coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

माइनस डिग्रीमा रोकिएन दौड अभ्यास

जुम्ला – यो वर्ष जुम्लाको तापक्रम माईनस ८ सम्म पुगेको छ। चिसोले यहाँको जिवन अत्यन्तै कष्टकर बनेको छ। तर धावक हरिबहादुर रोकायाले दौड अभ्यास रोकेका छैन्। उनले यहाँका पाँखा, पखेरा, सडक र खेलमैदनमा निरन्तर खेलाडीलाई अभ्यास गराईराखेका छन। जति चिसो बढ्दै गयो, उनले उतिकै उच्च भागमा अभ्यास गराउंदै आएका छन्। ‘दौड अभ्यास चिसो भनेर रोक्दा खेलाडीको जोश, जागर मर्दै जान्छ, दक्ष र जोशिलो खेलाडी उत्पादन गर्न सकिंदैन,’ उनी भन्छन्– ‘घाम, पानी, चिसो तातो दुवैमा अनुकुलन हुने गरि खेलाडीको अभ्यास हुनुपर्छ।’

उनका अनुसार चिसोमा दौड्न खेलाडीहरु उत्साहित हुने गर्छन। ‘आकाशमा बादल लागेको र हिँउ पर्दै गरेको अवस्थामा दौड्न चाहन्छन,’ उनले भने, ‘जस्तोसुकै कष्टपुर्ण म्याराथुनमा पनि दौड्न सक्ने गरि खेलाडी जन्माउंदैछु।’ धावक रोकायाले दौडेरै जुम्लाबाट कृतिमान कायम गर्न सक्ने खेलाडीको महशुस भईरहेको भन्दै यसका लागि निरन्तर खेल अभ्यासमा लागिरहेको बताए। उनले भने, ‘जुम्ला राजनीतिक हिसावले निकै पछि परेको छ, यसको वदला दौडेर ईतिहास कायम गराउने मोडमा छु।’ उनले खेलाडीले गरेको सफलतामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए। धावक रोकाया जिल्ला खेलकुद विकास समितिमा निरन्तर खेल अभ्यास गराई राख्ने एक्ला प्रशिक्षक हुन्। उनले हिउँपानीको प्रवाह नगरि पाखा पखेरीमा खेलाडी दौडाउँछन्। उनको सपना छ, दौडका माध्यमवाट जुम्लाको समृद्धि ल्याउने। 

अत्याधिक चिसोमा दौडाउदा खेलाडीलाई निकै सहज हुने उनको भनाई छ। सदरमुकाम भन्दा चार पाँच घण्टाको पैदलदुरीमा पर्ने चिमारा, छिना लाग्ना, चेरे र डाँफे लेकमा उनको अभ्यास हुन्छ। खेलाडी अल्छी नहुन र आफुले वोकेका अधुरा सपना पुरा गरुन भन्ने हेतुले निरन्तर अभ्यासमा लागेको उनले बताए। जिल्लाका २८ जना प्रशिक्षार्थीलाई उनले दौड अभ्यास दिईरहेका छन्। उनले उत्पादन गरेका ३ जना धाविकाले पाथिभरा म्याराथुनमा जित हासिल गरे। ४ जना धरानमा हुने म्याराथुनमा जाँदैछन्। उनले भने, पोखरामा दुई जना पठाउन लागेको छु। आगामी वैशाखमा हुन लागेको रारा म्याराथुनका लागि खेलाडीलाई पोख्त बनाउँदैछु। 

उनले भने, अभ्यास दिएका खेलाडीले अहिले सम्म पराजय भोग्नु परेको अवस्था छैन, सेना, प्रहरी, भारतिय सेनामा समेत उनले उत्पादन गरेका खेलाडी छन। तर खेल क्षेत्रमा लागेका खेलाडी प्रति हेर्ने दृष्टिकोण नबलिँदा यहाँको खेलकुद क्षेत्र अघि वढ्न नसकेको गुनासो पोख्छन। उनले भने, क्षेत्र, केन्द्रमा हुने खेलमा जुम्लाका खेलाडीलाई निम्तो दिन डराउने गरेका छन्। खेलकुदमा समावेश हुने वित्तिकै जुम्लाले जित्छ भन्ने भ्रम सबैमा छ। 

प्रकाशित: २६ माघ २०७४ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App