८ वैशाख २०८१ शनिबार
अर्थ

उखु किसानद्वारा चक्काजाम

रौतहट – गरुडास्थित श्री राम सुगर मिल्सले उखु नकिनेको भन्दै यहाँका किसानले बिहीबार दिउँसो चक्काजाम गरेका छन् । किसानले महेन्द्र राजमार्गस्थित जिल्ला सदरमुकाम गौर जोड्ने वीरेन्द्र राजमार्गको उद्योग गेटमा प्रदर्शनसमेत गरे ।

अन्य उद्योगभन्दा केही ढिलो सञ्चालनमा आएको गरुडाको चिनी उद्योगले उखु किन्दा प्रतिक्विन्टल उखुमा जति चिनी आउनु पर्ने (रिकभरी) हो त्यति आउन नसकेको भन्दै उखुको एउटा जातिलाई अस्वीकार गरेपछि किसानले चक्का जाम गरेका छन् । विगतका वर्षमा उद्योगले किन्दै आएको उखुको ९३०२ प्रजातिलाई उद्योगले किन्न अस्वीकार गरेको हो ।९३०२ जातिका उखुमा चिनीको मात्रा अत्यन्त कम हुने भन्दै किन्न आनाकानी गरेपछि किसान आक्रोशित भएका हुन् । उखुको कारणले मात्र नभई अन्य कारणले पनि उद्योगले अपेक्षित रिकभरी पाउन नसकेको हुन सक्ने किसानको भनाइ छ ।

उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले उद्योग परिसरमा छिरिसकेको उखुलाई मनलाग्दो किसिमले तौलमा ४० प्रतिशतसम्म कटौती गर्न थालेपछि आफूहरुले विरोध गरेको बताए । उद्योगमा सय क्विन्टल उखु तौल गराउँदा ६० क्विन्टलको मात्र मान्यता हुन थालेको र अन्य जातको उखुलाई पनि सोही व्यवहार गर्न थालेपछि किसान आक्रोशित भएको अध्यक्ष यादवको भनाइ छ ।

करिब ६ लाख क्विन्टल उखु क्रसिङ गरिसकेको उद्योगले भने निकै रिकभरी सात प्रतिशतको हाराहारी मात्र भएको जनाएको छ । एक क्विन्टल उखु किन्दा उद्योगले करिब सात किलोमात्र चिनी निकाल्न सकिरहेको बताउँदै यस्तै अवस्था रहे उद्योगले लागतमै घाटा बेहोर्नु परिरहेको जनाएको छ । उखुको तौल बढी लिनुपर्ने वा मूल्य नै कम गर्नुपर्ने भन्दा तेस्रो विकल्प ९३०२ जातिको उखु नलिने देखिएको उद्योगको दाबी छ । उद्योगले उक्त जातिको उखु नलिँदा किसानलाई निकै घाटा हुने संघका पूर्वअध्यक्ष जयनाथ यादवको दाबी छ।

किसानले लगातार तीन घन्टा सडक जाम गरेपछि उद्योग प्रशासनले किसानको कुरा सुनेपछि बिहीवार साँझ जाम खुलेको छ । स्थानीय प्रहरी प्रशासन, उद्योग र किसान प्रतिनिधिले उखुको परीक्षण गरेर प्राविधिक रिपोर्टको आधारमा उखुको तौल कटौती गर्ने सर्वपक्षीय सहमतिमा जाम खोलिएको संघका कोषाध्यक्ष मनोजकुमार सहनीले बताएका छन् ।
 

प्रकाशित: २६ माघ २०७४ ०२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App