८ वैशाख २०८१ शनिबार
कला

‘जय भोले’मा अशोकको पुनरागमन

कलाकार स्वस्तिमा खड्का र खगेन्द्र लामिछाने । तस्बिरः नागरिक

काठमाडौं – बाह्र वर्ष पछि बगेको खोला फर्किन्छ भन्ने नेपाली उखान निकै चर्चित छ । यो उखान अहिले निर्माता, निर्देशक तथा कलाकार अशोक शर्मासँग मिलेको छ । १२ वर्ष अघि फिल्म ‘मितिनी’ निर्देशन गरेर फिल्म वितरणमा सक्रिय बनेका उनले बिहीबार आफ्नो निर्देशनमा नयाँ फिल्म ‘जय भोले’ घोषणा गरेका छन् ।

निर्देशक शर्माले फिल्म वितरणमा सक्रिय रहनु परेकाले निर्देशनमा आउन समय लागेको बताए । ‘मितिनी पछि डीसीएन नामक फिल्म वितरण कम्पनी खोलेर फिल्मको बजारीकरणतिर लागें । फिल्म वितरणमा लागे पनि फिल्म कस्तो बनिरहेको छ भन्ने कुरामा अपडेट नै थिएँ,’उनले भने,‘अभिनेता खगेन्द्र लामिछानेको फिल्म ‘पशुपतिप्रसाद’ हेरेपछि खगेन्द्रको कथा लेखनसँगै अभिनय पनि दमदार लाग्यो । अनि उनलाई तुरुन्तै फोन गरेर भेट्न चाहें ।’

अशोकले फिल्मको धारका विषयमा बहस भइरहँदा आफूले फिल्म निर्देशनको ‘क्रिएटिभीटी’लाई माझेर राम्रो फिल्म दर्शकलाई दिने दाबी गरे ।फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका अभिनेता खगेन्द्र लामिछानेले अशोकसँग बसेर स्क्रिप्ट लेख्दा निकै रमाइलो लागेको बताए । ‘अशोक दाईमा ‘पुरानो’ भन्ने शब्द कतै भेटिन । म काममा थाक्दिन भनेको त अशोक दाई नै थाक्नु हुन्न रहेछ, बरु म चाहिँ उहाँसँग काम गर्दा थाकें,’खगेन्द्रले भने,‘पुराना पुस्ताले फिल्ममा बाटो देखाइदिएकोले हामी अहिले त्यो बाटोमा हिँडिरहेका छौं । अब हामीले त्यो बाटो बढाएर ठूलो पार्नुपर्छ । म यो फिल्ममा त्यही उद्देश्यले आएको हुँ ।’

फिल्मले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथालाई कमेडी फ्लेबरमा देखाउनेछ । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा निर्माता रहने फिल्ममा खगेन्द्रसहित सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, राजाराम पौडेल, बसुन्धरा भुषाल, बुद्धि तामाङ, जयनन्द लामा, रामचन्द्र अधिकारी, शारदा गिरी, सुरेन्द्र केसी, किशोर भण्डारी र अशोक शर्माको अभिनय रहनेछ ।

फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनीजको ब्यानरमा बन्न लागेको फिल्म झापा र इलाममा खिचिनेछ । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको द्वन्द्व रहनेछ । फागुन १ गतेबाट फ्लोरमा जाने फिल्म आगामी दशैंको फूलपातीमा रिलिज हुनेछ ।


 

प्रकाशित: २६ माघ २०७४ ०१:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App