कलि : कलह युग

शुक्रबार, २६ माघ २०७४, ०९ : ४३ युवराज गौतम


स्वीट्जरल्यान्डको छेउमा भारतको उत्तरप्रदेश वा बिहारजस्ता ‘कचकचे’ भूखण्ड छैनन्। उसका छिमेकी छन्–अस्ट्रिया, फ्रान्स, इटली र जर्मनी । छिमेकी नै कोलाहलमय, प्रदूषित, कलुषित र विषाक्त छ भने तपाईं हामीले खुला सिमानामा लामखुट्टे मार्ने औषधि वा महँगो अत्तर छर्के पनि सुरक्षित बन्न सक्दैनौँ । त्यसैले भूगोलविद् डा. हर्कबहादुर गुरुङले नेपाल–भारत सिमानाको राम्रो व्यवस्थापन हुनैपर्छ भन्दै भारतीय आप्रवासीहरूलाई रोक्नैपर्ने सुझाव दिएका थिए। उनको यो प्रतिवेदन आजको पुस्ताले पढ्दा राम्रो हुन्छ। राष्ट्र प्रबल बनाउने सूत्र छ त्यसमा।

जापानी सेनाका प्रथम नायक जिम्मु तेन्ओ प्रथम सम्राट् हुन् भन्छन्, जापानीहरू। उनको स्मृतिमा फ्रेब्रुअरी ११ तारिखका दिन राष्ट्रनिर्माण दिवस मनाइन्छ । सूर्यवंशी थिए उनी । पूर्वीय गोलाद्र्धका हिन्दु, बौद्ध, शिन्तो आदिले आफ्ना पुर्खा पहिल्याउँदा सूर्यवंशी र चन्द्रवंशी मान्ने गरेको पाइन्छ । हजाराँै वर्ष पुराना नेपाली मन्दिरमा पनि चन्द्र–सूर्य अंकित ध्वजा (धातुका झन्डा) पाइन्छन् । आफ्नो माटो, धर्म, संस्कृति, इतिहास आदिबारे संचेतना नहुँदो हो त यहाँँ हजारौँ मन्दिर, देवालय र गुम्बाहरू निर्माण हुने थिएनन् । राष्ट्रियताप्रतिको चेतना, स्वाभिमान र समर्पण हराउँदै गयो भने राष्ट्र अवश्य शिथिल बन्छ । राष्ट्रिय एकता कमजोर हुन्छ। सार्वभौमसत्ताको धुक्धुकी मात्र बाँकी रहन्छ र एक दिन आफ्नो माटोमा पराधीन बन्नुपर्ने अवस्था आउँछ । हामी आज त्यही मार्गमा अग्रसर छौँ। 

सञ्चारमाध्यममा विद्वान्–विदूषीका सारगर्भित र महत्वपूर्ण विचार विरलै सुन्न पाइन्छ नेपालमा। कतिपय पत्रकार सिकारु, अभिमानी, पूर्वाग्रही र अल्पज्ञ भएकाले दलका सीमित नेताबाहेक अरूलाई चिन्दैनन् । राष्ट्रलाई सद्विचार दिन सक्ने ज्ञानी, ध्यानी, त्यागी र इमानदार मानिस ओझेलमा परेका छन्।

