भने कमसेकम कामचलाउ भएर बस्थे कि धेरैअगाडि ?

म देउवाप्रति दया गर्न सक्छु । देउवा स्वयम्को पीडा अनि त्यसको कांग्रेसमा प्रभाव र चर्चा कसरी होला भावी दिनमा ? यो पनि रोचक विषय हुनेछ अब । जब भारतका परराष्ट्र मन्त्री नेपालका परराष्ट्र मन्त्री र प्रमलाई नजरअन्दाज गर्दै खड्गप्रसाद ओलीको निमन्त्रणामा नेपाल आउँछन्, सोल्टीमा भोज चल्छ र भावी दिनमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्छ । स्मरण होस्, खड्ग ओली यतिखेर नेपाल कम्युनिष्ट पार्टी एमालेको अध्यक्षमात्र छन् । उनको दलले जनताबाट मत जितेको छ तर ओलीको राजकीय हैसियत यतिखेर शून्य छ।

भारतले खड्ग ओलीसँग प्रमको हैसियतमा सबै डिल ग¥यो । किन यस्तो भयो होला भनी नेपालका संविधानविद् र कांग्रेस सभापति देउवा एकछिन घोत्लिनुपर्ने भयो । भनिरहनु पर्दैन, लोकतन्त्रमा सबैभन्दा शक्तिशाली जनमत हुन्छ । जनमतको परिणाम नेपालको निर्वाचन आयोग र सरकारले रोकेर राखे पनि विश्वको आँखाबाट लुक्न सकेन, सक्तैन । कमसेकम सार्वभौम नेपाली जनताको सम्मान कांग्रेस सभापति, निर्वाचन आयोग र संविधानका पण्डितहरूले नगरे पनि सुषमा स्वराजबाट भयो । नेपालमा निर्वाचनबाट नयाँ सरकार बन्दैछ भन्ने उत्साहलाई पानी खनाइरहँदा भारतीय परराष्ट्र मन्त्रीले एकपटक सबै नेपालीलाई निर्वाचन परिणाम स्मरण गराइन्।  

श्यामशरणले चीन आर्थिक, सैनिक, वैज्ञानिक र प्राविधिक सबै क्षेत्रमा महान् शक्ति राष्ट्र हो तर चीनको व्यवहार भने भारत र अरु राष्ट्रहरूको संवेदनशीलता नबुझ्ने नियतको छ भनी चीनविरुद्ध अमेरिका, जापान, भारत, अस्ट्रेलिया र  भियतनामको गठजोड आजको आवश्यकता हो भनी जयपुर साहित्य सम्मेलनमा सुझाव दिए।

नेपालमा धेरै पहिलेदेखि चर्चा थियो पश्चिमाहरू र भारतको गठजोड चीनलाई नियन्त्रण गर्ने र अस्थिर बनाउने छ भनी । संभवतः महाशक्ति राष्ट्रतर्फ अगाडि बढेको चीनलाई अस्थिर बनाएर अगाडि बढ्नुभन्दा चीनविरुद्ध गठजोडको नयाँ नीति श्यामशरणले सुझाएका छन् यतिखेर । भारतीय विदेशमन्त्रीको काठमाडौँ भ्रमण नेपाल–भारत सम्बन्धमा दिल्लीको कोर्स करेक्सन भयो भनी दंग पर्दा भावी दिनमा ओली सरकार भूराजनीतिको चेपुवामा पर्न सक्छ । नेपालको कर्मचारीतन्त्र र पश्चिमा फन्डबाट चलेका गैरसरकारी संस्थाहरू चीनविरुद्धको गठजोडको गोटी बन्ने खतरा छैन भन्न सकिन्न।    

जतिखेर सुषमा स्वराज नेपालमा थिइन् भारतमा बजेट भाषणको गर्मागर्मी थियो । त्यही बजेट भाषणमार्फत भारतले नेपाललाई दिँदै आइरहेको सहयोगमा भारी वृद्धि ग¥यो । यो पनि संयोग नै भन्नुपर्छ कि जयपुर साहित्य सम्मेलनमा श्यामशरणले भारतले छिमेकीहरूसँगको सम्बन्धलाई नयाँ ढंगले, नयाँ आयामबाट प्रो–एक्टिभ भएर अगाडि बढ्ने प्रयत्न किन नगर्ने भनी सुझाएका थिए । खुला र उदात्तभावबाट छिमेकी देशसँग भारतले सम्बन्ध सुधारको थालनीबाट मात्र दक्षिण एशियामा चीनको प्रभाव रोक्न सकिन्छ, अन्यथा ढिलो भइसक्यो– शरण चिन्तित पनि थिए आफ्नो भनाइमा।

