coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

केयुलाई कोरियाको एक अर्ब रुपैयाँभन्दा बढी सहयोग

बनेपा– काठमाडौं विश्वविद्यालय(केयु)को ‘क्याम्पस टु कम्युनिटी’ अवधारणालाई सहयोग पु¥याउन कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले अर्थ मन्त्रालयमार्फत एक अर्ब रुपैयाँभन्दा बढी (१० मिलियन अमेरिकी डलर) उपलब्ध गराउने भएको छ।

यससम्बन्धी सम्झौतापत्रमा अर्थसचिव शंकरप्रसाद अधिकारी र नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिकले मंगलबार अर्थ मन्त्रालयमा हस्ताक्षर गरेका छन्।

केयुले एकीकृत ग्रामीण विकास कार्यक्रम एवं विज्ञान र प्रविधि विकास परियोजनाअन्तर्गत नवीनतम खोज, अनुसन्धान र विकासमा आगामी ८ वर्ष (सन् २०२३) सम्म सो रकम खर्च गर्नेछ । यसअन्तर्गत नवीकरणीय ऊर्जा, कृषि विकास र जीविकोपार्जन सुधारका लागि विभिन्न अनुसन्धनात्मक र विकास कार्य सञ्चालन गरिने केयुका उपकुलपति प्राडा रामकण्ठ माकजू श्रेष्ठले बताए । ‘केयुमा समुदायका सबै मानिस विद्यार्थीका रूपमा आउन नसक्ने भएकाले उनीहरूकै घरआँगनमा हाम्रा अनुसन्धानकर्ता र विद्यार्थी ‘क्याम्पस टु कम्युनिटी कार्यक्रम’ मार्फत पुगेर उनीहरूसँगै मिलेर नवीकरणीय ऊर्जा, कृषि विकास र जीविकोपार्जन सुधारका अनुसन्धान र कामहरू गर्नेछन्’, उनले भने। 

यसका लागि केयुले केन्द्रीय कार्यालय हाता धुलिखेल, बखुण्डोलमा अत्याधुनिक अनुसन्धान केन्द्र र विभिन्न ग्रामीण क्षेत्रमा उपकेन्द्रहरू स्थापना गर्दै उचित अनुसन्धान र विकासको वातावरण सिर्जना गराउने जनाएको छ । ‘केयूमातहत कम्युनिटी एजुकेसन प्रोग्राम र धुलिखेल अस्पतालको आउटरिच सेन्टर गरी विभिन्न ग्रामीण क्षेत्रमा अनुसन्धान र विकास गर्नेछौं,’ श्रेष्ठले थपे। 

विगत एक दशकदेखि कोइकाले विभिन्न कार्यक्रममार्फत केयुलाई सहयोग गर्दै आएको उपकुलपति श्रेष्ठले बताए, ‘केयु र कोरियाका १३ वटा विश्वविद्यालयबीच सम्बन्ध विस्तार भएको छ । पूर्वाधार निर्माण तथा गुणस्तरीय शिक्षाका लागि कोरियाले केयुलाई गर्दै आएको सहयोग अतुलनीय छ,’ उनले थपे।

कोरियाली राजदूत सिकले केयुसँग सम्झौतापत्रमा हस्ताक्षर भएको कार्यक्रम कोइका नेपालकै ठूलो कार्यक्रम भएकाले यसलाई कोरियाली जनता र सरकारको उपहारका रूपमा ग्रहण गर्न आग्रह गरे । ‘यो कार्यक्रममार्फत केयुका अनुसन्धानकर्ता र विद्यार्थी ग्रामीण क्षेत्रमा पुगेर उनीहरूको कृषि तथा जीविकोपार्जन सुधारमा मद्दत गर्न सफल हुनेछन्’, उनले भने।

यसअघि गत कात्तिकमै एकीकृत ग्रामीण विकास एवं विज्ञान र प्रविधि विकासको परियोजना सञ्चालन गर्नेसम्बन्धी सहमतिपत्रमा केयुका उपकुलपति प्राडा श्रेष्ठ र कोइका नेपालका निर्देशक डा. ह्युङक्यो किमले हस्ताक्षर गरेका थिए।  

प्रकाशित: २४ माघ २०७४ ०३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App