राष्ट्र जोगाउने सूत्र राजधर्मका बारेमा प्राचीन ग्रन्थहरूमा विशद् चर्चा पाइन्छ। कर्तव्यलाई शास्त्रमा ‘धर्म’ भनिएको छ। शासक र राजनीतिज्ञका कर्तव्यको चर्चा जताततै पाइन्छ । राजा, प्रधानमन्त्री, प्रधानसेनापति आदिले राष्ट्रको रक्षा गर्नैपर्छ भनिएको छ । श्रीमद्भागवत्मा राजाका काम, कर्तव्य र अधिकारको चर्चा पाइन्छ । शासकहरूले राष्ट्रद्रोही, धर्मद्रोही र राष्ट्र–विभाजक तत्वको वध गरेर भए पनि राष्ट्र बचाउनुपर्छ भनिएको छ । मान्छे त जन्मिन्छन्, मर्छन् तर राष्ट्रको पतन भयो भने पुनर्जन्म हुँदैन । साम्राज्यवादी र विस्तारवादीले करोडौँको सम्पत्ति खर्च गरेर ‘मानव अधिकार’ र ‘स्वतन्त्रता’ बचाउने बहानामा आफ्ना खेतालाको रक्षा गर्न खोजेका छन् । नेपालका राष्ट्रिय झन्डा जलाउने र राष्ट्र टुक्राटुक्रा पार्छु भन्नेहरूलाई जोगाउने ‘द्रव्यकारिता’ र ‘द्रव्यपालिका’ तथा कथित अधिकारकर्मी (धिक्कारकर्मी ?) सबै राष्ट्रघातका हतियार र मतियार बनेका छन् । न्याय–अन्याय निरूपण गर्न बसेकाहरूको आँखा नेपालगञ्ज–रुपैडियामा चल्ने टाँगाका घोडाझैँ द्रव्यपट्टीले छोपिएको छ । त्यो ‘आइप्याड’ विदेशी पैसाले बनेको स्पष्ट बुझ्न सकिन्छ । त्यसैले कैयन् बुद्धिजीवी मूकदर्शक छन् । 
कतिपय विद्वान्ले जिसस क्राइस्टको जन्म हुनुभन्दा तीनहजार १०२ वर्ष पहिले कलियुग सुरु भएको तर्क गरेका छन् । चारवटा युगको एक महायुग हुन्छ । त्रेता र द्वापर युगलाई अठ्ठाइसाँै महायुग भनिन्छ । प्रथम महायुगभन्दा पुरानो भएकाले नूतन (नयाँ) र पुरातन (पुरानो) भन्दा हजारौँ वर्ष पुरानो सनातन धर्म सुरु भएको मानिन्छ । सत्ययुग (कृतयुग) १७ लाख २८ हजार वर्ष चलेको विद्वान्हरूको मत छ । त्यस्तै त्रेतायुग १२ लाख ९६ हजार वर्ष चल्यो । द्वापरयुग ८ लाख ६४ हजार वर्ष चल्यो । इसापूर्व ३ हजार १०२ मध्यरातबाट कलियुग सुरु भएको सूर्य सिद्धान्तलाई आधार मानेर आर्य भट्टले तर्क दिएका छन् । यसरी विभिन्न कालखण्डमा धर्म (कर्तव्य) नै हाम्रो मार्गचित्र बन्न पुग्यो । जुन दिन राष्ट्र धर्मनिरपेक्ष घोषणा गरियो तब नेपालबाट क्रमशः सत्य, न्याय, सद्भाव, एकता र माटोप्रतिको समर्पण मास्ने षड्यन्त्र सुरु भयो । 
महाभारतमा पनि कलियुगको प्रसंग आउँछ । यो युगमा शासकहरू पथभ्रष्ट हुने, संसार भयाक्रान्त बन्ने, खानकै लागि प्रजागण विदेशिने, मानिसहरू अमानुष बन्ने, हत्या, हिंसा, आतंक बढ्ने, जताततै पाप कर्म फैलिने, गुरुहरूकै अपमान हुने, अरूलाई शिक्षा दिनुपर्ने ब्राह्मण नै लोभी र स्वार्थी बन्ने र कलियुग कलहयुग बन्छ भनिएको छ । भइरहेको पनि त्यस्तै छ । ४ लाख ३२ हजार वर्ष कलियुग चल्छ भन्ने विद्वान्हरूको मत छ । ती सबै युगभन्दा पुरानो सनातन धर्मको अपव्याख्या गरेर ‘मान्छेले बनाएका’ सम्प्रदाय, प्रवञ्चक गुट वा केही व्यक्तिलाई महिमामण्डित गर्नेहरूको दवाव, प्रभाव र प्रलोभनमा नेपालको हजाराँै वर्ष पुरानो सभ्यतासँग आज खेलबाड गरिँदै छ । राष्ट्रलाई बाटो देखाउनुपर्नेहरू भ्रान्त पथिक बनेका छन् । ‘जता हे¥यो उतै मेरो नजरमा राम प्यारा छन्’ भन्ने मोतीराम भट्टको गजलझैँ अधिकांश राजनीतिज्ञहरूको नजर सत्ता, सम्पत्ति, सुरा र सुन्दरीकै वरिपरि घुमिरहन्छ।

