१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अविवाहितको प्रेम

प्रेम विवाहित जोडीले मात्र गर्छ भन्ने आम बुझाइ छ । तर, साहित्यकार सरुभक्तको जीवनमा भने यो कुरा लागू हुँदैन। लामो समयदेखि साहित्यमा क्रियाशील उनको पाठकसँग ‘प्रेम’ सम्बन्ध छ । उमेरले ६ दशक पार गरेका उनी अविवाहित समेत हुन्। 

उनको बुझाइमा प्रेम जीवनको भावना र संवेदना हो । उनी भन्छन्, ‘प्रेम मानव जीवनमा महत्त्वपूर्ण छ।’ 
ढाेंगीले प्रेम गरेको सावित गर्न खोजे पनि यो आवश्यक नहुने उनको भनाइ छ। ‘प्रेमलाई प्रमाण र सावित गर्नु जरुरी हुँदैन, यो त स्वतन्त्र हुन्छ,’ उनी भन्छन्, ‘कसैलाई प्रेम गर्छु भनेर पनि हुँदैन, यो व्यक्तिको व्यवहार र क्षमतामा भर पर्छ ।’ प्रेममा पर्छु भनेर मानिसले यसको अनुभव गर्न नसक्ने उनी बताउँछन्। 

विवाह गरेको व्यक्ति मात्र प्रेम गर्छन् वा खुसी हुन्छन् भन्नेमा उनी सहमत छैनन्। ‘प्रेमको अनुभव नभई कसैको जीवन बितेको हुन्छ,’ उनले भने । उनको भनाइमा अनुभूतिमा डुब्न सक्ने क्षमता नै प्रेम हो। 

प्रेमको अन्तिम गन्तव्य भने नरहेको उनी बताउँछन् । हिजोआज प्रेमलाई देखावटी रूपमा लिएकोमा उनी दुःख व्यक्त गर्छन् । ‘प्रेमको नाममा विकृति भइरहेको छ,’ उनले भने। 

कलाकार दीपाश्री निरौला पनि सरुभक्तको भनाइमा सहमत छिन् । लामो समयदेखि कला क्षेत्रमा क्रियाशील उनी दर्शकलाई ‘पे्रम’ गर्छिन्।

प्रेमका लागि विवाह नै आवश्यक नरहेको उनी बताउँछिन् । विवाह गर्‍यो भन्दैमा प्रेम सम्बन्ध हुन्छ भन्न नसकिने उनको तर्क छ । विवाहित मात्रै मात्र खुसी र सुखी हुन्छन् भन्ने सोच गलत रहेको उनी बताउँछिन्। ‘अविवाहित पनि धेरै खुसी हुन्छन्, किनकि उनीहरू आफूलाई प्रेम गर्न धेरै समय पाउँछन्,’ उनले हास्दै भनिन् । विवाहितको आफ्नै किसिमको प्रेम भए पनि अविवाहित पनि प्रेममा मग्न हुने उनको भनाइ छ। 

प्रेम गर्न कुनै याम र समय आउनु जरुरी नरहेको उनी बताउँछिन् । ‘प्रेम भनेको ऊर्जा हो । त्यसैले प्रेम गर्न प्रेम दिवस नै हुनुपर्छ भन्ने मान्यता म राख्दिनँ,’ उनले भनिन् । एक र अर्काको प्रेमले ऊर्जाशिल हुन सकिने उनले बताइन् । प्रेमको उर्जाले एक–अर्कालाई सफलतातर्फ धकल्ने उनी बताउँछिन्। 

‘मेरो हकमा भने प्रेमका रूपमा करीयरलाई बनाएकी छु,’ उनले भनीन् । आफूलाई अगाडि बढाउन २५ वर्षदेखि संघर्षरत रहेको उनी बताउँछिन् । ‘मेरो जीवनमा प्रेम नै नफक्रिएको त होइन, तर आफूले चाहेको सबै कुरा कहाँ पुग्छ र ?’ उनले भनिन्। 

करियरलाई बढी महत्त्व दिएकाले विवाह गर्न पछाडि परेको उनको भनाइ छ । ‘विवाहपछि पनि काम गर्न मिल्छ भने पनि मेरोजस्तै सोच र मलाई बुझ्ने मान्छे भेटेको छैन,’ उनले भनिन्। 

प्रेमको निचोड विवाह भने नरहेको उनको भनाइ छ । विवाहमा पनि प्रेम हुनु जरुरी रहेको उनले बताइन् । ‘क्षणिक आकर्षणलाई प्रेमको नाम नदिनु, एकले अर्का बुझ्ने समय लिएर मात्र प्रेम गर्नु,’ उनले सुुनाइन्।   

माओवादी केन्द्रका नेता गिरिराजमणि पोख्रेलको भनाइमा मानव जीवनको उच्चस्तरको अनुभूति प्रेम हो । ‘प्रेम धेरै थरिको हुन्छ, मान्छे र मान्छेबीच, प्रेम र प्रकृतिसँग र आफ्नै शरीरसँग,’ उनले भने । प्रेम एकताको रूप रहेको उनी बताउँछन्। 

