८ वैशाख २०८१ शनिबार
अर्थ

‘सहकारीमा सम्पत्ति शुद्धिकरण स्वागतयोग्य’

काठमाडौं – सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरण हुनु स्वागतयोग्य रहेको सहकारीकर्मीले बताएका छन्। 
विहीबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन)ले आयोजना गरेको ‘सहकारीमा सम्पत्ति सुद्धिकरण’ विषयक अन्तक्र्रियाका सहभागीले सम्पत्ति शुद्धिकरण ऐनको स्वागत गरेका हुन्।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडालले कालोधनले कुनै पनि देश चल्न नसक्ने र सहकारीमा कालोधन नभएको दाबी गरे। कालोधन खुट्टामा जन्जिर लगाएजस्तै भएको बताउँदै अध्यक्ष बडालले सहकारी क्षेत्रमा भ्रष्टाचार, आतंकवाद, हतियारधारीहरुको पैसा नभएको दाबी गरे। सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरण लागु हुनु स्वागतयोग्य रहेको उनले बताए। ‘सहकारीमा सम्पत्ति शुद्धिकरण लागु हुनु आपत्तिजक विषय होइन’ उनले भने, ‘सहकारीमा ९९ प्रतिशत स्वच्छ कारोबार हुने गरेको छ।’ सम्पत्ति शुद्धिकरण सहकारीलाई दण्ड दिने भन्दा पनि स्वच्छ र व्यवस्थित बनाउनतर्फ लाग्नुपर्ने उनको भनाई थियो।

राष्ट्र बैंकका उपनिर्देशक हरि नेपालले सहकारीकर्मी संशकित हुनुभन्दा पनि थप व्यवस्थित गर्नतर्फ लाग्नुपर्ने बताए। कार्यान्वयन चुनौति भएपनि सरोकारवाला निकाय सबैको समन्वयमा सहजै कार्यान्वयन गर्न सकिने उनको भनाई छ। निर्देशिकाले सहकारीलाई डकुमेन्टेसन गर्न बाध्य बनाएको र यसले सहकारी व्यवस्थित बन्न सघाउ पुग्ने उनले बताए। ‘दश वर्षसम्म सहकारी क्षेत्रमा सम्पत्ति शुद्धिकरण ऐन लागु नहुनु दुःखद् कुरा हो’ नेपालले भने, ‘सहकारीलाई सही बाटोमा हिँडाउन निर्देशिकाले अभिप्रेरित गर्नेछ।’ राष्ट्र बैंकअन्र्तगत वित्तीय इकाई भएपनि मनी लाउन्डरिङको रिपोर्ट लिने माध्यम मात्र भएको र इकाईमा गभर्नरको समेत कुनै अधिकार र जिम्मेवारी नहुने उनले स्पष्ट पारे। सहकारीमा अनुगमन प्रभावकारी हुन नसकेको विषयमा भने उनले चिन्ता व्यक्त गरेका थिए।

कार्यक्रममा सहकारी विभागका उप–रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीमा सम्पत्ति शुद्धिकरण निर्देशिका जारी भएपछि आतंकित हुनुभुन्दा पनि व्यवस्थित रुपमा कारोबार गर्न आग्रह गरे। ‘सहकारीमा स्वच्छ कारोबार भइरहेको छ भन्ने सन्देश दिनका लागि पनि निर्देशिका कार्यान्वयनमा जानुको विकल्प छैन,’ उनले भने।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष डिबी बस्नेतले काठमाडौंका सहकारीमा तुलनात्मकरुपमा बढी विकृती भएको बताउदै निर्देशिका काठमाडौंका सहकारीमा पूर्ण रुपमा कार्यान्वयन गर्न सके देशभरी नै लागू हुन सहज हुने बताए। सम्पत्ति शुद्धिकरण शिक्षा देशभरका सहकारीमा लागु गर्न आवश्यक रहेको उनको भनाई थियो। ‘कानुन, नीति, नियम स्वीकार नगर्ने सहकारीहरु सहकारी नै होइन’ उनले भने, ‘कतिपय सहकारी नीति, नियममा बस्नुपर्ने भएकाले नेफ्स्कुनको सदस्यसमेत बन्नेका छैनन्।’

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले सम्पत्ति शुद्धिकरण निर्देशिका कमाई खाने भाडो बन्न नहुने बताए। विभागद्वारा जारी भएका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको र निर्देशिका कार्यान्वयन गर्न विभाग र सहकारीकर्मीहरु एकजुट भएर लाग्नुपर्ने उनको धारणा थियो।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव तुलसी सुवेदीले र धन्यवाद मन्तव्य उपाध्यक्ष काजी श्रेष्ठले गरेका थिए।

प्रकाशित: २५ माघ २०७४ १३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App