१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

व्यासीमा ७४ बालिकाको बेलविवाह

भक्तपुरको व्यासीमा आयोजित सामूहिक बेलविवाहमा सहभागी कन्या अभिभावकका साथमा । तस्बिर : नागरिक

भक्तपुर – जिल्लाको व्यासीमा बुधबार ७४ जना बालिकाको सामूहिक बेलविवाह भएको छ । ५ देखि ९ वर्ष उमेरका नेवार कन्याको सामूहिक बेलविवाह कर्म सम्पन्न भएको हो। 

मंगलबार दुस्वः (भित्रिने) र बुधबार पिस्वः (बाहिरिने) गरी प्रारम्भिक दिन र समापन दिनका रुपमा दुई दिनसम्म बेलविवाह कर्म गरिएको थियो । बेलविवाह कर्ममा जिल्लाका विभिन्न स्थानका बालिका परिवारसहित विशेष पोसाकमा  सहभागी थिए। 
व्यासीका अष्टमान वासुकलाको संयोजनमा सामूहिक बेलविवाह आयोजना गरिएको हो । उनले मितव्ययिता अपनाउन सामूहिक बेलविवाह गरिएको बताए । नेवार समुदायमा बेलकर्मको ज्यादै महत्त्व छ। जोशी, आचार्य, शर्मालगायतबाट साइत जुराएपछि बेलविवाह मिति निश्चित गरिन्छ । बेलविवाहमा बेलसँगै सुनको प्रतिमा राखेर सूर्यनारायणलाई अर्पण गरी सुवर्णकुमारसँग विवाह गराई कन्यादान गरिन्छ । कन्यादानमा प्रत्येक बालिकाका मातापितासहित परिवारजन तथा आफन्त सहभागी हुन्छन्।  

सामुदायिक इंग्लिस स्कुल व्यासीमा कक्षा दुईमा अध्ययनरत आठ वर्षीया अनुष्का वासुकलाले बेलविवाह गर्न पाउँदा असाध्यै खुशी लागेको बताइन् । उनका पिता अमर वासुकलाले कम खर्चमा सामूहिक बेलविवाह गर्न पाएकोमा खुशी साटे । प्रतिपरिवार पाँच हजार रुपैयाँ हाराहारी खर्चमा बेलविवाह कर्म सम्पन्न गर्न पाएको उनले बताए। 

बेलविवाहको एउटा मुख्य आकर्षण मित लगाउने कार्य हो । यसक्रममा बेलविवाहमा सहभागी कन्याहरुबीच मित लगाउने प्रचलन छ । विवाहमा सहभागीमध्ये दुई कन्याबीच मित लगाउने गरिन्छ । मित लगाएपछि उनीहरुबीच जीवनभर सम्बन्ध रहन्छ । विवाह, ब्रतबन्धलगायत सबै कर्ममा नातागोता, आफन्त, छरछिमेकसरह मितलाई पनि निमन्त्रणा गरी भोज खुवाउने चलन छ। 

संस्कृतिविद् ओम धौभडेल बेलसँग विवाह गरिने भएकाले नेवार समुदायका महिला कहिले पनि विधुवा नहुने जनविश्वास रहेको बताउँछन् । पतिको मृत्यु भए पनि विधवा नहुने भनाइ छ । नेवार समुदायमा बेलविवाहलाई एक महत्त्वपूर्ण कर्मका रुपमा लिइन्छ । विशेषगरी रजस्वला हुनुअघि नेवार कन्याको बेलविवाह गर्ने प्रचलन छ।

प्रकाशित: २५ माघ २०७४ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App