व्यक्ति, समाज, राष्ट्रलगायतलाई प्रेमले बाँधेको उनी बताउँछन् । प्रेम सुक्ष्म र व्यापक हुन जरुरी रहेको र यसमा आकर्षण र बिकर्षणको लागू हुने उनी बताउँछन्। 

विपरित लिंगीप्रतिको आकर्षणको व्यवस्थापन गर्ने पद्धति विवाह रहेको उनी बताउछन् । ‘हाम्रो सामन्ती समाजले प्रेमलाई खुला रूपमा प्रस्तुत गर्न नदिए पनि प्रेम र विवाहका लागि न्युनतम उमेर भने तोकेको छ,’ उनले भने। 

विवाह गरेर जीवनको सारा सुख वा खुसी प्राप्त हुन्छ भन्ने मान्यता गलत रहेको उनी बताउँछन् । प्रेममा रमाउन विवाह नै गर्न जरुरी नरहेको उनको अनुभव छ। ‘आफूले गरेको कामबाट प्रेम लिन सकिन्छ, जीवनको अदृष्य प्रेममा रमाउन जति सुख अरुमा भेटिँदैन,’ उनले भने। 

सत्कर्म र सामाजिक कार्यमा प्रेम खोज्न सक्नुपर्ने उनी बताउँछन् । ‘जीवनमा अरुलाई जति बाँड्यो उति बढ्ने नै प्रेम हो, प्रेमलाई बाँड्न कञ्जुस्याई गर्नुहुँदैन,’ उनले भने। 

प्रेमको कुनै विकल्प नहुने उनको भनाइ छ । आफूभित्रको सानो–सानो कुरामा प्रेम खोज्न सक्नु नै प्रेम पाउने माध्यम रहको उनी बताउँछन्। 

गायिका कोमल वली पनि अविवाहित हुन् । उनको विचारमा विवाह र प्रेम फरक हो । उनी भन्छिन्, ‘विवाह र प्रेम फरक कुरा हो, प्रेम गर्दैमा विवाह नै हुन्छ भन्ने छैन,’ उनले भनिन्। 

प्रेमलाई कुनै कुरासँग तुलना गर्न नसकिने उनले बताइन् । प्रेमको ठूलो महत्त्व रहेको उनी बताउँछिन् । ‘प्रेम त अमूल्य रत्न हो, जुन कुनै वस्तुसँग तुलना गर्नै सकिँदैन,’ उनले भनिन्। 

जहाँ वाचा, बन्धन, संझौता हुन्छ त्यहाँ प्रेम हुन नसक्ने उनी बताउँछिन्। ‘आकाशको जुन र तारा झार्ने कुरा गर्दैमा त्यो प्रेम होइन,’ उनले भनिन्। 

पे्रममा विनम्रता र हार्दिकता हुन जरुरी रहेको उनी बताउँछिन्। प्रेममा दुई आत्माको मिलनसँगै एक–अर्काको विचार र भावना मिल्नु जरुरी रहेको उनी बताउँछिन् । प्रेम गरेको मान्छेको सामिप्यतामा संसारको सबै सुख अनुभुति हुनु नै प्रेम रहेको उनले बताइन्। 

प्रेम हुन लामो समय सँगै बिताएको हुनु आवश्यक नहुने उनको बुझाइ छ। उनका अनुसार वर्षाै सँगै बिताएका श्रीमान–श्रीमतीबीच हार्दिक प्रेम नहुन सक्छ, तर केही क्षण सँगै बिताएको व्यक्तिसँग प्रेम पाउन सकिन्छ। 

प्रेम निकै शक्तिशाली तत्त्व रहेको उनले बताइन्। ‘कसैले वास्तवमा नै साचो प्रेम गरेको छ भने आफ्नो प्रेमीसँग बिताएको त्यो क्षणलाई स्मरण गरेर नै पूरा जीवन बिताउन सक्छ,’ उनले भनीन् । विवाह गरेका धेरै जोडीहरू सम्झौता र बाध्यतामा बाँधिएको देख्दा स्वतन्त्र प्रेम गर्न नै रमाइलो लाग्ने उनी बताउँछिन्। 

प्रेममा विवाह गर्नुपर्ने बाध्यता नभएको उनको अनुभव छ । ‘कसैले आफ्नो प्रेमलाई विवाहमा परिणत गर्नु राम्रो कुरा हो, तर विवाह बिना प्रेम नै नहुने र विवाह गर्दैमा पूरै प्रेममा हुने कुरा म मान्दिनँ,’ उनले भनिन्। 

‘स्कुल र कलेजमा पढ्दा केटाहरूले जिस्काउँथे, कसैले आँखा झिम्काउँथे त कसैले लभ लेटर खुबै पठाउथे,’ उनले घटना सम्झिइन्, ‘तर त्यो बेला मैले सोझै भन्थे म त नाम कमाउने हो, नाम चम्काउने हो ।’ 

प्रकाशित: २७ माघ २०७४ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App