१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्रहरी मेरो साथी !

राजनीतिक पार्टीहरूले चुनावका बेला समाज बदल्ने वाचा गरेका थिए । वास्तवमा पार्टीहरूले चाहेजस्तै समाज बदली पनि रहेको छ । समाजको बदलिँदो एउटा रूप गएको हप्ता राजधानीको दरबारमार्गमा देखियो । जस्तो कि पत्रपत्रिकामा समाचार आएकै घटना हो, बलात्कार काण्ड । त्यो पनि सानोतिनो काण्ड होइन, ठूलै काण्ड ।

काण्ड बलात्कार भनिए पनि त्यो ठ्याक्कै बलात्कारै हो अथवा होइन, त्यो भने अझै ठम्याउन सकिएको छैन । प्रहरी पूरै अन्योलग्रस्त छ । अरुको त के कुरा, स्वयं बलात्कारको उजुरी हाल्ने युवती आफैँ पनि अन्योलमै छिन्, आफूमाथि जुन घटना घटेको हो, त्यो वास्तवमा बलात्कार हो कि अरु नै केही हो ।
वास्तवमा समाज बदलिरहेको यसबाट थाहा हुन्छ । कुनै बेला यस्तो पनि हुन्थ्यो कि बाटोमा हिँडिरहेकी कुनै युवतीको हात मात्रै समाए पनि त्यो ‘जबर्जस्ती’ कहलिन्थ्यो । अहिले बलात्कारै भइसक्दा पनि त्यो बलात्कार हो कि होइन डाउट छ ।

‘प्रहरी मेरो साथी’ नारा दिएकाले अचेल प्रहरीकोमा विभिन्न ‘साथी’ आउने गर्छन् । कोही बैंक लुट्छन् र भन्छन्, ‘डराउनुपर्दैन, प्रहरी मेरो साथी हो ।’ कोही मान्छे मार्छन् र भन्छन्, ‘अरे यार किन डराउनु ! प्रहरी मेरो साथी हो ।’ कोही बलात्कार गर्छन् र प्रहरीसमक्ष आएर भन्छन्, ‘यार, प्रहरी त मेरो साथी हो नि, केही गर न !’

स्थिति त कस्तो बनिदियो भन्दा अहिले बलात्कृत र बलात्कारीभन्दा पनि कारबाहीको लाठी त प्रहरीको टाउकोमा पो घुम्न पुगिरहेको छ । बिचरा प्रहरी कहाँबाट फस्न पुगेछ ! बलात्कार गर्नेहरू कहाँ पुगिसके, दशा प्रहरीलाई लागेको छ ।यो पूरै काण्डमा प्रहरीमाथि आरोप लागेको छ, यसमा प्रहरीले मिलाउने काममा सहयोग गरेको छ । त्यसैले प्रहरी दोषी छ । म त भन्छु, यो कस्तो अचम्मको दोष हो ? प्रहरीले मिलाउने काममा सहयोग ग¥यो, त्यसैले दोषी छ रे ।

केही समय अघिसम्म प्रहरीमाथि आरोप लाग्ने गथ्र्यो– प्रहरीले सहयोगी भूमिका खेलेन । प्रहरीले सधैँ दुःख दिने मात्रै भूमिका खेल्यो । यो आरोपले गर्दा प्रहरीको छवि नै खराब हुँदै थियो । त्यसैले आफ्नो छवि सुधार्न यो काण्डमा प्रहरीले सहयोगी भूमिका खेलेको हुनुपर्छ । यसमा प्रहरीले बलात्कारीलाई पनि सहयोग गरेको छ, बलात्कृतलाई पनि सहयोग गरेको छ ।

कसैलाई सहयोग गर्नु पनि अपराध भयो त अब ? यसमा एउटा प्रश्नचाहिँ उठ्न सक्छ, प्रहरीले त बलात्कृतका लागि पो सहयोगी भूमिका खेल्ने हो त । बलात्कारीका लागि किन सहयोगी भूमिका खेलेको ? हेर्नुस्, यसको पनि उत्तर छ । प्रहरी भइसकेपछि कसैलाई पनि पक्षपात गर्न मिल्दैन । उसै पनि कुनै घटना भयो भने प्रहरीले पक्षपात ग¥यो भन्ने आरोप लगाइहाल्ने गरिन्छ । त्यसैले यो केसमा कसैमाथि पक्षपात नहोस् भनेर प्रहरीले दुवैका लागि सहयोगी भूमिका खेलेको हुनुपर्छ ।

त्यसमाथि नेपाल प्रहरीले त केही वर्ष अघिदेखि नारा नै दिएको छ– प्रहरी मेरो साथी । अर्थात् प्रहरी भनेको सबैको साथी हो । सबैको साथी भएपछि बलात्कारीको पनि साथी हुने भइहाल्यो । अनि, साथी भएपछि एउटा साथीले अर्को साथीलाई सहयोग गर्नुपरेन ? परेका बेला सहयोग नगर्ने हो भने केको साथी ? होइन भने, नेपाल प्रहरीले ‘प्रहरी मेरो साथी’ भन्ने यो नारा नै दिनुभएन ।