शिक्षित, समाज सुधारक, चेतनशील, जाँगरिला र राष्ट्र स्वाधीन रहनुपर्छ भन्ने वर्ग मात्र दलीय संकीर्णताबाट माथि उठ्ने हो भने राष्ट्र हत्पति जल्ने र ढल्ने अवस्थामा पुग्दैन। दुर्भाग्यवश, अकुत ऐश्वर्यको धनी बन्ने अनन्त चाहनाको मोहपासमा परेर धेरैजसो सज्जनले उनै ‘टे«टर’ तथा भ्रष्टलाई मालिक मानेको देखिन्छ। राष्ट्र बचाउन कैयन् राष्ट्रमा सेनाका कनिष्ठ अधिकृतले समेत ज्यान हत्केलामा राखेर साहस देखाएका छन् । राष्ट्रघाती, भ्रष्ट र पराधीनहरूको सातो लिएका छन्। बट्टाको नक्कली पाउडर होइन, आमाको दूध खाएर हुर्केका थिए उनीहरू । त्यसैले प्राणोत्सर्ग गर्न अघि सरे राष्ट्रका लागि। 

‘ग्लिम्सेज अफ वल्र्ड हिस्ट्री’ नामक ११५५ पृष्ठको ग्रन्थ लेखे, पं. जवाहरलाल नेहरूले। त्यसमा संसारका प्राचीन धर्म, पुराना राष्ट्र, सभ्यता, इतिहास, सौर्य, संस्कृति आदिको विशद् चर्चा छ । हजाराैँ वर्ष पुराना असल कुराबारे नेहरूले छोरी इन्दिरा प्रियदर्शिनी (इन्दिरा गान्धी) लाई सयकडौँ पत्रमार्फत जेलबाट शिक्षाप्रद सन्देश पठाउँथे। नैनीतालको जेलमा थिए उनी । छोरी १२÷१३ वर्षकी थिइन् । इलाहावादको नेहरू निवास (आनन्द भवन) घुम्दा त्यहाँका कर्मचारी लक्ष्मण गुरुङ (रुपन्देही निवासी) ले गत वर्ष घतलाग्दो कुरा भनेका थिए, “बाबुले गतिलो शिक्षा र चेतना दिएकै कारण इन्दिरा गान्धी शक्तिशाली राजनीतिज्ञ भएकी रहिछिन् । सम्पत्ति मात्र थुपार्नेहरू त भीडमा हराउँछन्।”

नेहरूको ग्रन्थमा ठाउँठाउँमा नेपालको चर्चा छ । नेपाल र चीन युद्धको चर्चा छ। चीनले दर्शन, कन्फ्युसियसको शिक्षा, साहित्य, इतिहास र प्राचीन गाथाबाट सिकेर संसारलाई थर्काएको प्रसंग उल्लेख छ । नेपालको प्रसंगमा उनले लेखेका छन्, “नेपाल पछौटे र दरिद्र छ । प्राकृतिक स्रोतसाधनले धनी छ। तर यो पराधीन राष्ट्र होइन । नेपाल युद्धमा निपुण वीरहरूको भूमि भएकाले ब्रिटिस शासकले गोर्खाली जातिलाई आफ्नो सेनामा भर्ना गर्न थालेका हुन्।” 