सुषमा स्वराजको नेपाल भ्रमण भारतीय पक्षको प्रो–एक्टिभ क्रिया थियो जुन एक हप्ताअगाडि मात्र श्यामशरणले सुझाएका थिए । यद्यपि नयाँ दिल्ली र काठमाडाँैबीच सामाजिक, आर्थिक, व्यापारिक र सैनिक सम्बन्धबाट काम गर्ने सूत्र धेरै छन् । राजनीति बिगँ्रदा पनि सयकडौँ वर्षदेखि दुई देशबीच रहेको वैवाहिक, पारिवारिक, सैनिक, धार्मिक र व्यापारिक सम्बन्धहरूले नेपाल–भारत सम्बन्धको कोर्स करेक्सन गर्न मद्दत गरिरहेकै हो । यो पटक पनि ट्रयाक टुमार्फत नेपाल–भारत सम्बन्ध सुधार्न भावी प्रम ओलीले प्रयत्न गरिरहेकै थिए भनी सुनिन्छ । ओलीको प्रयत्नसँग भारतको आवश्यकता गम्भीररूपमा जोडिन पुग्नु संयोगमात्र हुन गएको होला र? 

प्रश्न छ– के राज्यस्तरबाट ‘ट्रयाक वन र ट्रयाक टु’ बाट सम्बन्ध सुधारका लागि भएको भारत र नेपालको यो प्रयत्नलाई नेपाली जनताले पनि सहजरूपमा तत्कालै स्वीकार्लान् ? के वामपन्थी गठबन्धनका लागि भारतसँगको सम्बन्ध सुधारले राजनीतिक क्षति बेहोर्नुपर्ला भावी दिनमा ? या चीनको भूमिका अब कसरी आउला ?

भावी प्रम ओलीसँग मैले माओवादी केन्द्रका नेता पुष्पकमल दाहाललाई व्यवस्थापन गर्ने प्रमुख चुनौती, नेपालको भूराजनीतिलाई व्यवस्थापन गर्ने दोस्रो चुनौती र वाम गठबन्धनले राजनीतिक स्थिरता दिएर समृद्ध नेपाल अगाडि बढ्दैछ भनी ‘होप’ कायम राख्ने तेस्रो चुनौती छ भन्दै आएकामा अब पहिलो चुनौती दोस्रोमा पुगेर दोस्रो चुनौती पहिलोमा आएको बुझिन्छ । भारतको सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्दै चीनको विश्वास र भरोसा कायम राखी नेपालको स्थिरता र नेपालीको समृद्धिको बाटो कोर्ने चुनौती भावी प्रम खड्ग ओलीसामु छ । यसको तयारी अहिलेबाट सुरु होस्, भावी प्रम ओलीलाई यही शुभकामना छ।





यसमा तपाईको मत

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

फिल्म अभिनयमा अर्की सुन्दरी !

फिल्म अभिनयमा अर्की सुन्दरी !

मिस नेपाल सौन्दर्य प्रतियोगितामा आफ्नो प्रतिभा देखाउन मात्र होइन, फिल्म प्रवेशको पनि माध्यम बन्दै गएको छ । पछिल्लो समयमा पूर्वमिस...

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सेलिव्रेटीलाई मन पर्याे ‘कान्छी’

सफलताका साथ प्रदर्शन भइरहेको फिल्म ‘कान्छी’को रेड कार्पेट सो गरिएको छ । आइतबार कुमारी हलमा आयोजना गरिएको सेलिव्रेटी सोमा मह...

थापा र वैद्यलाई कृपा सम्मान

थापा र वैद्यलाई कृपा सम्मान

कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ गीतकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ ।...

रसियामा नेपाली नाटक मञ्चन

रसियामा नेपाली नाटक मञ्चन

रसियाको नोभोसिबिर्सक सहरमा भइरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिभल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकडेमीका विद्यार्थीले नाटक प्रस्तुत गरेका छन्।