५ वैशाख २०८१ बुधबार
राजनीति

यस्ता छन् भावी मुख्यमन्त्री

काठमाडौं – संघीय व्यवस्था कार्यान्वयनका लागि मुलुकका ७ वटै प्रदेशमा प्रदेश सरकार गठनका लागि तीव्र तयारी भएको छ । यसैक्रममा ६ वटा प्रदेशमा मुख्यमन्त्रीको लगभग टुंगो लागेको छ। 

सात प्रदेशमध्ये ६ वटामा वाम गठबन्धनका तर्फबाट र प्रदेश नम्बर २ मा मधेस केन्द्रित दलबाट मुख्यमन्त्री बन्ने देखिएको छ। वाम गठबन्धनबीच सहमति भएअनुसार नेकपा एमालेले ४ र माओवादी केन्द्रले दुई प्रदेशमा मुख्यमन्त्री पाएका छन्। २ नम्बर प्रदेशमा भने संघीय समाजवादी फोरमबाट मुख्यमन्त्री बन्ने भएका छन्। एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने, टुंगिन अझै बाँकी छ भने अन्य प्रदेशको टुंगो लागिसकेको छ। 

प्रदेश नम्बर १ मा एमालेका शेरधन राई मुख्यमन्त्री हुने पक्का भएको छ। शुक्रबार सम्पन्न आन्तरिक निर्वाचनबाट संसदीय दलको नेता चयन भएपछि उनको मुख्यमन्त्री हुने बाटो खुलेको हो।

उता प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष मोहम्मद लालबाबु राउत मुख्यमन्त्री हुने पक्का भएको छ । यो प्रदेशमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा फोरम र राजपाबीच गठबन्धन भएको थियो। त्यति बेलै जसको बढी सिट आउँछ, उसैको मुख्यमन्त्री हुने सहमति भएअनुसार फोरमले मुख्यमन्त्री पाएको हो। सो पदका लागि फोरमकै विजय यादव, शैलेन्द्र साह, योगेन्द्र यादवलगायत सातजनाले उम्मेदवारी दर्ता गराए पनि राउतले बाजी मारेका हुन। पर्सा १ (ख) बाट विजयी यादव अल्पसंख्यक समुदायबाट मुख्यमन्त्री बन्ने भएका छन् । उनी सोमबार संसदीय दलको नेता चयन भएका थिए। 

यसैगरी प्रदेश ३ मा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री हुने भएका छन्। उनी शुक्रबार संसदीय दलको नेता छानिएका हुन्। प्रदेश नम्बर ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल संसदीय दलको नेता चयन भइ सकेका छन्। त्यसैले उनी नै मुख्यमन्त्री बन्ने भएका छन्। वाम गठबन्धन बनाउँदा माओवादीका कृष्णबहादुर महरालाई प्रतिनिधिसभामा समर्थन गरेर पोखरेल प्रदेशसभामा चुनाव लडेका थिए। 

प्रदेश नम्बर ६ मा माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन। वाम गठबन्धनको भागबन्डाअनुसार यो प्रदेशको मुख्यमन्त्री माओवादीले पाएको छ। यस्तै प्रदेश नम्बर ७ मा पनि माओवादीले नै मुख्यमन्त्री पाएको छ। यो प्रदेशमा माओवादी संसदीय दलको नेतामा त्रिलोचन भट्ट छानिएका छन्। त्यसैले भट्ट नै मुख्यमन्त्री बन्ने पक्का भएको छ । माओवादीको डोटी जिल्ला इन्चार्ज भट्ट पोलिटब्युरो सदस्यसमेत हुन्।

बाँक रहेको प्रदेश नं. ४ मा मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । वाम गठबन्धनको भागबन्डाअनुसार यो प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ । एमालेबाट यो पदमा किरण गुरुङ र पृथ्वीसुब्बा गुरुङ दाबेदारका रुपमा देखिएका छन् । एमालेले यो प्रदेशको संसदीय दलको नेता आइतबार चयन गर्ने जनाएको छ।

प्रकाशित: २७ माघ २०७४ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App