८ वैशाख २०८१ शनिबार
खेल

दुई बिभागिय टोली आर्मी र एपिएफबीच प्रतिस्पर्धा हुदै

बारा – दुई बिभागिय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको दोस्रो क्वार्टरफाईनलमा आइतबार (आज) आमने सामने हुदैछन् ।  खेल सिमरा रंगशालामा दिउसो २ः४५ मा सुरु हुनेछ।

त्रिभुवन आर्मी बाई पाएर सिधै क्वार्टरफाईनलमा प्रवेश गरेका हो भने एपिएफले नवजनजागृती यूवा क्लब सिमरालाई २–० गोल अन्तरले हराउँदै क्वाटरफाईनलमा स्थान सुरक्षित गरेको हो।

यसअघि शनिबार भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक नव जनजागृति युवा क्लब (एनजेजेवाईसी ‘सेतो’) लाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै मोरङ फुटबल क्लबले अन्तिम चारमा स्थान पक्का गरेको छ।

प्रतियोगितामा पहिलो सहभागिता जनाएको मोरङले सिमरा रंगशालामा निर्धारित ९० मिनेटको समय १–१ को बराबरी खेलेको थियो । बराबरीपछि समय अभावका कारण समय थप नगरी सीधै टाइब्र्रेकरबाट खेलको नतिजा आएको हो।

टाइब्रेकरमा मोरङका नीरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बु र दीपक राईले गोल गरे भने आयोजक नव जनजागृतिका विजय श्रेष्ठबाहेक अन्य खेलाडीले गोल गर्न सकेनन् । टाइब्रेकरमा आयोजकका मानबहादुर तामाङ र सौरभ मगरका प्रहारले पोस्टको दिशा लिन नसक्दा घरेलु समर्थक निराश बनेका थिए।

त्यसअघि ६६औं मिनटमा गोल गर्दै विजय श्रेष्ठले नव जनजागृतिलाई अग्रता दिएका थिए । ७५औं मिनटमा मोरङका भुवन बस्नेतले बराबरी गोल फर्काए । नव जनजागृतिका सुरजसिंह ठकुरी म्यान अफ दी म्याच घोषित भए । मोरङले अब सोमबार हुने थ्री स्टार र सुदूर पश्चिम–११ बीचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाईकल तथा विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ।

 

प्रकाशित: २८ माघ २०७४ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App