नेपोलियनले सन् १८०४ मा बनाएको ‘कोड नेपोलियन’ (नेपोलियन कोड) युरोपका लागि नै नमुना मानियो तर राजा जयस्थिति मल्लले चौथो शताब्दीमै कीर्तिनाथ उपाध्याय (कान्यकुब्जी ब्राह्मण), रामनाथ झा, रघुनाथ झा, श्रीनाथ भट्ट, महीनाथ भट्ट आदि विद्वान्को सहयोगमा पहिलोपल्ट ‘मानव न्यायशास्त्र’ तयार गराएका थिए । यज्ञवल्क्य स्मृति, वृहस्पति स्मृति, नारदस्मृति आदि ग्रन्थका आधारमा त्यो तयार पारिएको कुरा ‘नेपालको कानुनी इतिहासको रूपरेखा’ पुस्तकमा पूर्वसचिव रेवतीरमण खनालले उल्लेख गरेका छन् । धर्मग्रन्थका साथै प्राचीन मान्यता र सभ्यतामा आधारित थियो, त्यो न्यायशास्त्र । युरोपमा भन्दा चार सय वर्ष पहिले कानुन बनाउने हाम्रा पुर्खा मूर्ख थिएनन् । ‘शिक्षित मूर्खहरू’ त आज पाइलापाइलामा विदेशीका दास बन्दै गएका छन् । यस्तो जनशक्ति हाम्रै विश्वविद्यालयहरूबाट पैदा भइरहेको छ । अधिकारको कुरा गर्ने तर कर्तव्यबारे एक शब्द नबोल्ने, सभ्यता फ्याँकेर समृद्धि (?) मात्र खोज्ने र ठूलो धोती च्यातेर ससाना रुमाल बनाउनेहरूलाई हामी ‘राजनीतिज्ञ’ भनिरहेका छौँ । राष्ट्रलाई प्रायोजित पात्रहरूको प्रयोगशाला बनाइएको छ। 

टर्की आज संकटमा छ, सिरिया र यमनजस्तै । मुस्तफा केमाल (केमाल पासा वा केमाल अतातुर्क) जस्ता राजनेता थिए त्यहाँ । ब्रिटेनको चाकडी गर्दै राष्ट्रलाई कमजोर बनाउने शासकका विरुद्ध लडे उनी । उनका पनि केही कमजोरी थिए तर समग्रमा हेर्दा राष्ट्रप्रति समर्पित, त्यागी र इमानदार थिए उनी।

विश्वको सर्वाधिक शक्तिशाली अस्त्र भनेकै विचार हो । स्पष्ट विचार, लक्ष्य र दर्शन नभएको व्यक्ति, संस्था र दल मृत जस्तो देखिन्छ । कैयन् राष्ट्र सही नेतृत्व, दर्शन र मार्गचित्र नहुँदा मानचित्रबाटै हराएका छन् । कुन दल, कुन व्यक्ति, कुन प्रदेश वा कुन रंगको मान्छे भन्ने जस्ता तुच्छ कुरामा राष्ट्र आज अल्मलिएको छ । कुनै बेला इमान, सौर्य, एकता, इतिहास, धार्मिक निष्ठा, ज्ञान र तपका निम्ति नेपाल संसारमै प्रसिद्ध थियो । आज अवसरवाद र विदेशी षड्यन्त्रको उर्वर भूमि बन्दै गएको छ । भित्रभित्रै मक्किँदै गएको देखिन्छ । किनभने स्वाभिमान मर्दै गएको छ । राष्ट्रिय चरित्र अमूर्त बन्दै गएको छ । 
करोडौँ विद्वान्–विदूषीका बीचबाट उठेर नेपालकी छोरी हेमानन्द गिरी हालै भारतमा ‘शंकराचार्य’जस्तो उच्च सम्मान पाउन सफल भइन् । उनले केही साताअघि एउटा अन्तर्वार्तामा भनेकी थिइन्, “नेपालीहरूले इतिहास, परम्परा, धर्म र संस्कृति बिर्सिंदै गएका छन्, यो दुर्भाग्यपूर्ण कुरा हो ।” सञ्चारमाध्यममा विद्वान् विदूषीका त्यस्ता सारगर्भित र महत्वपूर्ण विचार विरलै सुन्न पाइन्छ नेपालमा । कतिपय पत्रकार सिकारु, अभिमानी, पूर्वाग्रही र अल्पज्ञ भएकाले दलका सीमित नेताबाहेक अरूलाई चिन्दैनन् । त्यसैले राष्ट्रलाई सद्विचार दिन सक्ने ज्ञानी, ध्यानी, त्यागी र इमानदार मानिस ओझेलमा परेका छन् । जुन राष्ट्रमा संसारकै अनुपम ज्ञानभण्डार छ, त्यो राष्ट्र वैचारिक दृष्टिले समेत दरिद्रजस्तो देखिएको छ । विदेशी द्रव्यले थिचेर अधिकांश टाठाबाठालाई दास बनाउन खोजिएको छ । सरकार बनाउन विदेशीको आदेश पर्खिनुपर्ने अवस्था पटकपटक दोहोरिँदा प्रश्न उठ्छ– कति स्वाधीन छौँ हामी ? 

अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वअधिकारी केन्ट ह्यारिङ्टनले मनोवैज्ञानिक असर तुल्याउने आम सञ्चारमाध्यमहरू विचार परिवर्तन गर्ने शस्त्रास्त्र बन्दै गएको विश्लेषण गरेका छन् । हालै एउटा लेखमा उनले लेखेका छन्, “६४ भाषामा प्रसारण हुने चाइना रेडियो इन्टरनेसनल (सीआरआई) बीबीसी पछिको दोस्रो ठूलो प्रसारण संस्था हो भने चाइना सेन्ट्रल टेलिभिजन ६ भाषामा १ सय ७१ देशबाट प्रसारण हुन्छ ।” पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन तथा चलचित्रमा चीनले गरेको अर्बौं डलरको लगानी राष्ट्रलाई सुदृढ बनाउँदै विश्वमा प्रभाव फैलाउने र मनोवैज्ञानिक युद्ध जित्ने उद्देश्यबाट प्रेरित देखिन्छ।

आजको युगमा प्रत्यक्षभन्दा परोक्ष युद्ध (प्रोक्सी वार) प्रभावशाली देखिएको छ । मिखायल गोर्वाचोभलाई उकासेर पश्चिमा शक्तिले सुधारवाद र उदारवादका नाममा ‘पेरेस्त्रोइका’  ‘ग्लास्तनोस्त’ लागू गर्दागर्दै सोभियत संघ पन्ध्र टुक्रामा विभक्त हुन पुग्यो । त्यस्तै देश कमजोर बनाउने प्रदेश हाम्रा निम्ति अत्यन्त प्रत्युत्पादक ठहरिने निश्चित देखिएको छ । त्यसको दुष्प्रभावले सार्वभौमसत्तामाथि अनिष्टको कालो बादल देखिन थालेको छ । राजा जनकभन्दा धेरै अघि राजा मिथिले स्थापना गरेको मिथिलालगायतका क्षेत्रमा प्राचीन मैथिली भाषा, धर्म, संस्कृति र परम्परा मास्न सिमानापारिबाट हिन्दी भाषा लाद्ने प्रयास सुरु भइसकेको छ । नेपाली, भोजपुरी, अवधि, मगही, मैथिली र बज्जिका लगायतका भाषा तराईबाट निर्मूल गर्न हिन्दीलाई अघि सार्ने योजना नयाँ होइन । २००७ सालदेखिकै प्रयत्न हो । २०४८ सालको जनगणनामा एक प्रतिशतभन्दा थोरै (०.४८ प्रतिशत) हिन्दीभाषी छन् भने आज पनि मातृभाषा त्यागेर हिन्दीलाई अँगालो हाल्नेहरू नगन्य छन् । जनकपुरका राष्ट्रवादी युवावर्गले प्रदेशसभामा हिन्दी भाषा बोल्ने केही प्रतिनिधिलाई कडा चेतावनी दिएर सराहनीय काम गरेका छन् । राष्ट्रलाई कमजोर बनाउने काम कसैले गर्छ भने जनता नै अघि सरेर सामना गर्नु खुसीको कुरा हो । 
सिरियामा सात वर्ष अघिदेखि चलेको गृहयुद्धले लाखौँ मानिस मरिसकेका छन् । बेहिसाव क्षति भइरहेको छ।

