८ वैशाख २०८१ शनिबार
खेल

थ्री स्टारको कठिन जित

दुर्गापुरका खेलाडीबाट बल खोसेर अघि बढाउँदै थ्री स्टारका अनन्त तामाङ (नीला) । तस्बिर : रोहित राई

धरान – पाहुना टोली पिएसआर दुर्गापुर स्टिल, कोलकातालार्ई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लब धरानमा जारी २०औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

धरान १६ स्थित प्रादेशिक रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा राष्ट्रिय खेलाडीले भरिएको थ्री स्टारले दुर्गापुरविरुद्ध कठिन जित हात पार्दै पुलिससँग भेट पक्का गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिने संकेत गरिरहेका बेला वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका विष्णु गुरुङले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । ८१आै मिनेट अनन्त तामाङको स्थानमा छिरेका विष्णुले इन्जुरी समयमा थ्री स्टारको उद्धार गरे ।

बुढासुब्बा गोल्डकपमा चार पटकको उपाधि विजेता थ्री स्टार फाइनल पुगेको यो पाँचांै पटक हो । यसअघि थ्री स्टारले सातौं, नवौं, ११औं र १४औं संस्करणमा पनि फाइनल खेल्दै उपाधि जितेको थियो । अब थ्री स्टारले शनिबार उपाधिको विजेता नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले बुधबार संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
बिहीबारको खेलमा थ्री स्टारले दुई दर्जन बढी अवसर पाएर पनि गोल गर्न सकेन । मौका पाएर पनि स्कोर नहँुदा थ्री स्टारको खेलमा तालमेल बिग्रिएको थियो । पहिलो हाफको ११औं मिनेटमा बुद्ध चेम्जोङको क्रसमा विश्वास श्रेष्ठले हेड गर्न मिस गरे भने १६औं मिनेटमा सुनील बलको क्रसमा अनन्त तामाङको हेडलाई दुर्गापुरका गोलकिपरले सुन्दर बचाउ गरे ।

यस्तै, ३९औं मिनेटमा विश्वासको क्रस पासलाई नीराजन खड्काले नियन्त्रण गुमाउँदा डी बक्सभित्र स्कोरको मौका गुमाए । दोस्रो हाफको खेल सुरु भएपछि झनै आक्रामक रूपमा उत्रिएको थ्री स्टारले ४७आै मिनेटमा अजय मार्टिनको पासमा बुद्ध चेम्जोङ गोल गर्न चुके भने ५१ मिनेटमा पनि मार्टिनको पासमा विश्वासले गोल गर्न सकेनन् । यस्तै, ५२औं मिनेटमा सुनील बलको क्रसमा विश्वासको प्रहार अकासियो भने ५४औं मिनेटमा मार्टिनको पासमा बुद्ध चेम्जोङले प्रहार गर्नुअघि डिफेन्सले बल क्लियर गरिदिए । लगत्तै सुनील बलको प्रहार अकासिएको थियो ।यसै गरी, ५६औं मिनेटमा विजय धिमालको सशक्त प्रहारलाई दुर्गापुरको गोलकिपरले पन्च गरेर जोगाएका थिए भने ६५औं मिनेटमा नीराजनको पासमा बुद्धले डी बक्सबाट पनि प्रहार गर्न सकेनन् ।

७२औं मिनेटमा विश्वासको खतरनाक प्रहारलाई दुर्गापुरका खेलाडी सम्राट नन्दीले क्लियर गरिदिए भने ७९औं मिनेटमा नीराजन खड्काको पासमा डी बक्सबाट बुद्धको प्रहारलाई दुर्गापुरका गोलकिपर विशाल कोइतले जोगाए । यस्तै, ८२औं मिनेटमा सुनील बलको पासमा नीराजनको हेडले पनि गोलपोस्टको दिशा लिन सकेन । पाहुना टोली दुर्गापुरले आक्रामक खेल प्रदर्शन गर्ने प्रयास गरे पनि थ्री स्टारको तुलनामा कमै मात्र गोलपोस्टमा आक्रमण गरेको थियो । पहिलो हाफको दोस्रो मिनेटमा मनीष थापाको क्रसमा विश्वजित मोरले गरेको प्रहार अकासिएको थियो भने २३औं मिनेटमा विवेक सिंहको पासमा सेगुनको फितलो प्रहारले गोलपोस्टको दिशा लिएन । २६आै मिनेटमा पनि सेगुनको प्रहारलाई थ्री स्टारका गोलकिपर एलेन न्यौपानेले पन्च गरेर असफल बनाइदिए ।

यसै गरी, ५९औं मिनेटमा मनीष थापाको कडा फ्रिकिकलाई गोलकिपर न्यौपानेले नै पन्च गरेर फकाईदिए भने ६१औं मिनेटमा सलाउद्दिनको पासमा बाबुलाल हस्दाको प्रहारलाई गोलकिपरले समाते । ७१औं मिनेटमा मनीष थापाको प्रहारलाई गोलकिपर न्यौपानेले बाहिर फाले । सो खेलको म्यान अफ दि म्याच थ्री स्टारका एलेन न्यौपाने घोषित हँुदै नगद १० हजार हात पारे ।
थ्री स्टारका प्रशिक्षक मेघराज केसीले सिजनकै सबैभन्दा खराब प्रर्दशन गरेको भन्दै असन्तुष्टि जनाए । दुई दर्जनभन्दा बढी अवसर खेर फालेपछि स्कोर गर्ने हतारमा खेलाडीहरू दबाबमा खेलेको उनको भनाइ थियो ।

‘आजको खेल थ्री स्टारको होइन । यो सिजनमा १२, १५ खेल खेल्यांै होला, त्यसमध्ये सबैभन्दा खराब खेल हो,’ प्रशिक्षक केसीले भने, ‘समयमा स्कोर नगरेपछि प्रेसरमा खेल्नुप¥यो । खेलाडी गोल गर्नै हतारिए ।’ दुर्गापुरका प्रशिक्षक पिन्टु सरकारले विपक्षीले धेरै राम्रो खेलेको प्रतिक्रिया दिँदै मिडफिल्ड चल्न नसक्दा स्ट्राइकरबाट स्कोर नभएको र डिफेन्सले दबाब झेलेको बताए । ‘हाम्रो फिडफिल्ड कमजोर भइदियो, बल पास पनि नदिने र फिडेन्समा प्रेसर बढी भयो,’ उनले भने । प्रतियोगिताको फाइनल शनिबार थ्री स्टार र नेपाल पुलिस क्लबबीच हुनेछ ।
 

प्रकाशित: २६ माघ २०७४ ००:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App