नेपाल प्रहरी आफैँले ‘प्रहरी मेरो साथी’ नारा दिएकाले अचेल प्रहरीकोमा विभिन्न ‘साथी’ आउने गर्छन् । कोही बैंक लुट्छन् र भन्छन्, ‘डराउनुपर्दैन, प्रहरी मेरो साथी हो ।’ कोही मान्छे मार्छन् र भन्छन्, ‘अरे यार किन डराउनु ! प्रहरी मेरो साथी हो ।’ कोही बलात्कार गर्छन् र प्रहरीसमक्ष आएर भन्छन्, ‘यार, प्रहरी त मेरो साथी हो नि, केही गर न !’

साथीले भनेपछि केही त गर्नैपर्यो । होइन भने नेपाल प्रहरीको नारा बदनाम हुने डर ।आज एउटा साथीले अर्को साथीलाई साथीका नाताले सहयोग गर्दा प्रहरी नै फन्डामा परेको छ । जमाना उल्टो रहेछ । यस्तो उल्टोपाल्टो पर्ने केस प्रहरीमा आइपुग्यो चाहिँ कसरी ? प्रहरीमा आउँदासम्म त्यो बलात्कार नै थियो । कुरा गर्दागर्दै राजीखुसीमा परिवर्तन भइदियो । अचम्म ! प्रहरी कक्षमा एकातिर बलात्कारी युवक बसेको छ । अर्कोतिर बलात्कृत युवती बसेकी छन् । छेउमा दुवैतिरका आफन्त बसिरहेका छन् । सुरुमा बलात्कृत महिलाले भनिन्, ‘सर, यिनीहरू चारजना मिलेर मलाई बलात्कार गरेको हो । यिनीहरूलाई कारबाही होस् ।’
प्रहरीले सोधे, ‘साँच्चै बलात्कार नै गरेको हो ?’

युवतीले केही भन्न लाग्दै थिइन्, उनको मोबाइलमा एउटा मेसेस आएछ, खोलेर हेर्छिन्, ‘तिम्रो बैंक एकाउन्टमा १० लाख जम्मा भयो है !’ मेसेज पढिसकेपछि युवतीले भनिन्, ‘हो जस्तै लाग्छ सर । मलाई ठ्याक्कै थाहा भएन ।’प्रहरीले पूरक प्रश्न गरे, ‘थाहा पाउनुस् न त । राम्ररी सम्झनुस् । ठ्याक्कै के भएको हो?’‘भएको त वास्तवमा बलात्कारै भएको हो...,’ युवतीले केही सोच्दै भनिन्, ‘भएको वास्तवमा के थियो भने...’ युवतीको वाक्य पूरा हुन पाएको छैन, फोनमा अर्को मेसेस बज्यो, ‘अर्को १० लाख थपियो, एकाउन्ट चेक गर ।’

‘अनि... ?’ युवती मौन भएको देखेर प्रहरीले उत्तर टुंग्याउन संकेत गर्यो ।‘अनि... अनि मैले त वाइन खाएकी थिएँ... के भएको हो पत्तै पाइन...’ युवतीले आँखा मोबाइलतिर लगाइन् ।प्रहरीले जोड गर्यो, ‘ठीक छ ठीक छ भन्नुस्, मोबाइल हेरीहेरी बोल्नु भए पनि हुन्छ । तपाईंको कुरामोबाइलमै आइरहेको होला नि, होइन ?’टुङ्ग ! नभन्दै अर्को मेसेज आयो, ‘टोटल ३० लाख जम्मा भयो, अब त डन गर ।’

‘त्यस्तो होइन,’ युवती अलिकति हडबडाइन्, ‘त्यसपछि हामीले इन्ज्वाय गर्यौँ । खुब मजा आयो ।’
‘बलात्कार त होइन ?’ प्रहरीले दोहोर्याएर सोध्यो ।‘होइन सर होइन...’ युवती मुस्कुराइन्, ‘मलाई त बलात्कारजस्तो लागेको थियो । यहाँ आएर पो थाहा भयो, त्यो त राजीखुसी नै रहेछ ।’‘पक्का राजीखुसी हो ?’ प्रहरीले कन्फर्म गर्न खोज्यो ।‘पक्का हो । मैले कन्फर्म गरेँ ।’युवतीको बयानपछि कागज भयो । कुरा सकियो । जहाँनिर कुरा सकिएको हो, भोलिपल्ट ठीक त्यहीँबाट अर्को कुरा पो सुरु भयो, जो अहिलेसम्म सकिएको छैन ।

प्रकाशित: २७ माघ २०७४ ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App