पश्चिमाहरूको स्वार्थले लेबनान, इराक र अफगानिस्तानझैँ मध्यपूर्वमा तनाव बढ्दै छ । धेरै राष्ट्र आज पनि गृहयुद्धको आगोमा जलिरहेका छन् । आफ्नो स्वार्थ पूरा गर्न राष्ट्रिय हितलाई पन्छाउने प्रवृत्ति नेपालमा पनि त्यसरी नै बढ्दै गएको छ । उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारीलगायत विभिन्न क्षेत्रका ‘महत्वपूर्ण’ व्यक्तिमध्ये अनैतिक तवरले विदेशीको लोभमा नफस्ने सीमित व्यक्तिलाई मात्र हामी विश्वास गर्न सक्छौँ । उनीहरू मात्र राष्ट्रका साथी र सारथि बन्न सक्छन्। मनोवैज्ञानिक युद्धबारे लेखिएका पुस्तकमा छलकपटका सबै कथा स्पष्ट हुँदैनन् । तर जिम्मेवार व्यक्तिका व्यवहारमा राष्ट्रवाद झल्किएन भने ती विदेशीका आज्ञाकारी दास हुन् भन्ने बुझ्नुपर्छ। 

 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी दर्ता गर्ने प्रक्रिया

नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ | ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?

गाडीको बनावटमा आधारित गाइड ...

किन गर्ने गाडीको बिमा?

किन गर्ने गाडीको बिमा?

भविष्यमा हुन सक्ने दुर्घटनाको बारे हामी अनविज्ञ छौं । तेस्रो पक्षको सवारी विमा गरेर यस्तो दुर्घटनाको क्षति कसरी न्यूनीकरण गर्न...

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जाडो मौसममा गाडीमा आउन सक्ने समस्याहरुको समाधान

जान्नुहोस् केहि रोचक जुक्ति र ह्याकहरु जसबाट तपाइले गाडीमा आइपर्ने जाडो सम्बन्धि समस्याहरुबाट छुटकारा पाउन सक्नुहुन्छ ...

१०७ भत्किए, तीन मात्रै बने

काठमाडौं महानगरपालिका क्षेत्रमा भूकम्पले भत्किएका १०७ सम्पदामध्ये तीन मात्रै पुनर्निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा...

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

‘पञ्चेबाजा’ लाई ‘साढे ७’

स्वेता खड्काको निर्माणमा बनेको फिल्म ‘कान्छी’ प्रदर्शन भइरहँदा शुक्रबारबाट हलमा दुई नेपाली फिल्म ‘पञ्चेबाजा’ र ‘साढे ७’ थपिएका छन् ।...

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविनको ‘फूलबारी’ लोकार्पण

सुविन रिमाल ‘प्रशान्त’द्वारा लिखित ‘फूलबारी’ बालकविता संग्रहको लोकार्पण गरिएको छ । नुवाकोट साहित्य प्रतिष्ठानले १२ वर्षे रिमाल अध्ययन गर्दै आएको...

लम्सालको ‘पेनाल’ महाकाव्य

साहित्यकार देवेन्द्र लम्सालद्वारा रचित ‘पेनाल’ महाकाव्य सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्याङजा साहित्य परिषद्ले राजधानीमा...