coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

पुलिस नवौं पटक फाइनलमा

संकटाका खेलाडी प्रकाश बुढाथोकी (रातो)लाई रोक्ने प्रयासमा पुलिसका खेलाडी ।

धरान - युवा खेलाडी प्रेरित नेपाल पुलिस क्लब धरानमा जारी २०औं बुढासुब्बा रेडबुल गोल्ड कपको फाइनलमा पुगेको छ ।चिर प्रतिद्वन्द्वी संकटा क्लब काठमाडौंलाई २–१ को झीनो गोलअन्तरले हराउँदै  पुलिस उपाधिनजिक पुगेको हो । धरान १६ स्थित प्रादेशिक रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलको ५४औं मिनेटमा रेजिन सुब्बा र अतिरिक्त समयको ११औं मिनेटमा बुद्ध लामाले गोल गर्दै पुलिसलाई फाइनलमा पुर्याए ।

चर्चित खेलाडी प्रकाश बुढाथोकीले ६४औं मिनेटमा बराबरी गोल फर्काए पनि संकटाको हार टार्न सकेनन् । जितसँगै पुलिसले तीन महिनाअघि चन्द्रगिरि गोल्डकपमा संकटासँग भएको २–० को हारको बदला लिएको छ । संकटाले भने बुढासुब्बामै गत संस्करणको फाइनलमा पुलिससँगको हारको बदला लिने मौका गुमायो ।बुढासुब्बा गोल्ड कपको सर्वाधिक उपाधि विजेता पुलिस फाइनल पुगेको यो नवौं पटक हो । बुढासुब्बाको दोस्रो, चौथौ, पाँचौं, १०औं र १९औं संस्करणको विजेता पुलिसले तेस्रो, छैटौं, १२औं र १८औं संस्करणमा फाइनल खेले पनि उपविजेतामा सीमित भएको थियो । पुलिसले अब बिहीबार रुस्लान थ्री स्टार र भारत कोलकाताको दुर्गापुर स्टिलबीचको विजेतासँग माघ २७ गते फाइनल खेल्नेछ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि मध्यान्तरपछिको ५४औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । बुद्ध लामाले दिएको पासमा उनले संकटाका ३ जना खेलाडीलाई छक्याउँदै आकर्षक गोल गरेका थिए । तर पुलिसको अग्रता धेरै लामो समय टिक्न सकेन । ६४औं मिनेटमा सेडरिक अबाको क्रसमा प्रकाश बुढाथोकीले वान टच प्रहारमा दर्शनीय गोल गर्दै संकटाको आशा जीवित राखे । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि १५ मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयको ११औं मिनेटमा पुलिसका बुद्ध लामाले हेडमार्फत निर्णायक गोल गर्दै संकटालाई स्तब्ध बनाए । रेजिन सुब्बाको क्रसमा उनको हेडले बारमा ठोक्किँदै जाली चुमेको थियो । खेलको म्यान अफ दी म्याच संकटाका प्रकाश बुढाथोकीले नगद १० हजार हात पारे ।

खेल अवधिभर पुलिस र संकटा आक्रामक रूपमा प्रस्तुत भएका थिए । यद्यपि, दुवै टिमले गोलपोस्टमा कमै प्रहार गरे । पहिलो हाफको ४ मिनेटमा पुलिसका रवि पासवानको पासमा सुमन लामाको प्रहार डी बक्सबाट बाहिरिएको थियो भने १६औं मिनेटमा सुमनको प्रहारलाई संकटाका भूषण सुब्बाले हेडमार्फत क्लियर गरिदिए । यस्तै, ५०औं मिनेटमा डिफेन्सले क्लियर गर्न नसकेको बलमा तेज तामाङको प्रहार अकासिएको थियो भने अतिरिक्त समयको ६ मिनेटमा रवि पासवानले पोस्टनजिक बल पुर्याए पनि प्रहार गर्न सकेनन् । ११आै मिनेटमा प्रकाश बुढाथोकीको क्रस पास राज पौडेल हेड गर्न चुक्दा संकटाको मौका गुमेको थियो ।  १४औं मिनेटममा हेमन्त थापा मगरको फ्रिकिक पुलिसका गोलकिपर शत्रुघ्न चौधरीले पन्च गरेर बचाए ।

 पुलिसका प्रशिक्षक अनन्तराज थापाले युवा खेलाडीको प्रदर्शन दिनप्रतिदिन सुधार हुँदै गएकोमा खुसी व्यक्त गर्दै रणनीतिअनुसार जितेको बताए । आफ्नो टिम टोटल फुटबल पस्कने लक्ष्यमा रहेको पनि उनले बताए । ‘हाम्रामा युवा खेलाडी छन्, उनीहरूको खेल दिनप्रतिदिन लय समाउँदै छ, टोटल फुटबल खेल्ने प्रयासमा छौं,’ उनले भने, ‘३ अफ्रिकन खेलाडी र शारीरिक रूपमा बलियो संकटालाई पनि जित्दा खुसी छु ।’ संकटाका प्रशिक्षक सल्यान खड्गीले प्रतिस्पर्धात्मक खेलमा अन्तिम समय खेलाडी सम्हालिन नसक्दा हार भएको प्रतिक्रिया दिए ।

खेलाडीले क्लियर गर्नुपर्ने बललाई कर्नर दिएपछि खेलाडीले रेजिन सुब्बालाई मार्क नगर्दा उनको पासमा बुद्धले गोल गरेको खड्गीले बताए । उनले भने, ‘खेल राम्रो थियो, तर क्लियर गर्नुपर्ने बल कर्नर भएर हार्यौं, चित्त नबुझ्दो हार भयो । लास्टमा ह्यान्ड बल पनि पेनाल्टी दिइएन ।’ प्रतियोगितमा बिहीबार दोस्रो तथा अन्तिम सेमिफाइनल खेल थ्री स्टार क्लब र भारत कोलकाताको दुर्गापुर स्टिलबीच हुनेछ ।

 

 

प्रकाशित: २५ माघ २०७४ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App