८ वैशाख २०८१ शनिबार
समाज

शक्तिसम्पन्न देशका सैनिक अधिकारी नेपाल भ्रमणमा

काठमाडौ – सैन्य शक्तिका हिसाबले शक्तिशाली मानिने बेलायत, अमेरिका तथा भारतका उच्च सैनिक अधिकारीले एकै समयमा नेपाल भ्रमण गर्दैछन् । बेलायती सेनाध्यक्ष निकोलास प्याट्रिक बुधबार नेपाल आइसकेका छन् । उनी पोखरास्थित ब्रिटिस क्याम्पमा हुने कार्यक्रममा सहभागी हुन नेपाल आएको नेपाली सेनाले जनाएको छ।

यस्तै अमेरिकी सेनाका प्यासेफिक कमान्डर रोबर्ट ब्रुक ब्राउन बिहीबार नेपाल भ्रमणमा आएका छन् । भारतीय सेनाध्यक्ष विपिन रावत समेत यही माघ २९ गते नेपाल भ्रमणमा आउन लागेको सेनाले जनाएको छ । रावतले सेना दिवसमा अतिथिका रुपमा सहभागिता जनाउने जानकारी सेनाले दिएको छ। 

बेलायती सेनाध्यक्ष निकोलास प्याट्रिक र अमेरिकी सेनाका प्यासेफिक कमान्डर रोबर्ट ब्रुक ब्राउन नेपाल भ्रमणमा आएका छन् भने भारतीय स्थल सेनाध्यक्ष विपिन रावत माघ २९ मा काठमाडौं आउने कार्यक्रम छ।

बेलायती सेनाध्यक्ष भारतीय थल सेनाध्यक्ष रावत आएकै दिन स्वदेश फर्कंदैछन् । अमेरिकी सेनाका प्यासेफिक कमान्डर ब्राउन माघ २८ गते स्वदेश फर्किंदैछन् । भारतीय थल सेनाध्यक्ष राव भने फागुन २ गते स्वदेश फर्किनेछन्। 

एकै समयमा तीन ठूला मुलुकका उच्च सैन्य अधिकारीको भ्रमणलाई सेनाले सैन्य कूटनीतिका रुपमा अथ्र्याएको छ।  ‘यसले सैन्य कूटनीति राम्रो छ भन्ने देखाउँछ,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने । विभिन्न मुलुकका उच्च सैन्य अधिकारीको एउटै समयमा भइरहेको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्ने सेनाले जनाएको छ। 
बेलायत र भारतका सेना प्रमुखको भ्रमण तथा अमेरिकी प्यासेफिक कमान्डरको भ्रमण एकै समयमा भए पनि भ्रमणको उद्देश्य फरकफरक रहेको सेनाले जनाएको छ । बेलायती सेनाध्यक्ष पोखरामा हुने कार्यक्रमा सहभागी हुन नेपाल आएको र भारतीय थल सेनाध्यक्ष राव सेना दिवस कार्यक्रममा सहभागी हुन नेपाल आएको नेपाली सेनाले जनाएको छ।  

यही समयमा ब्रिटिस गोर्खा आर्मीको ब्यान्ड तथा भारतीय सेनाको गोर्खा राइफल्स ब्यान्ड पनि नेपालमा आएको छ। ब्रिटिस आर्मीको ब्यान्ड केही समयपहिले नै आएको र भारतीय सेनाको ब्याण्ड बुधबार आइपुगेको सेनाले जनाएको छ।
नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यात पनि तीन शक्तिशाली मुलुकका सैन्य अधिकारीको आगमनलाई राम्रो सुरक्षा कूटनीतिका रुपमा लिनुपर्ने बताउँछन् । ‘नेपाली सेनाको सबै मुलुकका सेनासँग कूटनीतिक सम्बन्ध राम्रो छ, त्यही सम्बन्धको निरन्तरताका रुपमा यी भ्रमण भएका हुन्,’ बस्न्यातले भने। 

अन्य मुलुकका उच्च सैन्य अधिकारीले नेपाल भ्रमण गरिरहेका बेला चिनियाँ सैन्य अधिकारीको भ्रमण गराउन नसक्नुलाई भने उनी सेनाको कमजोरी भन्छन् ।  ‘शक्ति सन्तुलनका लागि चिनियाँ सैन्य अधिकारीलाई पनि भ्रमण गराउन सक्नुपथ्र्याे,’ बस्न्यातले भने । यस्तो भ्रमणले राजनीतिक रुपमा कुनै अर्थ नराख्ने उनी बताउँछन् । बस्न्यातले भारतीय सेनाध्यक्ष रावको भ्रमणलाई सेनापति राजेन्द्र क्षत्रीको नयाँ अभ्यासका रुपमा अथ्र्याए । ‘यसअघि सेना दिवसका बेला अन्य मुलुकका सैन्य अधिकारीलाई बोलाउने चलन थिएन, यसपटक क्षत्रीले नयाँ अभ्यास सुरु गराउन खोजेको देखिन्छ,’ उनले भने। 

यसअघि तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङले सार्कस्तरीय सैन्य खेलकुद सुरु गरेकोमा त्यसैको निरन्तरताका रुपमा यसपटक नयाँ अभ्यास सुरु गर्न लेिएको उनको भनाइ छ । पछिल्लो समय हरेक प्रधानसेनापतिले आफ्नो कार्यकालमा नयाँ अभ्यास सुरु गर्ने प्रचलनअनुसार नै यसपटक भारतीय सेनाप्रमुखलाई सेना दिवसमा बोलाइएको उनले बताए।

प्रकाशित: २६ माघ २०७४ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App