७ वैशाख २०८१ शुक्रबार
अर्थ

आजबाट नेपाल बिल्डकन तथा उड अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं – भृकुटीमण्डपमा आजबाट ‘चौथो नेपाल बिल्डकन तथा नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी’ सुरु हुँदैछ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिद्वारा संयुक्तरुपमा आयोजित प्रदर्शनी तीन दिन (माघ २८) सम्म चल्नेछ ।

निर्माण तथा काष्ठ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने तथा नेपालमा उपलब्ध सामग्री र प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, जर्मनी, इटालीलगायत देशका दुई सय २० भन्दा बढी निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताले निर्माण तथा काष्ठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउनेछन् । प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आमनागरिकबाहेक निर्माण तथा काष्ठ क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टर, बिल्डर्स, इन्टेरियर डिजाइनरलगायतको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘तीन वर्षदेखि आयोजना गर्दै आएको यो प्रदर्शनी यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउन कोसेढुंगा सावित हुँदै आएको छ,’ आयोजक मिडिया स्पेसका निर्देशक सृजल भट्टराईले भने, ‘यसपटकको प्रदर्शनीमा हेभी इक्युपमेन्ट र प्रिफेब्रिकेटेड हाउसको पनि सहभागिता रहने छ ।’ नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा प्रदर्शनीले टेवा पु¥याउने आयोजकको विश्वास छ ।

महिन्द्रा तथा निप्पोन पेन्टस्को प्रायोजन रहने प्रदर्शनीमा नेपाल इन्जिनियरिङ एसोसियसनलगायत विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । तीन दिने प्रदर्शनीमा ४० हजारभन्दा बढी दर्शक सहभागिता रहने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा निशुल्क सहभागी हुनसक्ने मिडिया स्पेसका निर्देशक भट्टराईले बताए ।

‘यो पटक प्रदर्शनीलाई अझ वृहत र भव्य बनाउने तयारी गरेका छौं,’ उनले भने, ‘नेपालमा ठूला विकास निर्माण कार्यले तीव्रता पाइरहेको सन्दर्भमा यो प्रदर्शनी मुलुककै लागि फलदायी हुनेमा विश्वस्त छौं ।’ फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस्का निर्देशक नमित गुप्ताले नेपालको विकास निर्माण आयोजनाका लागि सुहाउँदो प्रविधि र निर्माण सामग्री भित्र्याउन प्रदर्शनीले भूमिका खेल्ने बताए ।
ग्राहकसम्म पुग्ने अवसर
महिन्द्र एन्ड महिन्द्र प्रालिका कन्ट्री डाइरेक्टर चैतन्य कगाकरले प्रदर्शनीलाई आफ्नो उत्पादन र प्रविधिको बारेमा जानकारी दिने उत्कृष्ट मञ्चको रुपमा लिएको बताए । निर्माण सामग्री उत्पादक र निर्माण व्यवसायीका लागि यो महत्वपूर्ण अवसर बन्नसक्ने उनको भनाइ छ ।

पशुपति प्लाइबोर्ड उद्योग प्रालिका सेल्स एन्ड मार्केटिङ हेड विजय सिंहले ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने प्लेटफर्मको रुपमा प्रदर्शनीलाई लिएको बताए । सगुन प्लाइ र ढोका उत्पादन गर्दै आएको कम्पनीले नयाँ उत्पादनको रुपमा एलभिएल (प्लाइको लेयरले बनेको चौकस) प्रदर्शनीमा ल्याएको उनले जानकारी दिए । ‘यो वाटरप्रुफ, खिया नलाग्ने र काठभन्दा १० गुणा बलियो हुन्छ,’ उनले भने, ‘प्रदर्शनीमा यसको बारेमा ग्राहकलाई पूर्ण जानकारी दिनेछौं ।’

प्लाइउड र ढोकामा सबै भेराइटी उत्पादन गरिरहेको उनले बताए । ‘हामीले उत्पादन थालेको २५ वर्ष भयो । अरुसँग हाम्रो जति भेराइटी छैन,’ उनले भने, ‘आधुनिक प्रविधि प्रयोग गरी उत्पादन र आधुनिक ल्याबमा परीक्षण गरेर मात्रै बजारमा पठाउँछौं । अत्याधुनिक ल्याब नेपालमा हामीसँग मात्र छ ।’ यसबाहेक सगुन सिलिकन लेमिनेट आयात गरी ट्रेडिङ गरिरहेको उनले बताए ।

अल्टरनेटिभ प्रोफाइलका निर्देशक कुनसेल लामाले पनि प्रदर्शनीलाई आफ्ना उत्पादन देखाउने अवसरको रुपमा लिएको बताए । ‘प्रदर्शनीमा भारतीय तथा विदेशी कम्पनीहरु पनि सहभागी छन्, उनीहरुलाई नेपालमा पनि हामी उच्च गुणस्तरीय युपिभिसी उत्पादन गर्छौं भन्ने देखाउन पाएका छौं,’ उनले भने ।
अल्टरनेटिभ प्रोफाइल युपिभिसी इन्डष्ट्रिज प्रालिले सन् २००३ मा पहिलोपटक युपिभिसीका भ्याल ढोका नेपालमा भित्र्याएको लामाले बताए । ‘युपिभिसी उत्पादनमा हाम्रो १५ वर्षको अनुभव छ,’ उनले भने, ‘सुरुमा यसको बारेमा बुझाउन निक्कै गाह्रो भएको थियो तर अहिले ग्राहक आफैं खोजी–खोजी आउँछन् ।’ कम्पनीले सन् २०१२ मा इन्सुलेट ड्राइवाल उद्योग स्थापना गरी नेपालमै प्रिफ्याब उत्पादन सुरु गरेको उनले बताए । ‘ ४० वर्षदेखि उत्पादन गर्दै आएको अल्टरनेटिभ फर्निचर युरोपमा पनि निर्यात गरिरहेका उनले बताए ।


 

प्रकाशित: २६ माघ २०७४ ०२:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App