coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पाँच दलले मात्रै पाए राष्ट्रिय मान्यता

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपरिणाम शुक्रबार सार्वजनिक गरेको छ । मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत परिणाम एक साताभित्रै सार्वजनिक भएको थियो। 

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ३ प्रतिशत ‘थ्रेसहोल्ड’ को व्यवस्था छ । ‘थ्रेसहोल्ड’ पार गर्ने दल पाँचवटा मात्रै भए । थ्रेसहोल्ड पार गर्ने दलमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल छन्। 

समानुपातिकतर्फको कुल १ सय १० सिटमध्ये एमालेले ४१,  कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६–६ सिट पाएका छन्। 

 आयोगद्वारा सार्वजनिक परिणामअनुसार समानुपातिकतर्फ कुल १ सय १० सिटमध्ये एमालेले ४१,  कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले ६–६ सिट प्राप्त गरेका छन् । समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भएसँगै निर्वाचन आयोगले सम्बन्धित राजनीतिक दललाई उनीहरुले प्राप्त गरेको सिटसंख्याबारे जानकारी पठाएको छ। आयोगले बन्दसूचीको प्राथमिकता क्रमका आधारमा ३३ प्रतिशत महिला पर्नेगरी तीन दिनभित्र उम्मेदवारको नाम पठाउन दलहरुलाई पत्र पठाएको छ । सो अनुसार राजनीतिक दलले सोमबार पाँच बजेभित्र नामवली आयोगमा पठाउनुपर्नेछ। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ राजनीतिक दलले बन्दसूची पेस गरेका थिए । समानुपातिकतर्फ खसेको मतमध्ये ९५ लाख ४४ हजार ७ सय २९ मत सदर भएको थियो । यीमध्ये थ्रेसहोल्ड पार गर्ने पाँच दलले प्राप्त गरेको ८५ लाख ४८ हजार ५९ मत बाँडफाँट गरी आयोगले सिट संख्या सार्वजनिक गरेको हो। 
सार्वजनिक परिणामअनुसार एमालेबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० र समानुपातिकतर्फ ४१ गरी एक सय २१ र राष्ट्रिय सभामा २७ सदस्य हुने भएका छन् । यस्तै कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी ६३ र राष्ट्रियसभामा १३ सदस्य रहनेभएका छन्। 

यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा, प्रत्यक्षतर्फ ३६, समानुपातिकतर्फ १७ गरी ५३ र राष्ट्रियसभामा १२ सदस्य हुने भएका छन् । समानुपातिकतर्फ एउटै चुनाव चिह्न लिएर माओवादी, समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपाल चुनाव लडेका थिए । त्यसैले समानुपातिकतर्फ माओवादीले पाएको सिटमा समाजवादी जनता पार्टी र जनजागरण पार्टीले पनि भाग दाबी गर्ने अवस्था छ।

यस्तै राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ११ र समानुपातिकमा ६ गरी १७ र राष्ट्रियसभामा २ सदस्य रहने भएका छन् । संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० र समानुपातिकतर्फ ६ गरी १६ र राष्ट्रिय सभामा २ सदस्य रहनेछन्। 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट दुई र माओवादी केन्द्रबाट ३ गरी पाँचजना मात्र महिला निर्वाचित भएका थिए। राष्ट्रियसभातर्फ एमालेबाट ११, कांग्रेसबाट ६, माओवादी केन्द्रबाट ३ र संघीय समाजवादी फोरमबाट एक महिला निर्वाचित भएका छन्। 

संघीय संसद्मा एमालेले कुल ५०, कांग्रेसले २६, माओवादीले २२, राष्ट्रिय जनता पार्टी नेपालले ७, संघीय समजवादी फोरम नेपालले ६ महिला पठाउनुपर्ने अवस्था छ । राष्ट्रियसभा र प्रतिनिधिसभा प्रत्यक्षतर्फ १३ सिटमा महिला निर्वाचित भएपछि अब एमालेले ३७ महिलालाई समानुपातिकमा सांसद बनाउनुपर्छ । यस्तै कांग्रेसबाट राष्ट्रियसभामा मात्र ६ महिला निर्वाचित भएकाले समानुपातिकतर्फ २० महिला पठाउनुपर्छ। 

माओवादी केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्ष र राष्ट्रियसभामा गरी ६ महिला निर्वाचित भएकाले अब  समानुपातिकमा १६ जना महिला पठाउनुपर्छ । राष्ट्रिय जनता पार्टीले ७ जना महिला पठाउनुपर्नेमा समानुपातिकतर्फ ६ सिटमात्र प्राप्त गरेकाले सबै सिटमा महिला नै पठाउनुपर्ने अवस्था छ । संघीय समाजवादी फोरम नेपालले राष्ट्रियसभामा एक महिलालाई विजयी बनाइसकेको छ भने समानुपातिकतर्फ  पाँच महिला पठाउनुपर्ने अवस्था छ। 

नेपालको संविधान धारा ८४ उपधारा ८ बमोजिम संघीय संसद्मा कुल सदस्य संख्याको कम्तीमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था छ ।

प्रकाशित: २७ माघ २०७४ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App