८ वैशाख २०८१ शनिबार
अर्थ

११ वर्षमा पुरा भयो चमेलीया

दार्चुला- निर्माण कार्य सूरु भएको एघार वर्ष पछि दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका १ बलाँचमा रहेको ३० मेघावाट क्षमताको चमेलीया जलविद्युत्त आयोजना सम्पन्न भएको छ। सन् २००७ देखि आयोजनाको निर्माण कार्य थालिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले  शनिवार आयोजनाको उद्घाटन गरे। प्रदेश नम्बर ७ मा सरकारी लगानीबाट निर्माण भएको यस क्षेत्रको सबैभन्दा ठूलो ३० मेघावाटको चमेलिया जलविद्युत आयोजनाले  व्यवसायीक विद्युत उत्पादन सुरु  भएको छ।

शैल्यशिखर नगरपालिका १ बलाचमा निर्माण भएको उक्त आयोजनाले पौष २८ मा १५ मेगावाटको विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाईनमा जोडिसकेको र दोस्रो युनिटको १५ मेगावाट विद्युतको पनि एक साता अगाडि उत्पादन सुरु गरेको आयोजनाले जनाएको छ। आयोजना सम्पन्न गर्न पहिलो पटक गरेको सम्झौता भन्दा झण्डै ६ वर्ष पछि निर्माण सकिएको हो। ठेकेदार र सरकारी पक्षबाट भएको ढिलाइका कारण आयोजनाको लागत सुरुमा अनुमान गरिएभन्दा दोब्बर पुगेको छ। ८ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको आयोजना सम्पन्न हुँदासम्म करिब १५ अर्ब लागेको  आयोजना प्रमुख अजय दहालले बताए। चमेलियाले वार्षिक १८ करोड ४२ लाख युनिट बिजुली उत्पादन गर्ने जनाइएको छ। आयोजनाका अनुसार वार्षिक एक अर्ब १० करोड आम्दानी हुने र त्यसबाट उठेको रोयल्टीको १० प्रतिशत स्थानीयले पाउने छन्।

सन् २००७ मा आयोजना निर्माण सुरु गरि सन् २०११ मा सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनामा चार पाँच पटक समयावधि थपिएको थियो। सन् २०१७ डिसेम्बरमा विद्युत्त बाल्ने लक्ष्यका साथ काम गरेको आयोजनाले अन्तिममा सन् २०१८ को फरवरीमा निर्माण सम्पन्न गरेको आयोजना प्रमुख अजय कुमार दाहालले बताए।

बलाँचबाट १ सय ३१ किलोमिटर लामो कैलाली जिल्लाको अत्तरियामा रहेको सब स्टेसनमा १ सय ३२ केभी प्रशारण लाइनबाट उत्पादित विद्युत्त राष्ट्रिय प्रशारणमा जोडिने छ। बर्ष भरी दैनिक ६ घण्टा ३० मेघावाट विद्युत्त उत्पादन गर्ने नेपालकै पहिलो प्रविधि युक्त चमेलीयाको विद्युत्त उत्पादन पछि सात नम्बर प्रदेश बाहेक देशका अन्य प्रदेशहरुमा पनि लोडसेडिङ अन्त्य गर्ने  नेपाल विद्युत प्राधिकरणका  कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

दार्चुलावासीले विद्युत बाल्न नपाएको गुनासो

दार्चुला जिल्लाकै गौरवको आयोजनाको रुपमा रहेको चमेलीया जलविद्युत्त आयोजना निर्माण सम्पन्न भएपनि दार्चुलावासीले भने चमेलीयाको विद्युत्त उपभोग गर्न पाएका छैनन्। दार्चुला जिल्लामा वितरण गर्ने विद्युत्तका लागि जिल्लामा संरचना नबनेपछि जिल्लाबासीले विद्युत्त उपभोग गर्न समय लाग्ने भएको हो। उपप्रधान तथा उर्जामन्त्री  कमल थापाले  दार्चुलामा पनि छिट्टै चमेलियाको विजुली बल्ने बताएका छन्। चमेलियाको विद्युतमा पहिलो हक यहाँको हो आवशयक पुर्वाधार तयार गरी चाडै प्रशारण लाईन जडान गरिने थापाले बताए।

  महाकाली नगरपालिकाको वडा नम्बर ७ थालीगाडमा निर्माणाधिन विद्युत्त सब स्टेसन निर्माण सम्पन्न भएपछि मात्रै जिल्लाबासीले चमेलीयाको विद्युत्त उपभोग गर्न पाउने छन्।  नेपाल विद्युत्त प्राधिकरणको क्षेत्रीय कार्यालय अत्तरियासँगको ठेक्का सम्झौता अनुसार गोकुलेश्वर देखि महाकाली नगरपालिका ७ थालिगाड सम्मको २२ किलोमिटर ३३ केभिको विद्युत्त प्रशारण लाइन निर्माणको काम अहिले चलिरहेको छ।  नेपाल विद्युत् प्राधिकरण क्षेत्रिय कार्यालय अत्तरियाका क्षेत्रिय प्रमुख तारानाथ शर्माका अनुसार प्रशारण लाईन तान्ने काम करिब ६० प्रतिशत र सवस्टेशन निर्माणको काम झण्डै ४० प्रतिशत सम्पन्न भएको छ। सबस्टेसन निर्माण र बलाँचदेखि थालिगाड सम्मको विद्युत्त प्रशारण लाइन निर्माण २०७५ असारसम्म सम्पन्न गर्नु पर्ने निर्माण कम्पनीसँग सम्झौता रहेको नेपाल विद्युत्त प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ।

प्रकाशित: २७ माघ २०७४ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App